Comments Add Comment

विमानस्थलमा भारतीय सुरक्षा जाँच ‘फेयर’ छैन : परराष्ट्रमन्त्री

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षाकर्मीले गर्दै आएको अलग्गै सुरक्षा जाँच उचित नभएको स्वीकार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा मन्त्री ज्ञवालीले विमानस्थलमा हुँदै आएको भारतीय सुरक्षा जाँचबारे समस्या समाधान गरिने बताए ।

भारतका लागि त्रिभुवन विमानस्थलबाट विमान चढ्ने बेलामा ढोकैमा भारतीय सुरक्षा जाँच हुँदै आएको छ । मन्त्री ज्ञवालीलाई यस सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘त्यो लिगेसीबाट आएको हो, नयाँ सिर्जना होइन ।’

परराष्ट्रमन्त्री ज्ञवालीले अगाडि भने, ‘त्यो फेयर छैन, एउटा विन्दुमा गएर मिलाउँछौं । समाधान गर्छौं ।’

भारतले नेपाली सुरक्षा अधिकारीहरुको कामको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विमानस्थलमा आफ्नै सुरक्षा जाँच गर्ने गरेको हो । तर, सार्वभौम देशको विमानस्थलमा यसरी विदेशीमार्फत सुरक्षा जाँच गराइनु राष्ट्रिय स्वाभिमानका हिसाबले लज्जाको विषय बताइँदै आएको छ ।

भलै यो प्रक्रिया केपी ओली नेतृत्वको सरकारका पालामा नभएर अघिल्लै सरकारका पालामा सुरु गरिएको हो । तर, राष्ट्रवादी भनिएको ओली सरकारले यसबारे अहिलेसम्म ध्यान दिएको छैन ।

यसैबीच विराटनगरमा भारतले अनधिकृत रुपमा खोलेको खोलेको ‘क्याम्प अफिस’ भने ओली सरकारको सरकारको पहलमा हटिसकेको छ ।

विमानस्थलमा दुईवटा सुरक्षा ढोका ! यो किन ?

हालै विदेशबाट स्वदेश आएका विश्लेषक उत्तमबाबु श्रेष्ठले नेपालको विमानस्थलमा भइरहेको दोहोरो सुरक्षा जाँचबारे सामाजिक सञ्जालमा प्रश्न उठाए । श्रेष्ठले यस्तो दोहोरो सुरक्षा प्रणाली संसारमै नदेखेको भन्दै यस्तो स्टाटस लेखेका छन्–

हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तल्लो तलामा शुरूमा सामान र यात्री मेटल डिटेक्टर जडित ढोकाबाट छिरेपछि उपल्लो तलामा अध्यागमन पास भएपछि पनि फेरि त्यस्तै मेटल डिटेक्टर जडित ढोकाबाट सामान र यात्री पास हुनुपर्छ ।

यस्तो दोहोरो सुरक्षा प्रणाली संसारका अन्य एयरपोर्टहरूमा (मेरो सीमित अवलोकनमा) मैले कतै देखेको छैन । झलक्क हेर्दा दुईपटक सामान जाँच हुनु सुरक्षा गतिलो भएजस्तो लाग्छ । तर, होइन त्यसको विपरीत त्यो अगतिलो भएको सूचक हो । एउटै तहमा, एउटै विषयको दुईपटक परीक्षा दिएको जस्तो हो ।

त्यसो किन गरिन्छ ? अक्सर पहिलोपटकमा फेल भएर वा नतिजामा चित्त नबुझेर ।

यो प्रसंग विमानस्थलको ढोकाको मात्रै होइन, नेपालमा यत्रतत्र देख्न सकिन्छ । इतिहासमा बिरलै हुने संविधानसभाको चुनाव किन दुईपटक भयो ? (यस्तो देश संसारमा कति होलान् ?)

हाम्रो पुस्ताले भोगेको सबैभन्दा त्रासदीको घटना भूकम्प र त्यसप्रतिको हाम्रो नीतिगत र कार्यगत सबैभन्दा ठूलो संस्थागत प्रतिक्रिया अर्थात पुनर्निर्माण आयोगमा किन पटक–पटक नेतृत्व फेरिरहन्छ ? आयोगले क्षति विवरण किन पटक–पटक लियो ?

गोविन्द केसीसँग किन पटक–पटक सहमति हुन्छ ? निर्मला पन्तको बलात्कार केसमा किन पटक–पटक आयोग बन्छ ?

पछिल्लो समयमा वाइडबडी विमान खरिदको केसमा संसदीय छानविनपछि फेरि अर्काे आयोग किन बनाउनुपरेको ? यो सबै noise हरूलाई एकै ठाँउमा राख्दा एउटा  signal देखिन्छ ।

हामीलाई आफूले गरेको कामप्रति पटक्कै विश्वास छैन । एकै प्रयासमा नै उत्कृष्ट नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि छैन वा त्यो क्षमता छैन । त्यो नहुन आफंैमा गलत होइन । गलत त त्यसको प्रयत्न नहुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment