Comments Add Comment

न्यू डायमण्डः इखले जन्मिएको भलिबल क्लब

२० पुस, काठमाडौं । पुस महिनाको जाडो, त्यसमा पनि अन्नपूर्ण हिम शृंखलाको चिसो सिरेटोले मुटु नै छेड्ने गरी हान्थ्यो । यस्तो ठन्डीका बीच अन्नपुर्ण गाउँपालिका-११ स्थित छोमोरङमा भने भलिबलको रौनकमा डुबेको थियो । मैदानको एक छेउमा अनुहार मात्रै देखिने गरी बाग्लो कपडा लगाएका एक वृद्ध चाख मानेर खेल नियालिरहेका थिए ।

सेन्चुरी युथ क्लब ‘बी’ र युनाइटेड पोखराको सेमिफाइनल खेल हेरिरहेका न्यू डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले भने, ‘हैट.. खत्रै सट हानिरहेका छन् । गाह्रो हुने भो फाइनल ।’

राईको बोली भुईँमा खस्न नपाउँदै ती वृद्धले जवाफ दिए, ‘होइन बाबु, काठमाडौंबाट आएका साना-साना बच्चाहरुको खेल हेर्नु भएन । यस्तो राम्रो खेल्छन्, उनीहरुले नै जित्छन् ।’

ती वृद्ध यतिमै रोकिएनन् । भन्दै गए, ‘यो त हेर्दाको डाल, ढिँडोको काल । यिनीहरुको खेल मन परेन मलाई…।’

एकछिन त प्रशिक्षक राई छक्क परे । कसरी आत्मविश्वासका साथ भनिरहेका छन् जस्तो लाग्यो ।

राई भन्छन्, ‘उहाँले भनेको कुराले मेरो मनमा निकै प्रश्नहरु उब्जिए । उनी भलिबलका निकै जानकार हुनुपर्छ ।’

अन्ततः फाइनलमा त्यही भविष्यवाणि पूरा भयो । न्यू डायमण्डले सेन्चुरी युथ क्लब ‘बी’लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । राई खुसी खुसी नहुने कुरै भएन किनकी यो उनले देखेको सपना थियो ।

यसरी जन्मियो न्यू डायमण्ड

२०६१ सालमा राई एउटा स्कुलका भलिबल प्रशिक्षक थिए । उनकै अग्रसरतामा भब्यतापूर्वक उपत्यकाब्यापी भलिबल प्रतियोगिता सम्पन्न भयो तर, आफ्नै स्कुल फ्लप भयो । सोही असफलतालाई लिएर राई स्कुलबाट निकालिए ।

यसलाई राईको इखका रुपमा लिए र आफैं स्कुल खोलेर भलिबल टिम बनाउने निर्णय लिए । रुपेश खड्कासित मिलेर पुरानो नैकापमा रहेको युकेजीसम्म अनुमतिप्राप्त न्यु डायमण्ड खरिद गरे । त्यसलाई सात कक्षासम्म बनाउन लागिपरे । चैतको एक दिन टन्टलापुर घाममा राई बांगो लगाइएको पर्खाल भत्काउन व्यस्त थिए । जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि स्कुल निरिक्षण गर्न पुगे ।

जिल्ला शिक्षा कार्यालयबाट रामकुमार पहाडी निवेदनअनुसार निरिक्षण गर्न आएका थिए ।

उनले सोधे, ‘यो स्कुल बनाउने को हो ?’

अघि सरेर राईले भने, ‘हामी नै हौैं हजुर ।’

‘मैले ज्यामीलाई खोजेको होइन, यो स्कुल चलाउने पि्रन्सिपल खोजेको,’ कडा स्वरमा निरीक्षकले भने ।

राई नजिकै गए र कड्किदै जवाफ फर्काए, ‘नेपालको संविधानमा विद्यालय चलाउनेले श्रम गर्न हुँदैन भन्ने लेखेको छ ?’

स्वरको पारो अलि घटाएर निरीक्षकले भने, ‘अहिले यस्तो गति छ । कहिलेदेखि स्कुल चलाउने विचार छ ?’

जवाफ आयो, ‘वैशाख ५ गतेदेखि ।’

‘म निरीक्षक हुँ, जिल्ला शिक्षा कार्यालयबाट आएको । मेरो नाम रामकुमार पहाडी हो । टिपेर राख्नुहोस्,’ यति भनेर निरीक्षक  मोटरसाइकलमा हुईकिए ।

हुन पनि करिब एक महिनाको अवधिमा पूरै स्कुलको टहरा निर्माण गरिसक्नुपर्ने थियो । निरीक्षक रामकुमारको बचनले राईको मनमा ढ्याङ्ग्रो ठोक्यो । तर, कडा परिश्रम गरेर पूर्व निर्धारित दिन ५ वैशाखमै स्कुल सुरु गर्न सफल भए ।

स्कुल सुरु भएकै दिन निरीक्षक रामकुमार पहाडी पुनः आए तर, त्यहाँको माहोल बेग्लै भइसकेको थियो ।

स्कुल खारेजीको योजना बुनेर निरीक्षक फतक्कै गले । राई सम्झिन्छन्, ‘पहिलोपटक कक्षा सञ्चालन गर्दा ५२ विद्यार्थी आएका थिए । त्यसबेला उहाँले भन्नुभएको थियो, तपाईले गर्नुहुनेरहेछ । ल केही पर्‍यो भने मलाई भन्नुहोस् ।’

यसरी २०६२ सालमा स्थापना भएको न्यू डायमण्ड एकेडेमीले १३ वर्षमा धेरै विद्यार्थीलाई एसएलसीको गौंडो कटाइसकेको छ । सँगसँगै भविललमा एकसेएक प्रतिभा जन्माएको छ, जसले नेपालकै महिला भलिबल टिमलाई बलियो बनाएको छ ।

संघर्षको कथा

हो, नेपाली भलिबलको कुरा गर्दा न्यू डायमण्ड एकेडेमीलाई समेटिएन भने सायद अपुरो रहन्छ ।

अझ महिला भलिबलमा विशेष स्थान छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टिमले बर्चश्व जमाइरहेको बेला उदाएको न्यू डायमण्डले आफूलाई छाटो अवधिमा नै आफूलाई सफल र लोकप्रिय क्लब बनाएको छ ।

न्यू डायमण्डले पहिलो पटक २०६९ सालमा क्लब लिग च्याम्पियनसीप जितेको थियो । त्यसपछि कहिल्यै पछि फर्किनु परेन । राष्ट्रियस्तरका सबै खाले प्रतियोगिताको उपाधि हात पारिसकेको छ । क्लबले २०७० सालदेखि अहिलेसम्म खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि लगातार जितिरहेको छ ।

यहाँसम्म आइपुग्न क्लबले गरेको संघर्ष भने प्रेरणादायी छ । प्रशिक्षक राई भन्छन्, ‘सुरुमा एकदमै कष्टकर अवस्था थियो । खेलाडी ल्याउनेदेखि पुर्‍याउन जानुपर्ने । पढाई बिगार्‍यो भने त्यसको पनि जिम्मा लिनुपर्ने । एकदमै दबाव हुन्थ्यो ।’

स्कुल स्थापना भएकै दिनदेखि पुरुष (छात्र) लाई भलिबल सिकाउन थालिएको थियो तर, दीपज्योती स्कुलसँग भलिबल प्रतियोगितामा हारेपछि प्रशिक्षण बन्द भयो ।

प्रिन्सिपल तथा प्रशिक्षक राईले एथ्लेटिक्स सिकाउन सुरु गरे । तर, यो पनि फापेन । प्रतियोगितामा सहभागिता जनाउनुका साटो खेलाडीहरुले भाग्न थालेपछि न्यू डायमण्डले ५ जेठ ०६४ देखि महिला भलिबल प्रशिक्षण सुरु गर्‍यो । ‘भलिबलकै कारण एउटा स्कुलबाट निस्किनुपर्‍यो । आफैंले खोलेको स्कुलमा भलिबल नखेलाई भयो त ? भलिबल खेलाइनँ भने म स्कुलमा हुनुको के अर्थ ?’ राई भन्छन् ।

तर, महिला भलिबल प्रशिक्षण सुरु गर्दा विभिन्न अप्ठ्याराको सामना गर्नु पर्‍यो । छात्राहरुलाई भलिबलमा आकषिर्त गर्न जति गाह्रो थियो, उनीहरुका अभिभावकलाई मनाउन त्यो भन्दा मुस्किल थियो । प्रतियोगिता नजिकिँदै गर्दा प्रशिक्षक राईलाई चिन्ता हुन्थ्यो, अभिभावकले खेलाडीलाई पठाउँछन् कि पठाउँदैनन् ।’ राईका अनुसार थुप्रै पटक खेलाडीको घरघरमा पुगेर हात जोडेका छन् ।

उनले मेहनतअनुसार सफलता भने पाएका छन् । रमिला तण्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, ललिता नाथ जस्ता खेलाडी न्यू डायमण्डबाटै उदाएका हुन् ।

पहिले नाई, अहिले सिकाइदेऊ

न्यू डायमण्डले पाएको सफलतासँगै सम्भावित खेलाडी खोज्दै हिड्नु पर्ने बाध्यता हटेको छ । एकेडेमीले भलिबलमा पहिलोपटक उपाधि जित्दा पढाइको साटो खेलमा मात्र जोड दिएको भन्दै अभिभावकहरु स्कुलमै आएका थिए ।

अहिले आफ्ना छोरीहरुलाई खेल सिकाइदिनुपर्‍यो भन्दै एकेडेमीमा पुग्ने अभिभावकको कमी छैन । अभिभावकहरुमा आफ्नो छोराछोरी पनि खेलमा लागेर केही गरुन भन्ने सोच आएकोमा प्रशिक्षक राई खुसी छन् । भन्छन्, ‘पहिले खेलाडी खोज्न जानु पथ्र्यो । पढाउँछु, खेलाउँछु भनेर । अहिले सबै ठाउँबाट आइरहेका छन् । १२ जना नानीहरु भलिबल नै खेल्न मसँग बसेका छन् ।’

उदाहरणीय न्यू डायमण्ड

राम्रा खेलाडी निरन्तर उत्पादन गरिरहन के-के गर्नुपर्छ ? यो प्रश्नको उत्तर न्यू डायमण्ड एकेडेमीमा छ । तीनवटा ब्लकको टहरा, त्यहीँकै बिच भागमा सानो धुलाम्य आँगन । त्यही मैदानको माटोले सिंगारिएको छ न्यू डायमण्ड ।

त्यही मैदानमा लडिबुडी गर्दै हुर्किएका खेलाडी हुन्, रमिला तण्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, कृपा अधिकारी र ललिता नाथ । भलिबल खेल सामग्रीमा १५-२० वटा बल, भलिबल राख्ने भाँडो, दुईतिर गाडिएको पोल र नेट । न्यु डायमण्ड एकेडेमीका खेलाडीले पाउने सुविधा र खेल्ने सामग्री यिनै हुन् ।

स्कुल सकिएपछि ड्रेस परिवर्तन गर्‍यो, अनि धुलाम्य मैदानमा पानी छर्किएर अभ्यास सुरु गर्‍यो । त्यहाँ पुगेपछि जोकोहीलाई पनि लाग्न सक्छ, यत्तिको भरमा कसरी नेपाली भलिबलमा तहल्का मचाउन सक्छन् ? वास्तविकता भने यही हो ।

प्रतिभा माली राष्ट्रिय भलिबल टोलीकी नियमित सदस्य हुन् । उनको प्रदर्शनले सिंगो देशलाई नै लोभ्याएको छ । सात वर्षकी हुँदादेखि भलिबल खेल्न थालेकी प्रतिभा थोरै प्रशिक्षण र सिमित स्रोत र साधनको सदुपयोग गर्दै खेलेको बताउँछिन् ।

राम्रो सेवा र सुविधा हुने हो भने न्यू डायमण्डलाई कसैले रोक्न नसक्ने प्रतिभाको विश्वास छ । उनी भन्छिन्, ‘राष्ट्रिय टिममा परेदेखि नै मलाई अन्य टिमबाट अफर नआएको होइन । तर, कुमार सरको दुःख धेरै छ यो क्लबमा । सानैदेखि यहीँ खेल्दै आए । त्यसकारण जबसम्म म खेल्छु, यही एकेडेमीबाट खेल्छु ।’

अर्की खेलाडी ललिता नाथ पनि आफ्नो भलिबल करिअर न्यू डायमण्डमै बिसाउने बताउँछिन् । जुनियर खेलाडी निकै प्रतिभावान भएकाले आगामी दिनमा झनै राम्रो टिम बन्ने दाबी उनको छ । उनी भन्छिन्, ‘हाम्रो आगामी यात्रा भनेको पहिलो हुने नै हो ।’

गत वर्षदेखि एकेडेमी प्रतियोगिता आयोजना गर्ने संकल्पका साथ अघि बढेको थियो । दोस्रो न्यू डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २५ देखि २८ गतेसम्म हुँदैछ । आठ टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले तीन लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेताले दुई लाख एक हजार, तेस्रो हुनेले एक लाख एक हजार र चौथो हुनेले ५१ हजार नगद हात पार्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, विधागततर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५-५ हजार पाउने छ ।

हेर्नुहोस् भिडियो

न्यू डायमण्ड खोल्नुअघि पहिलेको स्कुलमा उपत्यकाब्यापी छात्र र छात्रा भलिबल प्रतियोगिता राईकै नेतृत्वमा भएको थियो । प्रतियोगितामा धेरै रकम खर्च भएको भन्दै विवाद भएपछि राईले त्यो स्कुल छाड्नु परेको थियो ।

यो प्रतियोगिता सुरु गर्नुमा भने उनले पूर्व स्कुलका विद्यार्थी सञ्जिव महर्जनको भूमिका छ । ०७४ सालमा आयोजना गरिएको यो प्रतियोगितामा सञ्जिवले एक लाख एक हजार सहयोग गरेका थिए । राई भन्छन्, ‘यो प्रतियोगिताको श्रेय उहाँलाई नै जान्छ । प्रतियोगिता गुर्नहोस्, पैसाको चिन्ता नगर्नुस्, नभन्नु भएको भए यो प्रतियोगिता गएको वर्षदेखि हुने थिएन ।’

विँडो थाम्ने कसले ?

न्यू डायमण्ड एकेडेमीले महिला भलिबल खेलाडी उत्पादन गर्न थालेको पनि करिब ११ वर्ष भएको छ । यो अवधिमा जे जति न्यू डायमण्डले सफलता हात पारेको छ, त्यसको मुख्य श्रेय प्रशिक्षक तथा प्रिन्सिपल राईलाई नै जान्छ ।

५० वर्ष उमेर टेक्न लागेका राई भन्छन्, ‘२०६४ सालदेखि अहिलेसम्म खेलाडी उत्पादनमै बिताएँ तर, कहिलेसम्म ? यो चाहिँ एकदमै चिन्ताको विषय छ ।’

तपाईंपछि न्यू डायमण्ड एकेडेमी कसले सम्हाल्छ ? उनी भन्छन्, ‘म अझै लामो समय क्लब हेर्छु । मपछि प्रतिभा र ललिताले न्यू डायमण्ड सम्हाल्ने छन् ।’

तर, क्लब हतान्तरण गर्नुअघि क्लबको आर्थिक अवस्था कसरी बलियो बनाउने भन्ने चिन्ता उनलाई छ । स्कुल र क्लबको सफलतामा भने उनी सन्तुष्ट छन् । उनी भन्छन्, ‘मलाई जुन संस्था तथा व्यक्तिले दबाउन खोजे, त्यसको परिणाम म यो स्थानमा पुगेको हुँ । आजभोलि म तिनै व्यक्तिलाई धन्यवाद दिइरहेको छु ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment