Comments Add Comment

इलाम नै किन रोजे डा. गोविन्द केसीले ?

२५ पुस, काठमाडौं । त्रिवि शिक्षण अस्पताल कार्यरत हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो १६ औं अनसनस्थलका रुपमा सुदुरपूर्वको इलामलाई रोजेका छन् । रामेछाप पुर्ख्यौली घर भएका डा. केसीले इलामम पुगेर अनसन बस्नुको खास कारण के हो ? स्पष्टै छ, उनी अकारण इलाम पुगेका होइनन् ।

बुधबार साँझ ५ बजेदेखि डा.केसीले शहरी विकास तथा भवन निर्माण विभागअन्तरगत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा अनसन थाले । अघिल्लो साता अनसनस्थलको रेकी गरेर उनी इलामबाट काठमाडौं फर्किएका थिए ।

डा. केसी रेकी गर्न इलाम पुगेकै साता प्रधानमन्त्री केपी शर्मा ओली पनि नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा भाग लिन इलाममै पुगेका थिए ।

डा. केसीले इलाममै अनसन बस्नुको खास कारण सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमै लगभग खुलासा गरिसकेका छन् ।

डा. केसीको इलाममा अनसन बस्नुको खास कारण नेकपा नेता केपी शर्मा शर्मा ओली, झलनाथ खनाल, सुवास नेम्वाङ र योगेश भट्टराईमाथि दबाव सिर्जना गर्ने र उनीहरुलाई जनतासामु खुइल्याउने हो । कम्युनिस्टहरुलाई जनतामाझ नांगेझार बनाउने हो ।

ताप्लेजुङ, इलाम पाँचथर र झापामा नेकपाको बलियो जनमत छ । डा. केसीले आफ्नो मागपत्रमा इलाममा सरकारी मेडिकल कलेज खोलिनुपर्ने उल्लेख गरेका छन् । तेह्रथुम, ताप्लेजुङ र पाँचथरका जनतालाई ध्यान दिँदै इलाममा सरकारी मेडिकल कलेज खोलिनुपर्ने अनसनरत डा. केसीको माग छ ।

आफ्नो यो मागलाई पूर्वी पहाडी जिल्लाका जनताले समर्थन गर्ने र यसबाट सीधै नेकपाका नेताहरुमाथि दबाव सिर्जना हुने डा. केसीले विश्लेषण गरेको देखिन्छ ।

डा. केसीको यस्तो अभिव्यक्तिले के स्पष्ट पार्छ भने उनी सरकारलाई समग्र दबाव दिनका लागि मात्रै इलाममा पुगेका होइनन् । उनी इलाममा बसेर नेकपाको नाभीमै दबाव दिन चाहन्छन् ।

अहिले झापामा नेकपा नेताहरुको आड भरोसामा निजीरुपमा सञ्चालित बीएण्डसी मेडिकल कलेजलाई नेकपा सरकारले सम्बन्धन दिलाउन लागेको भन्दै डा. केसीले बारम्बार आक्रोश पोखिरहेका छन् । सो मेडिकल कलेजमा प्रचण्डसमेतले कालो धन लगानी गरेको र मार्सी चामल खाएर सम्बन्धन दिन खोजिएको डा. केसीले बताउँदै आएका छन् ।

झापामा रहेको सो मेडिकल कलेजको विरुद्धमा पहाडी जिल्लाको जनमत आफूतिर तान्न र नेकपाका नेताप्रति पहाडी जिल्लाको जनमत घटाउन डा. केसीले इलामलाई रोजेको प्रष्ट देखिन्छ ।

झापाको साटो पहाडमा मेडिकल कलेज खोल्नुपर्ने डा. केसीको मागले झापाली जनताको समर्थन चाहिँ कम पाउने अपेक्षा गर्न सकिन्छ । तर, इलाममा मेडिकल कलेज खोलिनुपर्ने केसीको मागले पहाडका जनतालाई भने खुशी बनाउने उनको अनुमान देखिन्छ ।

यसअघि डा. केसीले जुम्लामा अनसन बसेर जसरी कर्णालीका जनताको सहानुभूति बटुले, त्यसैगरी उनले इलाममा धर्ना कसेर मेचीका जनताको सहानूभूति बटुल्ने अपेक्षा गरेको प्रष्ट छ ।

मेचीको पहाडमा सरकारी मेडिकल कलेज खोल्ने मागको विरोध गरेको खण्डमा ताप्लेजुङ, पाँचथर र इलामका नेकपा नेताहरुको राजनीति ओरालो लाग्ने विश्लेषण डा. केसीले गरेको देखिन्छ । किनभने, पहाडमै मेडिकल कलेज स्थापना होस् भन्ने त्यहाँका जनताले सोच्नु स्वाभाविकै हो भन्ने डा. केसीको ठम्याइ छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले पूर्वीपहाडका जनताको सहानुभूति आफूतिर तान्न प्रयास गरे । उनले पत्रकार सम्मेलनमा भने, ‘ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ । तर, त्यहाँका नेताहरुलाई केही मतलब छैन । हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय बेडको हुनुपर्छ ।… म त्यहाँ (इलाममा) गएको कारण के हो भने यसका लागि दबाव पुगोस् ।’

डा. केसीले यतिमात्रै भनेनन्, उनले त्यस क्षेत्रका जनप्रतिनिधिविरुद्ध स्थानीय जनतालाई आफूतिर तान्ने प्रयास गर्दै यसो पनि भने– ‘ताप्लेजुङका सांसद खुब ठुल्ठुलो कुरो गर्ने, यस्तोखालको लिडरसिप हुन्छ ?… म इलाममा मेडिकल कलेज, अस्पताल खोल्नुपर्छ भनेर दबाव दिन गएको हो । त्यो मेची अञ्चल त ओलीजीको क्षेत्र हो । झलनाथ खनालजीको हो । सुवास नेम्वाङजीको हो । यी छन् नि आफूलाई युवा नेता हो भन्छन् । जनताले दिएको तलब भत्ता खान्छन् । तर, यिनीहरु माफियाको काम गरिराखेका छन् ।’

डा. केसीले केपी ओलीको निर्वाचन क्षेत्रका जनतालाई पनि आफूतिर तान्ने प्रयास पत्रकार सम्मेलनमा गरे । उनले झापालीहरुको ध्यान आफूतिर तान्ने प्रयास गर्दै भने, ‘ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्छन् यस्तो गर्न ।’

डा. केसीको यस्तो अभिव्यक्तिले के स्पष्ट पार्छ भने उनी सरकारलाई समग्र दबाव दिनका लागि मात्रै इलाममा पुगेका होइनन् । उनी इलाममा बसेर नेकपाको नाभीमै दबाव दिन चाहन्छन् । र, कर्णालीमा जस्तै पूर्वी नेपालका जनताको सहानुभूति आफूतिर तान्न चाहन्छन् । र, आगामी चुनावका लागि नेकपाको जनमत घटाइदिन चाहन्छन् ।

किनभने, डा. केसीको निशानामा नेकपा र त्यसका नेताहरु नै बढी देखिएका छन् । युवा नेताका रुपमा स्थापित योगेश भट्टराईमाथि पनि डा. केसीको विशेष निशाना सोझिएको देखिन्छ । त्यसो त आम चुनाव अघि पनि डा. केसीले यस्तै प्रयास गरेका थिए । उनी विशेषतः साम्यवादीहरुसँग बढ्ता पूर्वाग्रही देखिने गरेका छन् ।

डा. केसीले प्रदेश १ मै दुईवटा सरकारी मेडिकल खोल्न खोल्न माग गरेका छन् । केसीको माग इलाम र उदयपुरमा दुईवटा सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग छ । स्मरण रहोस् प्रदेश १ कै धरानमा अर्को वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छ । झापा मोरङ र सुनसरीमा बढी जनघनत्व छ, भने पहाडको जनघनत्व कम छ ।

डा. केसीले प्रदेश २ मा कुनै मेडिकल कलेजको प्रस्ताव आफ्नो मागमा समेटेका छैनन् । सप्तरी र सिरहाका जनतालाई पनि उदयपुर जान प्रस्ताव गरेका छन् । डा. केसी जसरी साम्यवादीहरुप्रति उदार छैनन्, त्यसैगरी मधेसप्रति पनि अनुदार दृष्टिकोण राख्ने व्यक्ति हुन् कि भन्ने प्रश्न यसले उब्जाएको छ ।

गोजीमा चिकित्सा, कुम्लोमा राजनीति !

डा. केसीले अनसनको पूर्वसन्ध्यामा कांग्रेस नेता गगन थापाको खुलेरै प्रशंसा गरेका छन् । साथै उनले आफ्ना मागहरुमा स्वास्थ्यभन्दा बाहेकका राजनीतिक मागहरु पनि समावेश गरेका छन्, जुन एजेण्डा नेपाली कांग्रेसले उठाउँदै आएको छ ।

डा. केसीले विवेकशील साझा पार्टीका पनि केही एजेण्डाहरु बोकेका छन् । अब उनी केवल चिकित्सा शिक्षाको सुधारमा मात्रै सीमित बनेका छैनन् ।

सोमबारको पत्रकार सम्मेलनमा डा. केसीले यसबारे खुलेरै भनिसकेका छन्– ‘म अब यो प्वाइन्टमा मात्र सीमित रहनेवाला छैन । मानताविरोधी क्रियाकलाप गर्ने नेतादेखि लिएर सबैलाई अबचाँहि छोडिँदैन हेर्नोस् । सबैलाई जवाफदेही बनाएर छोडिन्छ ।’

डा. केसीले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक गरेका आफ्ना मागहरुको ५ नम्बर बुँदामा भनिएको छ, ‘द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस् ।’

सबैले प्रष्ट बुझिने कुरा हो कि हाडजोर्नी विज्ञ डा. केसीको यो माग चिकित्सा शिक्षासँग सम्बन्धित छैन । यो माग सिधै राजनीतिसँग जोडिएको छ । द्वन्द्वको खेती गरिरहेका एनजीओ/आइएनजीओको मुद्दासँग यो माग जोडिएको छ । यो माग डा. केसीको आफ्नो होइन, अरुले नै बोकाइदिएको कुम्लो हो ।

बुधबार जतिबेला डा. केसीले इलामबाट ‘द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरु’ लाई कारवाहीको माग राख्दै थिए, ठीक त्यति नै बेला पुल्चोकस्थित संयुक्त राष्ट्र संघ भवनमा पुगेकी गंगामाया अधिकारीले वीर अस्पतालमा अनसन बसेर मृत्युवरण गर्ने असंगत घोषणा गर्दै थिइन् ।

बुझ्न कठिन छैन, गंगामायालाई जसले अनसनका लागि उकासिरहेका छन्, डा. केसीलाई पनि उनीहरुले स्वाथ्य क्षेत्रको बाहेक अन्य राजनीतिक मागको समेत भारी बोकाउने प्रयास थालेका छन् ।

डा. केसीले आफ्नो अनसनको अर्को मागमा निर्मला पन्तका हत्यारालाई तत्काल कारवाही गर्न भनेका छन् । उनको माग छ– ‘निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।’

डा. केसीको यो माग नाजायज छैन । तर, चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गरिरहेका डाक्टर केसीलाई यस्ता थप मागहरुको कुम्लोले राजनीतिको घेरातर्फ तान्ने र विवादित बनाउने सम्भावनालाई बढाउने खतरा छ ।

विवेकभन्दा आवेग बढी

डा. केसीले आफ्नो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य र औषधिको प्रभाव जस्ता कुराहरु उल्लेख गरेका छन् । आफ्नो अभिव्यक्तिमा उनी नम्र नभएर गाली गलौचमा उत्रिन थालेका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीमा ‘गहन शारीरिक समस्या’ देखिएको गोविन्द केसीको आरोप

डा. केसी हड्डीका विशेषज्ञ हुन्, ‘इन्टरनल मेडिसिन’ का विज्ञ होइनन् । डाक्टरजस्तो प्रवुद्ध व्यक्तिले अनुसन्धानै नगरी आवेगमा गम्भीर आरोपहरु लगाउँदा आम नागरिकमा आफ्नो छवि धुमिल हुन्छ भन्ने कुरा विचार पुर्‍याउनुपर्ने देखिन्छ । तर, डा. केसी र उनका सल्लाहकारहरुले यसमा विचार पुर्‍याएको देखिँदैन ।

हुनत डा. केसीले उठाएका शिक्षा स्वास्थ्यसम्बन्धी मागहरु आम जनताको पक्षमा रहेका छन् । दुर्गम भेगमा बस्ने गरीब जनताले सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने उनको माग छ । तर, डा. केसी बेलाबखत आफ्नो मौलिक मागबाट भड्किएर राजनीतिकरुपमा उपयोग हुन थालेको उनका पछिल्ला मागहरुले आशंका जन्माएका छन् । उनी एउटा दललाई खराब र अर्को दललाई सुन्दर देखाउने प्रयासमा निर्वाचन अघिदेखि नै उद्दत्त हुन थालेको कतिपयको आरोप छ ।

के–के हुन् डा. केसीका माग ?

इलाममा आमरण अनसन (सत्याग्रह) थालेका डा. केसीले ६ वटा मागहरु अघि सारेका छन् । केसीका माग यी हुन्–

१) १५ औं सत्याग्रहका क्रममा ०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थानमै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषदको निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वीपहाडका ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा । सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा । सुदुरपश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तरराष्ट्रिय कानुनअनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment