Comments Add Comment

यमनको फुटबलबाट नेपालले केही सिक्ला ?

२७ पुस, काठमाडौं । अभाव र बाधाबाट माथि उठेर पनि फुटबलको विकास कसरी हुन सक्छ भन्ने एउटा उदाहरण हो यमन ।

यमनको फुटबल कथामा कोही खेलाडी अपहरणमा परेका छन्, कोही पहाडको टाकुरामा भिँडिरहेका छन् । कोही मारिएका छन् । अझ आर्थिक अभावका कारण कोही खेलाडी दिनमा १० घण्टा सार्वजनिक बस चलाउँछन् । यमनमा लिग फुटबललाई निलम्बित गरिएको छ । अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले सुरक्षाको कारण देखाउँदै यमनलाई कुनै पनि फुटबल गतिविधि गर्न रोक लगाएको छ ।

यस्तोमा पनि २०१९ को एसियन कपमा छनोट भएर यमनले इतिहास रच्यो । पहिलोपटक एसियन कपमा छनोट हुन सक्नु यमनका लागि सानो उपलब्धी होइन । एसियन कपमा पुगेर अरब प्रायद्वीपको युद्ध र अकालमा परेको गरिब देशले फुटबलबाट आफ्नो सम्पन्नता देखायो ।

यसैले त गएको सोमबार एसियन कपको पहिलो खेलमा यमन इरानसँग ५–० ले पराजित हुँदा पनि विश्व फुटबलको ध्यान र सम्मान यमनतिर नै छ । फिफा वरियतामा २९ औँ स्थानमा रहेको इरानले १ सय ३५ औँ स्थानमा रहेको यमनलाई हराएर पनि कमजोर सावित गर्न सकेन ।

एकैछिन नेपालले यमनसँग खेलेका पछिल्ला दुई खेललाई सम्झौँ ।

काठमाडौंको हल्चोक मैदानमा ०७४ साल जेठ ३० गते एएफसी एसियन कप छनोट खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेल ०७४ सालकै चैतमा कतारको सुहेम बिन हमाद रंगशालामा नेपाल २–१ ले पराजित भएको थियो ।

पहिलो खेल बराबरी नै गर्न सकेको नेपालले दोस्रोमा पनि सम्मानजनक नै खेल देखाएको थियो । २४ औँ मिनेटमा यमनका अल मातारीले गरेको गोल पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले बराबरी गरेका थिए ।

तर, कप्तान विराज महर्जनको असावधानीले गर्दा यमनले ८३ औँ मिनेटमा पेनाल्टी पाएर खेल जितेको थियो ।

दुवै पटकको खेलमा नेपाल कमजोर देखिएको थिएन । तर पनि एसियन कप छनोटमा नेपालको सोचेजस्तो अवस्था कहिल्यै देखिँदैन । सम्भावना भएर पनि पछि परिरहेको नेपालले जस्तो स्थितिमा पनि एक ढिक्का भएर लागिरहने यमनसँग केही त सिक्नै पर्छ ।

कहालीलाग्दो अवस्थामा फुटबल

यमनको मैदानमा फुटबल रोकिएको छ । लिगमाथिको प्रतिबन्ध मात्रै होइन, आधारभूत संरचना सबै ध्वस्त छन् । क्लबहरु तितरबितर छन् । स्टेडियम कंकरमा परिणत भएको छ ।

यो सबैको कारण हो, यमनमा भइरहेको युद्ध । अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको भनिएको हादी सरकार र हौथी विद्रोहीबीच २०१५ देखि भइरहेको संघर्षले बयान गर्नै नसकिने जटिल स्थिति देखिएको छ । युद्धका कारण देश दुई भागमा विभाजित बनेको छ । झण्डै ६ हजार ८ सय जना मारिएको र १० हजार ७ सय जना घाइते रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाउँछ । पश्चिमा राष्ट्र आफ्नै खाले स्वार्थमा खेल्न थालेका छन् । उनीहरु राष्ट्रपति हादीको पक्षमा देखिन्छन् भने इरानले हौथी पक्षलाई समर्थन देखाइरहेको छ ।

अनिकाल र माहामारीले स्थिति झनै तनावग्रस्त बनाउँदै लगेको छ । सेभ द चिल्डे«नको एक तथ्यांकअनुसार पाँच वर्षभन्दा कम उमेरका झण्डै ८५ हजार बालबालिका कुपोषणका कारण मरेका छन् । जहाँ एक करोडभन्दा बढी मानिसमा भोकमरीको खतरा देखिएको छ ।

विछोडिएको परिवार र टुक्रिएका घरबीच पनि यमनका नागरिक बाँच्ने आशामा लागिरहेका छन् ।

यमनका खेल पत्रकार बशिर सेननका अनुसार आम नागरिक भू राजनीतिक संघर्षको बीचमा कतै हराइरहेका छन् । आफ्नो देश नै त्यसैको वारपारमा लागिरहँदा पनि उनीहरुलाई त्यसमा ठूलो झुकाव छैन । उनीहरुको ध्यान त युएईको मोहम्मद बिन जायद रंगशालामा यमनको फुटबलतिर छ ।

खेलाडीहरु पनि अरु कुरा छाडेर फुटबलमा मात्रै ध्यान लगाउने प्रयासमा हुन्छन् । तर त्यो त्यति सहज छैन । केही नगन्य खेलाडीले इराकमा गएर व्यवसायिक फुटबल खेल्न सके पनि धेरै खेलाडी पछिल्लो चार वर्षमा देशबाहिर भइरहेका अन्तर्राष्ट्रिय खेलमा मात्रै सीमित छन् ।

केही क्लबले घरेलु फुटबल प्रतियोगिता गराउने प्रयास गरे पनि त्यो सहज हुँदैन । युद्ध २४ सै घण्टा चलिरहेको छ । केही महिना अघि यमनमै भएको एउटा खेलको छोटो भिडियो बाहिरिएपछि फुटबल समर्थकहरु अवाक भए । भिडियोमा फुटबल भइरहेको मैदानमाथिबाट रकेट आक्रमण भइरहेका देखिन्छ ।

युद्धमा फसेका खेलाडी

तीन महिनाअघि यमन टिमको प्रशिक्षक बनेका चेकोस्लोभाकियाका जान कोकियनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम तयार पार्न नै चुनौती छ ।

युद्धका बीच चलिरहेका केही क्लबमा आबद्ध हुन सकेका खेलाडीले केही पैसा पाइरहेका छन् । जो आर्थिक अभावमा छन्, उनीहरु कोही ट्याक्सि चलाउँछन् त कोही सुपरमार्केटमा काम गर्छन् । कोही लडाइँमा नै सामेल छन् । जसका कारण केही खेलाडी युद्धमै मारिएका पनि छन् ।

‘पैसा कमाउनका लागि अरु केही गर्ने कि भन्ने सोच्नै पर्ने बाध्यता छ’ यमनको ठूलामध्येको एक क्लब अल तितालका खेलाडी अमाद अर्म तलालले केही महिनाअघि जीर्ण भएको मैदान छेउबाट बोलेका थिए, ‘सायद आर्मीमा जान्छु होला ।’

राष्ट्रिय टिममा नै रहेका अर्का एक सदस्यले बीबीसीसँग आफ्नो पूर्ण जागिर नै भए पनि आर्थिक रुपले जीवन धान्नै मुस्किल भएको बताएका छन् । यस्तोमा एसियन कपका लागि तयारी गर्न साउदी अरेबिया जाँदा पनि उनले आफ्नै रकम खर्च गर्नुपरेको दुःखेसो गरे ।

यमन फुटबल एशोसियसनको विरुद्धमा दुःखेसो र उजुरीहरु धेरै नै छन् । खेलाडीहरु त्यसरी गर्ने दुःखेसोको परिणाम जानेर पनि नबुझे जस्तो गर्न सक्ने स्थितिमा छै्रनन् । हुन त एशोसियसनलाई पनि युद्धरत पक्षबिच नै एसियन कपको लागि तयारी गर्नुपर्ने बाध्यता थियो नै ।

बस्ने र ख्वाउने व्यवस्था नै गर्न कठीन हुनाले तयारी पनि सोचेअनुसार भएन । आफ्नै देशभित्र एक भागबाट अर्को भागमा जान पनि सहज छैन । जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । जसमा अपहरणमा पर्ने या मारिने डर रहन्छ ।

एसियन कप छनोटमा सहभागी भएर घर फर्किएका एक खेलाडी त अपहरणमा नै परे । ‘४८ घण्टाको सडक यात्रापछि मेरो घर पुगिन्थ्यो । जसको बीचमा युद्धका कारण डरव्याप्त क्षेत्र पनि पर्छन्’ नाम उल्लेख नगर्ने सर्तमा उनले अल अरेबियासँग भनेका छन् ।

राजनीतिका कारण उनीहरु कहिल्यै खुलेर फुटबल खेल्नसमेत पाएका छैनन् । कतिसम्म भने डिसेम्बरको सुरुमा उनीहरु अभ्यासका लागि कतार जान लाग्दा साउदी अरबले रोकिदियो ।

अभावबीच सुन्दर नतिजा

यमनको फुटबल इतिहास पनि त्यति सम्झनलायक छैन । समर्थकहरु खुलेर फुटबलमा रमाउन पाएका छैनन् । उनीहरुले अरेबियन गल्फ कपमा २७ पटक खेले पनि एक खेल जित्न सकेका छैनन् ।

तर पनि २०१९ को एसियन कप छनोटमा यमनले चार खेलमा बराबरी र दुई खेल जितेर इतिहास बनाउन सक्यो ।

कतारको सुहेम बिन हमाद रंगशाला यमनको घरेलु मैदान बनाउनु परेको छ । जसमा केही सयको संख्यामा मात्रै समर्थक उपस्थित हुन सकेका छन् । तर पनि मैदान पुगेका केही दर्शकले सुन्दर नतिजाको खुशी यमनसम्म लैजान पाएका छन् । अन्तिम खेलमा नेपाललाई २–१ ले हराउँदा अल मातारीले दुवै गोल गरेपछि उनीहरुले त्यस्तै खुशी घर लैजान पाएका थिए ।

एसियन कप छनोट सुरु गर्दा प्रशिक्षक रहेका इथियोपियाका अब्राहम मेबराटुले लामो समय टिमको जिम्मा लिन सकेनन् । अस्तव्यस्त यमनी फुटबल छाडेर उनी तीन महिनामा फर्किएका थिए । उनले लगानीको अभाव रहेको र फुटबलमा ध्यान नभएको भन्दै टिम छाडेका थिए ।

नेपाललाई जितेको खेललाई छाडेर हेर्ने हो भने वेरोजगार बनेको यमन टिमले २०१८ मा जम्मा तीनवटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

‘मैले २०१८ मा टप लेभलको खेल जम्मा तीन वटा खेल्न पाएको थिएँ’ २९ वर्षका मिडफिल्डर अल ओमेसीले भनेका छन् । अल अलि साना क्लबका खेलाडी रहेका उनले आफूलाई आउने पैसाले नियमित जिम जान पनि नपुग्ने बताउँछन् । उनकै एक साथी पैसाका लागि दिनमा १० घण्टा बस चलाउँछन् । ‘अरु त छँदै छ, संवेदनात्मक र मानसिक रुपमा पनि युद्धका कारण धेरै नै कठिनाइहरु आइरहन्छन्’ उनले भने ।

एउटा कठीन काम

इथियोपियाका अब्राहम मेबराटुले यमन टिमको प्रशिक्षण छाडेर गएपछि सबै कुरा बुझेर नै चेकोस्लोभाकियाका कोकियन टिम सम्हाल्न राजी हुनु सानो कुरा छैन । राजनीतिक संघर्षको भुमरीमा फुटबल कसरी चेपिन्छ भन्ने उनले राम्ररी बुझेका पनि छन् ।

एक समय चेकोस्लोभाकिया टुक्रिनु केही महिना पहिले मात्र कोकियनले राष्ट्रिय टिमबाट २६ औँ खेल खेलेका थिए । हुन त १९९३ मा चेकोस्लोभाकिया टुक्रिँदाको अवस्था र अहिलेको यमनको अवस्थामा तुलना गर्न नसकिने भए पनि त्यसको मर्म उनले बुझेका छन् ।

यमन टिम सम्हाल्न उनी गएको नोभेम्बरमा साउदी अरेबिया गएका थिए । जहाँ उनले टिमका खेलाडीहरुलाई भेटे । विश्व फुटबलको सबैभन्दा कठिन जागिर सुरु गरे । यमनको शीर फुटबलबाट उचो बनाउने काम गरे ।

‘राजनीतिक अवस्थाले गर्दा राष्ट्रिय टिमको अभ्यासमा धेरै नै असर परेको थियो’ कोकियनले भनेका छन्, ‘म उनीहरुको देशमा प्रवेश गर्ने छैन । त्यो कुरा मेरो सम्झौतामा नै उल्लेख छ । तर उनीहरुको टिमको नेतृत्व गर्न पाउनु सम्मानको कुरा हो ।’

टेक्निकल क्षमता र पास खेल्ने शैली देखेर कोकियन यमनको युवा खेलाडीबाट प्रभावित पनि छन् । उनी आफ्ना खेलाडी उत्सुक र केन्द्रित रहेको पनि बताउँछन् । तर उनीहरुको दिमागमा देशको बेहाल नभएको भने होइन ।

गोलकिपर मोहम्मद आयस फुटबलका कारण युद्धका घाउहरुबाट बाहिर निस्किएर केही क्षण खुशी दिन सकिएको बताउँछन् ।

खेलाडीहरुले एसियन कपपछि बाहिरका केही टिमले सम्झौता गर्लान् र आफूहरुको अवस्था केही सुध्रिएला भन्ने सोच बनाएको प्रशिक्षक कोकिन सुनाउँछन् । ‘फुटबलमा साना देशले पनि जितका ठूला सपनाहरु देख्न त पाउँछन् नै’ उनी भन्छन् ।

‘फुटबलका कारण केही क्षण भए पनि युद्धको सोचबाट टाढा जान र केही खुशी पाउन सकेका छौँ’ यमनका खेल पत्रकार अल मासरी भन्छन्, ‘यो असाध्यै ठूलो कुरा हो । मानिसहर बाँच्न सकिने आशमा छन् । परिवारका लागि खाने कुराको खोजीमा छन् । तर पनि फुटबल भइरहँदा चिया पसलमा उनीहरु टेलिभिजन अगाडि हुन्छन् ।’

(यो सामग्री अल अरेबिया, बीबीसी र युएईको द नेशनलको सहयोगमा तयार पारिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment