Comments Add Comment

लुम्बिनीको पहिलो पाँचतारे होटल ‘पवन प्यालेस’ माघबाट सञ्चालनमा आउने

२२ पुस, बुटवल । अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको पहिलो पाँचतारे होटल पवन प्यालेस आउँदो माघ महिनादेखि सञ्चालनमा आउँदैछ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं. ९ महजिदियामा साढे तीन बिगाहा क्षेत्रफलमा होटल पवन प्यालेस बनेको छ । २०७१ सालमा निर्माण शुरु भएको होटेलको साततले भवनसहित अन्य संरचनाहरु चार वर्षमा तयार भएका हुन् ।

होटेलमा भैरहवाका व्यवसायी पवन हलुवाई र राजीव बेरिवालको दुई अर्ब रुपैयाँ लगानी भएको छ । हलुवाईले पाँच दशकदेखि भैरहवामा पवन मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् भने बेरिवाल प्लाइउड र सिसा उद्योगी हुन् ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने र स्तरीय पर्यटकको आगमन पनि बढ्ने अनुमानले लुम्बिनीमा तारे होटलहरुमा लगानी गर्नेहरु बढेका छन् । तारे होटलहरु खुलेपछि लुम्बिनी आउने राष्ट्रप्रमुखहरु वा विशिष्ट पाहुनाहरु स्तरीय होटल अभावमा काठमाडौं नै फर्कनुपर्ने वाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस यी हुन् लुम्बिनीमा खुल्न लागेका दर्जन तारे होटल

एक सय ४७ वटा कोठा रहेका पवन प्यालेस होटलका ७० वटा कोठा र एउटा रेष्टुरेन्ट तयार भएपछि माघ अन्तिम सातादेखि होटल सञ्चालनमा आउने भएको हो । होटलमा तीन वटा रेष्टुरेन्ट, २ वटा बार, पाँच सय जना र एक सय जना क्षमताका गरी दुईवटा कन्फेरेन्स हल, स्वीमिङ पुल र हेल्थ क्लब बन्दैछन् ।

पहिलो चरणमा ७० वटा कोठाबाट सेवा शुरु हुने सञ्चालक हलुवाईले अनलाइनखबरलाई जानकारी दिए । ‘जनवरी १० देखि १२ गतेसम्म लुम्बिनीमा हुने बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टमा आउने विदेशी पर्यटन व्यवसायीका लागि ७० वटा कोठा बुक भइसके,’ हलुवाईले भने, ‘योसँगै होटल नियमित सञ्चालनमा आउँछ र बढीमा ६ महिनाभित्र पूर्ण क्षमतामा चल्छ ।’

चाइनिज रेष्टुरेन्ट र एउटा बार दुई महिनाभित्र सञ्चालनमा आउने उनले बताए । होटलमा डिलक्स, डिलक्स किंग, स्टाण्डर्ड ट्वीन, स्टाण्डर्ड किंग, सुइट र प्रसिडेन्सियल सुइट रुम गरी ६ थरि स्तरका कोठाहरु रहेका छन् । होटलको भवन नेपाली मौलिकता झल्किने गरी अरनिको डिजाइनर्स एण्ड प्लानर्स कम्पनीले बनाएको हो भने इन्टेरियर डिजाइन सिंगापुरको रहेको छ ।

होटल पवन प्यालेस

लुम्बिनी आउने विभिन्न देशका राष्ट्रप्रमुख सहित विशिष्ट पाहुना र स्तरीय पर्यटकलाई लक्षित गरी आधुनिक सुविधासम्पन्न कोठाहरु बनेका सन्चालक हलुवाईले बताए ।

भूकम्प प्रतिरोधी र अग्नि नियन्त्रक प्रविधिमा बनेको पवन प्यालेस होटेलमा अझै ५० करोड लगानी थप गरी कूल लगानी साढे दुई अर्ब पुर्‍याइने अर्का सञ्चालक राजीव बेरिवालले बताए । ‘आधुनिक सुविधा र सुरक्षा दुवै हिसाबले हाम्रो होटेल अब्बल हुनेछ,’ बेरिवालले भने, ‘अब लुम्बिनी आउने भीभीआईपी र भीआईपी पाहुनाहरु ढुक्क भएर यहीँ बस्न सक्छन् ।’

होटलमा पहिलो चरणमा दुई सय जनाले रोजगारी पाउनेछन् । लुम्बिनीमा स्तरीय होटल नहुँदा विभिन्न देशका राष्ट्रप्रमुखहरु र विशिष्ट पाहुनाहरु लुम्बिनीको कार्यक्रम सकेर सीधै काठमाडौं बस्न जानुपर्ने बाध्यता देखेर आफूहरुले पाँचतारे होटेलमा लगानी गरेको सञ्चालक हलुवाईले खुलाए । यस होटलबाट लुम्बिनीको पर्यटन व्यवसायमा नयाँ आयाम थपिने उनको विश्वास छ । तारे होटलहरुलाई सरकारले निर्यातजन्य उद्योग सरह सुविधा दिनुपर्ने र चर्को बैंक ब्याजदर नियन्त्रण गरिदिनुपर्ने हलुवाईको माग छ ।

छिट्टै भैरहवा मुलुककै नमूना शहर बन्दैछ । अहिले बनिरहेका होटलहरुमा पनि बुद्धिष्ट पर्यटकलाई लक्षित गरिएको छ । त्यसो त यो क्षेत्रमा अन्य पर्यटकको आगमन पनि बढ्ने निश्चित छ ।

राम्रो सम्भावना देखेर भैरहवामा अरु २ वटा पाँच तारे होटल खुल्ने क्रममा छन् । यसअघि रुपन्देहीको कोटिहवामा विदेशी लगानीमा पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आइसकेको छ । लुम्बिनीको खुनगाईमा पनि स्थानीय व्यवसायीले पाँचतारे होटेल निर्माण शुरु गरेका छन् ।

स्तरीय होटलहरु खोल्ने क्रमले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने पर्यटन अभियन्ता चेतन पन्त बताउँछन् । पन्तले भने, ‘पर्यटनबाट लाभ लिन कनेक्टिभिटी र कन्भिनियेन्ट (सुविधा) दुई महत्वपूर्ण पाटा हुन्, अब ती दुवै पूरा हुँदैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment