+
+
Shares

डोरबहादुर विष्टको ‘अन्तिम प्राज्ञिक योगदान’का साक्षीको बयान

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ माघ १० गते २०:००

१० माघ, काठमाडौं । ‘नेपाली मानवशास्त्रका पिता’ भनेर धेरैले मानेका डोरबहादुर विष्ट बेपत्ता भएको करिब २३ वर्ष पुगिसक्दा पनि उनका चेलाहरू लगायत मानवशास्त्रका आम नेपाली विद्यार्थीमाझ उनको प्रसिद्धि सेलाएको छैन । त्यसैले उनीहरूले गत शुक्रबार विभिन्न कार्यक्रम गरेर विष्टको ९२ औँ जन्मदिन मनाए । र, विष्टले नेपाली प्राज्ञिक क्षेत्रलाई दिएको योगदान सम्झिए ।

नेपाली मानवशास्त्रीहरू विष्ट बेपत्ता भएको घटनालाई नेपालको शैक्षिक क्षेत्रकै एक ठूलो दुर्घटना मान्दछन् ।

पछिल्लो पुस्ताका विद्यार्थीहरूले ‘फ्याटालिज्म एन्ड डिभिलप्मेन्ट’ अनि ‘पिपल अफ नेपाल’ लगायतका कृतिबाट मात्र चिनेका यी विद्वानसँग निकट रही काम गरेका केही बुढापाका अझै पनि प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् । तिनैमध्येका एक हुन्– अमेरिकी मानवशास्त्री जेम्स एफ् (अर्थात् ‘जिम’) फिसर ।

विष्टका कतिपय अनुसन्धानमा सँगै काम गरेका ७९ वर्षीय फिसर विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैँ भएकाले उनको अन्तिम प्राज्ञिक योगदानको सबभन्दा नजिकको साक्षी आफू भएको दाबी गर्छन् ।

‘एक आदर्श मानवशास्त्री’

नेपालको तत्कालीन राजनीतिक व्यवस्था र सामाजिक संरचनाका सन्दर्भमा विष्टका विचार अलि बढी नै क्रान्तिकारीजस्ता लागे पनि आफ्नो आँखामा उनी एक सच्चा मानवशास्त्री भएको र आफू पनि सधैँ उनीजस्तै बन्न चाहेको फिसरको भनाइ छ ।

बेपत्ता बनेका डोरबहादुर विष्ट अब फर्केलान् त ? फिसरको जवाफ छ– यो प्रश्न त जिसस फेरि पृथ्वीमा फर्केलान् त भनेजस्तो भयो

“सन् १९६२ मा पिस कोर स्वयंसेवक बनेर पहिलोपटक नेपाल आउँदा मलाई पनि मानवशास्त्रीय दृष्टिकोणबाट नेपालको अध्ययन गर्न मन लाग्यो । तर, यस क्षेत्रको मेरो ज्ञान र सीप खासै राम्रो थिएन,” आफ्नो अल्लारे अवस्था सम्झँदै फिसर भन्छन्, “त्यसैबेला मलाई कसैले डोरबहादुरबारे बतायो र म उनलाई भेट्न गएँ । उनी खुला हृदयका, न्यानो स्वभावका र सबैलाई स्वीकार गर्ने मान्छे रहेछन् ।” विष्टकै सङ्गतले आफू मानवशास्त्री भएको उनी बताउँछन् ।

सन् १९७० को दशकमा विष्ट र फिसरलगायत अन्य विद्वानहरूले त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र तथा मानवशास्त्र विभाग स्थापनाका लागि पैरवी सुरु गरे । सन् १९८१ मा विभागले काम थाल्यो । केही वर्षभित्रै यो विश्वविद्यालयका विभागहरूमध्ये सबैभन्दा लोकप्रिय बन्यो ।

“नेपालको मानवशास्त्र बेलायत, जर्मनी वा जापानको मानवशास्त्रको हुबहु नक्कल हुनुहुँदैन भन्ने कुरामा उनी सधैँ जोड दिन्थे । नेपालका लागि छुट्टै किसिमको मानवशास्त्र बनाइनुपर्छ भन्ने उनको विचार थियो,” आफ्ना साथीबारे फिसर भन्छन्, “त्यतिबेला पनि नेपाल एक विकासशील देश थियो । त्यसैले मावनशास्त्रले देश विकासलाई सहयोग गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।”

यद्यपि देश विकासलाई सहयोग गर्नु भनेको परम्परागत परिभाषाको देशभक्तिभन्दा फरक कुरा हो भन्ने विष्टको बुझाइ थियो । फिसरका अनुसार विष्ट सधैँ नै जनता केन्द्रित विकास अभियानको पक्षमा थिए ।

२३ वर्षदेखि बेपत्ता डोरबहादुर विष्ट

विभागमा पठनपाठन र अध्ययन अनुसन्धानका काम सुरु भएसँगै फिसर नेपाल आउने क्रम बाक्लियो । अर्थात्, विष्टसँगको उनको सङ्गत अझ गहिरियो । “म सधैँ काठमाडौँमा हुन्नथेँ । उनी पनि सधैँ हुँदैनथे । आजको जस्तो इमेलको प्रचलन पनि थिएन । तैपनि हामी नियमित कुराकानी गर्न भ्याउँथ्यौँ,” उनी मुस्काउँछन्, “हामी साथी थियौँ र सधैँ साथी नै रह्यौँ । विभिन्न कुरामा उनले मेरो सुझाव माग्थे, मैले उनको माग्थेँ ।”

नेपालका विभिन्न जातजातिका संस्कृतिको अनुसन्धानमा हिँड्दाहिँड्दै फिसरले विष्टलाई सन् १९६५ मा अमेरिका लगे । विष्टले अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीसँग अन्तरक्रिया गरे । उक्त भ्रमणले आफ्नो नेतृत्वमा विकास भएको नेपालको मानवशास्त्रीय परम्पराको दिशा नै परिवर्तन भएको विष्टले एक अन्तर्वार्तामा बताएका छन् ।

त्यो अविस्मरणीय अन्तर्वार्ता

फिसर र विष्टको सङ्गत बाक्लिँदै थियो । फिसरले अमेरिकाबाट प्रकाशित हुने विश्वप्रसिद्ध मानवशास्त्रीय जर्नल ‘करेन्ट एन्थ्रोपोलोजी’बारे थाहा पाए । उक्त जर्नलका हरेक अङ्कमा संसारको कुनै देशको एक मानवशास्त्रीको अन्तर्वार्ता छापिने थाहा पाएपछि फिसरले विष्टको अन्तर्वार्ता लिन चाहे । सन् १९९१ मा लिइएको उक्त अन्तर्वार्ता सन् १९९६ मा उक्त जर्नलमा छापियो ।

सोही वर्षमा नै विष्ट बेपत्ता भएको मानिएको हुनाले यसपछिको मितिमा विष्टले लेखेका कुनै लेखरचना कतै प्रकाशित भएका छैनन् । त्यसैले फिसरका अनुसार उक्त अन्तर्वार्तामा व्यक्त विचार नै विष्टको अन्तिम प्राज्ञिक योगदान हो, र उनी त्यसका साक्षी मात्र नभएर माध्यम पनि हुन् । त्यसैले त अन्य विभिन्न जर्नलले पनि यो अन्तर्वार्तालाई पुनः प्रकाशन गरे ।

अन्तर्वार्तामा विष्टले उनी आफू कसरी मानवशास्त्री भए भन्ने मात्र नभएर नेपालमा मानवशास्त्र अध्ययनको परम्परा कसरी विकास भयो र यसको भविश्य कस्तो हुनुपर्छ भनेर चर्चा गरेका छन् । यसका साथसाथै, आफ्ना मूल कृतिका मुख्य विचारबारे पनि उनले प्रस्ट्याएको फिसरको सम्झना छ ।

मानवशास्त्रको भविश्यबारे कुरा गर्दा विष्टले भनेका छन् कि प्राज्ञिक नेतृत्वले जहिले पनि शैक्षिक संस्थालाई सर्वसाधारणको दैनिक जीवन र समग्र सामाजिक परिवेशसँग जोड्न सक्नुपर्छ ।

“नेपालमा मानवशास्त्रले खेल्नुपर्ने भूमिका महत्वपूर्ण नभइदिएको भए यहाँ मानवशास्त्र विभाग खोल्नुपर्छ भनेर म सिफारिस गर्ने नै थिइँन,” फिसरको एक प्रश्नको जवाफमा विष्टले भनेका छन्, “म अध्यक्ष बन्न पाउँछु भनेर मैले विभाग खोल्नका लागि सिफारिस गरेको होइन । कुनै पनि विधामा हामी कसरी प्रशिक्षित हुने र त्यसबाट के उद्देश्य प्राप्त गर्ने भन्ने कुरालाई ध्यानपूर्वक मनन गर्नुपर्छ ।”

अन्तर्वार्तामा विष्ट थपेका छन्, “भविष्यको नेपालमा मानवशास्त्रका विद्यार्थीको भूमिका स्पष्ट र अत्यन्त महत्वपूर्ण रहेको म देख्दछु । उनीहरूको भूमिका महत्वपूर्ण छ भनेपछि हामीले तिनलाई कसरी प्रशिक्षित गर्ने भन्ने कुरा पनि सोच्नुपर्दछ । त्यसैले मानवशास्त्र र समाजशास्त्र एकआपसमा अत्यन्त नजिक भएर अगाडि बढ्नुपर्दछ । मानवशास्त्रीहरूले नेपालको इतिहास पनि पढ्नुपर्दछ । अन्यथा मानवशास्त्र पनि विश्वका अन्य देशका विश्वविद्यालयका विभिन्न विभागको नक्कल मात्र बन्दछ र यसले विद्यार्थीलाई नेपालको भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार गर्न सक्दैन ।”

अन्तर्वार्तामा विष्टले मानवशास्त्रको शिक्षा पाउनु अगाडि आफूमा साहित्य लेखनको सोख रहेको र मानवशास्त्री भनेर चिनिनु अगाडि नै आफूले केही कथाकविता प्रकाशन गराएको बताएका छन् । मानवशास्त्री भइसकेपछि आफ्ना साहित्यिक रचना मानव जीवनसँग अझ नजिक भएको उनको दाबी छ ।

अनि त्यसपछि …

विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्तिका रूपमा आफूलाई चिनाउन पाउँदा फिसर जति खुसी छन्, त्यसपछि उनका बारे केही पत्ता लाग्न नसकेकामा अझ बढी दुःखी छन् ।

विष्ट कहाँ गए होलान् भन्ने विषयमा बजारमा चलेका सबै हल्ला उनले सुनेका छन् । “तर उनी पहिल्यैदेखि आफ्नै खालको रुचि भएका मान्छे थिए । उनलाई आफू हिँड्ने बाटो आफैँ खन्न मन लाग्थ्यो,” उनी सुनाउँछन् ।

फिसरले सुनेअनुसार विष्ट बेपत्ता हुनुअघि उनको परिवारमा कुनै गम्भीर प्रकारको बेमेल आइपरेको थियो । यसकै परिणाम स्वरूप उनले आफूलाई गायब बनाइदिए ।

“कोही भन्छन् कि उनी भारततिर गए, बद्री केदारतिर बस्न लागे । यो सुनेपछि उनका परिवारका सदस्य पनि त्यहाँ गए, अनि विष्टको फोटो देखाउँदै यो मान्छेलाई देख्यौ भन्दै सोधे रे,” उनी बयान दिन्छन्, “तर त्यो गर्दा पनि केही पत्ता लागेनछ ।”

अर्काथरीको बुझाइमा विष्ट कर्णालीतिर एक्लै बस्न लागे । हुन पनि उनले आफ्ना धेरै अनुसन्धान कार्यक्रमलाई कर्णालीमा केन्द्रित गरेका थिए र कर्णालीको अध्ययनका लागि छुट्टै संस्था स्थापना गरेका थिए । “कोहीकोहीले उनलाई पश्चिम नेपालको कुनै ठाउँमा एउटा बसमा चढेको देखेको बताएका छन् । कोही भन्छन् कि उनलाई लुटेराहरूले लुटे । कोहीका अनुसार उनी साधु बने ।”

“सबैले आफूले सोच्न सकेसम्मका सम्भाव्य कारण बताउने हुन्” भन्ने फिसरसँग पनि विष्टको अवस्थाबारे आफ्नै खालको अनुमान छ । “हिँड्दाहिँड्दै कुनै गहिरो खोँच वा नदीमा खसे होलान् । वा कुनै जङ्गली जनावरले शिकार बनाए कि ?”

विष्ट बेपत्ता हुनु अगाडिसम्म उनी धेरैपटक विवादमा तानिए, आफ्ना राजनीतिक तथा प्राज्ञिक मान्यताका कारण । तर, पनि उनी कुनै मानवीय षड्यन्त्रको शिकार भए कि भन्ने अनुमान मान्न भने फिसर तयार छैनन् ।

के त्यसो भए डोरबहादुर विष्ट फर्केलान् त ? फिसरलाई यसको पनि कुनै आशा छैन ।

“यो प्रश्न त जिसस फेरि पृथ्वीमा फर्केलान् त भनेजस्तो भयो,” उनी घुमाउरो जवाफ दिन्छन्, “धेरै मान्छे अझै पनि त्यो कुरामा विश्वास गर्छन् । तर अहँ, मैले त कुनै सम्भावना देखेको छैन ।”

(विष्टको श्यामश्वेत तस्वीर हिमा विष्टको ट्विटरबाट लिइएको हो ।)

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?