Comments Add Comment

बार्सिलोनामा अचम्म पार्ने आगमन

८ माघ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा कसलाई ल्याउँछ भन्ने बहस चर्किरहेका बेला केभिन प्रिन्स बोएटेङलाई भित्र्याएर फुटबल समर्थकलाई चकित पारेको छ ।

सिजनको बाँकी समयका लागि लोनमा ल्याइएका भए पनि ३१ वर्षका स्ट्राइकर बोएटेङलाई ल्याएको खबरले फुटबल बजार तातेको छ । उनका लागि झण्डै ८ मिलियन युरो तिरेर सिजनको अन्त्यमा पूर्ण रुपमा अनुबन्धित गर्नसक्ने अवसर पनि बार्सिलोनासँग छ ।

बार्सिलोनामा स्ट्राइकर लुइस स्वारेजको स्थानमा साथ दिने खेलाडीको खोजी भएकाले अट्याकिङ मिडफिल्डरका रुपमा चिनिएका बोएटेङलाई ल्याइएको हो । यसअघि उनी इटालियन क्लब सासुओलोमा थिए ।

अल्भारो मोराटा, डे जोङ, कार्लोस भेला, क्रिष्टियन स्टुआनीलगायत केही खेलाडीको नाम आइरहँदा बोएटेङ क्लबमा आएका हुन् । उनले बार्सिलोनामा आएसँगै आफ्नो एउटा सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।

‘एउटा ठूलो सपना पूरा भएको क्षण हो । बार्सिलोनामा हुन पाउनु मेरा लागि ठूलो सम्मानको कुरा हो’ उनले भनेका छन् ।

बार्सिलोना बोएटेङको सिनियर फुटबल करिअरमा दशौँ क्बल हो । जर्मन फुटबल क्लब हर्थ बीएससीबाट २००७ मा टोटनह्याम गएका उनी एक वर्ष लोनमा ब्रोरुसिया डर्टमुण्डमा पनि रहे । २००९ मा इंग्लिस क्लब पोट्समाउथ गएका बोएटेङ २०१० मा एसी मिलान गएका थिए । त्यसपछि साल्क, पुनः एसी मिलान, लास प्लाल्मस, इन्ट्राच्ट फ्याङफर्ट हुँदै सासुओलोबाट बार्सिलोना आएका हुन् ।

जर्मनीमै जन्मिएर २००४ देखि जर्मनीका लागि उमेर समूहमा यु १९, यु २०, यु २१ खेलेका बोएटेङ २०१० मा घानाको राष्ट्रिय टिमबाट खेल्न गएका थिए । त्यहाँदेखि नै घानाका राष्ट्रिय टिममा रहेका बोएटेङका भाइ जेरोमि बोएटेङ जर्मनीकै राष्ट्रिय टिमबाट खेल्छन् ।

पाको अल्कासर र मुनिर एल हदादी जस्ता खेलाडी बेचेको बार्सिलोनामा बोएटेङले आफूलाई प्रमाणित गर्न सके सिजनको अन्त्यपछि पनि बार्सिलोनामा नै स्थान बनाउन सक्नेछन् ।

३१ वर्षका आर्टुरो भिडाल ल्याउँदा आलोचना ब्यहोरेको बार्सिलोनाले फेरि उति नै उमेरका बोएटेङलाई ल्याएको हो । भिडालले जस्तै बोएटेङले पनि क्लबमा आफूलाई प्रमाणित गर्ने विश्वास प्रशिक्षक एर्नेस्टो भालभर्देले लिएका छन् ।

‘उनले बार्सिलोनाको तरिकामा खेल्न धेरै समय लिँदैनन् । अहिले नै टिममा मिसाएर खेलाउन तयार खेलाडी हुन् उनी’ भालभर्देले भनेका छन्, ‘उनी धेरै पोजिसनमा खेल्न सक्छन्, मिडफिल्ड, सेन्टर स्ट्राइकर, स्ट्राइकर अझ त्यसभन्दा अघि पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment