Comments Add Comment

अब धनगढीबाट पनि श्रम स्वीकृति, काठमाडौं धाउनुपर्ने बाध्यता टर्यो

११ माघ, काठमाडौं । आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।  वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।

यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो ।

संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रिकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment