२८ पुस, चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुने बताएका छन् । उनले अध्यादेशमा राखिएका केही प्रावधानबाट नआत्तिन उनले कर्मचारीहरुलाई आग्रह पनि गरे ।
नेकपा सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई शुक्रबार राति अबेर चितवनको भरतपुरमा सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।’
उनले आन्दोलन छाडेर समायोजनमा सहयोग गर्न कर्मचारीहरुलाई सुझाव पनि दिए । ‘सम्वादहीनताका कारण केही नमिलेको जस्तो देखियो,’ उनले भने, ‘पार्टी हाम्रै हो, सरकार हाम्रै छ, नमिलेका कुरा मिलाइन्छ, आन्दोलन गर्नुपर्दैन ।’ पोखरेलले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए ।
शनिबारसम्म चल्ने केन्द्रीय बैठकले संघीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ । देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी चितवनको भरतपुरमा भेला भएका छन् ।
प्रतिक्रिया 4