Comments Add Comment

गोविन्द केसी प्रकरणमा प्रधानमन्त्रीको जवाफ- यसमा धेरै चिन्तित भइरहनुपर्दैन !

'म स्वीटजरल्याण्ड बैंकका खाताहरु हेर्न गएको थिइनँ'

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्वीटजरल्याण्ड भ्रमण सकेर शनिबार बिहान स्वदेश फर्किएका छन् । प्रधानमन्त्री विदेशमै भएका बेला नेपालमा तीनवटा राजनीतिक परिघटना भए । एक- विपक्षी दललाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित भयो । दुई- पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा संयुक्त वक्तव्य जारी गरे । र, तीन- नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा अमेरिकी भूमिकाको निन्दा गर्दै वक्तव्य जारी गरे ।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली युरोपबाट फर्कँदै गर्दा शनिबार विमानस्थलमा भेला भएका सञ्चारकर्मीहरुको जिज्ञासा यिनै राजनीतिक विषयमा केन्द्रित हुनु स्वाभाविकै थियो । विमानस्थलमा पत्रकारले प्रधानमन्त्री ओलीलाई डा. गोविन्द केसीको सन्दर्भमा दोहोर्‍याएरै प्रश्न सोधे । तर, प्रधानमन्त्रीले चाहिँ यो त्यति ठूलो र उधुम मच्चाइरहनुपर्ने विषय नभएको जवाफ फर्काए ।

खासै ‘मर्यादा’ को घेरामा नबसी आक्रामक प्रश्न सोध्ने पत्रकार ऋषि धमलाले विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई ठाडो प्रश्न सोधे-

‘तपाई विदेशमा हुँदाखेरि चिकित्सा शिक्षा विधेयक पारित भएको छ । तपाईसँग गोविन्द केसीवीच भएको सहमति तोडमोड गरियो, पूर्णतः कार्यान्वयन गरिएन भनेर भन्दै डा. केसीले तपाईको राजीनामा मागिसक्नुभएको छ । प्रधानमन्त्रीज्यू, तपाईले साउन १० गते गोविन्द केसीसँग गर्नुभएको सहमति किन तोड्नुभयो ? सुवास नेम्वाङजी पनि यहीँ हुनुहुन्छ, ठ्याक्कै बताइदिनोस्, जनता जान्न चाहन्छन् !’

प्रधानमन्त्रीले धमलाको प्रश्नको जवाफ तत्कालै दिएनन् । बरु ‘अरु केही प्रश्न साथीहरुको ?’ भन्दै पत्रकारदीर्घाबाट थप प्रश्नको अपेक्षा गरे ।

पत्रकारको रोहबाट प्रधानमन्त्रीलाई अर्को प्रश्न आयो- ‘तपाई स्वीटजरल्याण्डमा रहँदाखेरि सेपिङ फ्यचुर फर डेमोक्रेसीको सत्रलाई सम्वोधन गर्नुभयो । त्यसमा तपाईले अंगीकार गर्नुभएको सुरक्षा र सञ्चार नीतिका विषयमा के अन्तरराष्ट्रिय जगतले प्रश्न उठाएका छन् ?’

प्रधानमन्त्रीले पत्रकारलाई सोधे- ‘अरु केही ?’

एक महिला सहभागीबाट प्रश्न आयो, ‘स्वीटजरल्याण्ड भ्रमणका लागि यहाँलाई धेरैधेरै बधाइ छ । नेपालका लागि के-के अफर ल्याउनुभयो ? स्वीट्जरल्याण्डको बैंकमा ५५ जना नेपालीहरुले इल्लिगल पैसा राखेका छन्, त्यस सम्बन्धमा के के कुरा भयो ?’

प्रधानमन्त्रीले फेरि पत्रकारलाई सोधे- ‘अरु केही ?’

र, थप प्रश्नहरु नआएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन सुरु गरे ।

गोविन्द केसीको प्रश्नमा सकेसम्म तर्किने प्रयास गरेका प्रधानमन्त्री ओलीले मिडिया र अरु क्षेत्रलाई मर्यादामा बस्नुपर्ने सुझाए । उनले लोकतन्त्रको परिभाषा दिने प्रयाससमेत गरे ।

विमानस्थलबाट प्रधानमन्त्री ओलीले यसो भने-

लोकतन्त्र, मिडिया र मर्यादाका कुरा

मैले डावोसमा ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ अर्थात लोकतन्त्रको भविश्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें, त्यस सम्बन्धमा मैले विचार राख्नुभन्दा अगाडि वास्तविकता थाहा नपाएर कसैले गलत सूचना वा गलत प्रचारको प्रभावका आधारमा अलिकति स्पष्ट हुन खोजेको हुन सक्छ । तर, मैले स्पष्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावनै थिएन ।

मैले लोकतन्त्रलाई राजनीति, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ, निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ ।

तर, लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सीमित हुँदैन । आफ्ना प्रतिनिधि छान्ने सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सीमितता हैन, व्यापकता, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ । र, सार्वभौमसत्ता सम्पन्न हुन्छ ।

प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरें । प्रेस एउटा सम्मानित क्षेत्र हो । जनतालाई सुसूचित गर्ने, शिक्षित गर्ने, यस्तो क्षेत्र हो । र, यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बञ्देज हुनुहुँदैन भन्ने कुरा राखें ।

र, प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका, अरुको अधिकारको सम्मान, अरुको सम्मानको पनि सम्मान, अरुका हितहरुप्रति अनुचित ढंगले गलत सूचना दिएर दुस्प्रभावित नगर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सूचनाबाट हानी नपार्ने जसलाई एउटा पीत पत्रकारिता भन्ने गरेका छन्, त्यस्तो पीत पत्रकारिता नगर्ने । मर्यादित, त्यस्तो प्रेस ।

त्यस्तो मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुई मत हुनुपर्ने न कुनै ठाउँ छ । न त्यहाँ महत्व घटाइएको छ न स्वाधीनता स्वतन्त्रता त्यस्ता कुराहरुलाई सीमित वा नियन्त्रित कुरा गरिएको छ । र, त्यसमा कुनै भ्रम पर्ने कुरा छैन ।

अर्को, यतातिर म आज भर्खर आइपुग्दैछु । यताका कुराहरु मैले अलिक राम्ररी बुझ्नु पनि पर्छ । सम्वाद गर्नु, सम्वादबाट समस्याका समाधान गर्नु र तर्क तथ्यमा आधारित हुनु र आवेश उत्तेजनाबाट होइन, देशको हितलाई सर्वोपरी राखेर संविधान, कानून र संस्थाहरुका मर्यादाहरुलाई सर्वोपरि राखेर, संविधानभन्दा माथि, कानूनभन्दा माथि कोही हुँदैन । कानूनका नजरमा सबै बराबर छन् । र, संस्थाहरुको हामीले मर्यादा गर्न सिक्नुपर्छ भन्ने कुरा छँदैछ । र, अरु थप मैले अहिले भन्नुपर्ने जस्तो लाग्दैन ।

म स्वीटजरल्याण्ड बैंकका खाताहरु हेर्न गएको थिइनँ

अर्को, म स्वीटजरल्याण्ड गएको बैंकका खाताहरु हेर्न गएको थिएन । म स्वीटजरल्याण्ड गएको डावोसमा अन्तरराष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको थिएँ ।

यी हल्लाहरुको सम्बन्धमा कति सही ढंगले, कति गलत ढंगले, कति के कारणले उठाइएका छन्, त्यसमा सत्यता कति छ, त्यो समयक्रममा अगाडि आउँछ । सरकारले सञ्चारमाध्यममा आएका कुराहरुको जानकारी लिएको छ ।

तत्काल डावोसबाट कुनै फाइदा लिन, कुनै सन्धी सम्झौता गर्नका लागि संसारको कुनै डेलिगेसन पनि गएको हुँदैन । त्यहाँ आजका राजनीतिक प्रवृत्तिहरु, आजका आर्थिक प्रवृत्तिहरु, आजका विभिन्न प्रकारका समस्याहरुको सम्बन्धमा छलफल गर्ने । दुनियाँ कहाँ छ, कस्तो अवस्थामा छ, हाम्रा हिजोका नीतिहरु, निर्णयहरु वा तरिकाहरुको सफलता कति मिल्यो ? र, अब भविश्यमा हामीले कसरी अगाडि बढ्नुपर्छ, दुनियाँ कसरी अगाडि जानुपर्छ भन्ने सम्बन्धमा विचार विमर्श गर्ने त्यो थलो हो ।

त्यसै प्रशंगमा हामीले विभिन्न व्यक्तित्वहरुसँग भेटेको, छलफल गरेको कुरा त परराष्ट्र मन्त्रीज्यूले राखिसक्नुभयो । त्यसबाहेक दक्षिण एशियाको अवस्था, नेपालको अवस्था, दक्षिण एशियासम्बन्धी हाम्रा दृष्टिकोणहरु, हाम्रा अपेक्षाहरु र हामी कसरी अगाडि बढ्छौं भन्ने संकल्प… ।

लोकतन्त्रलाई कसरी बुझ्नुपर्छ अबको समयमा ? लोकतन्त्र भनेको शक्तिको प्रदर्शन वा शक्तिको सञ्चय र त्यसको प्रयोग हो कि ? लोकतन्त्र भनेको जनताको सार्वभौम सत्ता र जनताका निम्ति गरिने काम हो ? त्यसलाई कसरी बुझ्ने र अबको लोकतन्त्र कस्तो हुनुपर्छ ? अबको अर्थतन्त्र, चौथो औद्योगिक क्रान्ति र अबको विश्व व्यापारमा अहिलेसम्म देखा परेका प्रवृत्ति, तिनीहरुको सम्बन्धमा अब कसरी अगाडि बढ्नुपर्छ ? आदि विषयहरुमा गहन छलफल भएका छन् ।

हामीले ती विषयहरुमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत गरेका छौं । जुन दृष्टिकोणहरु महत्वपूर्ण छन्, सही छन् । यति भने पुग्छ होला ।

प्रचण्डकाे विज्ञप्ति, भट्टराई लडेर घाइते !

प्रधानमन्त्रीले ‘यति भने पुग्छ होला’ भनेर बिट मार्नै लाग्दा पत्रकारले भेनेजुएलासम्बन्धी प्रचण्डको विज्ञप्तिबारे प्रश्न सोधे-

‘तपाई स्वीट्जरल्याण्ड गएकै बेला नेपाल कम्युनिष्ट पार्टीका को-पाइलट पुष्पकमल दाहालले भेनेजुएलाको विषय र अमेरिकाको भूमिकाको विषयमा असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गर्नुभएको छ । यसमा सरकारको भनाइ के हो ? यहाँलाई त्यो अवगत छ कि छैन ? छ भने यहाँको टिप्पणी के हो ?’

जवाफमा प्रधानमन्त्री ओलीले ‘भट्टराई लडेर घाइते !’ भन्ने किस्सासहितको यस्तो जवाफ दिए-

मैले सुनेको छु अलिकति । तर, म भर्खर आइपुगेको छु । नेपाल कस्तो देश हो भने एकपल्ट कोही भट्टराई लडेर घाइते हुनुभएछ । भट्टराई लडेर घाइते !

त्यसबेला कृष्णप्रसादजी प्रधानमन्त्री हुनुहन्थ्यो । भट्टराई भन्नेवित्तिकै उहाँलाई बुझिने अवस्था । भट्टराई लडेर घाइते भनेपछि धुमधाम भयो । हामी पनि चिन्तित भयौं । के भएछ भनेर बुझ्नु त पर्‍यो । हतार-हतार बुझ्दाखेरि त भट्टराईजीलाई त केही पनि थाहा छैन । भट्टराई त भट्टराई नै, तर अर्कै भट्टराई हुनुहुँदोरहेछ । तर, संकेत केही त्यस्तो हुन्छ ।

त्यसकारण, मिडियामा अस्ति मेरो फोटोसमेतै अलिअगाडि जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईहरुले पढ्नुभो होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होलाजस्तो मलाई लाग्दैन ।

फेरि डा गोविन्द केसीकै बारेमा….

पत्रकारले फेरि ‘गोविन्द केसीका बारेमा प्रधानमन्त्रीज्यूको प्रतिक्रिया आएन नि ?’ भन्दै अनसनरत डा. केसीकै बारेमा प्रधानमन्त्रीसमक्ष प्रश्न तेर्स्याए ।

पत्रकारहरुले सोधे- उहाँ (केसी) ले त तपाईको राजीनामा मागिसक्नुभएको छ । विधेयकमा सबै कुरा समेटिएको छ ? त्यसमा तपाईको प्रतिक्रिया के छ ? हामीले पहिले सम्झौता गरेका थियौं, अहिले सदनदेखि सडकसम्म मुठभेडको स्थिति सिर्जना भइराखेको छ, हामी तपाईबाट यो प्रश्नको उत्तरको अपेक्षा गर्दछौं… ।

जवाफमा प्रधानमन्त्री ओलीले यो कुनै उधुम विषय नभएकाले यसमा चिन्तित भइरहनु नपर्ने जवाफ दिए । तीन करोड नेपालीहरु रहेका ठाउँमा कोही कोही असन्तुष्ट हुनु सामान्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

डा. केसीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीको जवाफ उनकै शब्दमा-

‘यसमा धेरै चिन्तित भइरहनुपर्दैन । कुनै पनि चिजको प्रक्रिया हुन्छ । सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुले गर्ने कामको पनि प्रक्रिया हुन्छ ।

तपाईहरुले जस्तो एउटा चिन्ता जाहेर गरिरहनुभएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनुपर्ने स्थिति छैन । यत्रो देशमा, तीन करोड मान्छे भएका ठाउँमा केही मानिसहरुमा असन्तुष्टिहरु अलिअलि हुन सक्छन् । केही चित्त नबुझ्या हुन सक्छ । यस्तै कुराहरुलाई हामीले उधुम, केके न असन्तुष्टिको…. । अब लोकतन्त्रमा पक्ष विपक्ष अलिकति मत मतान्तरजस्ता कुराहरु साधारण हुन् । त्यसलाई त्यसै ढंगले, अलिकति, ठीकै ढंगले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । म साथीहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

पश्चिमी देशका राजदूतहरुले राष्ट्रसंघसित मिलेर निकालेको संयुक्त विज्ञप्तिका बारेमा स्वीटजरल्याण्डको जुरिचबाट कडा प्रतिक्रिया दिएका प्रधानमन्त्री ओलीले शनिबार विमाननस्थलमा भने केही पनि बोलेनन् । यसबारे सञ्चारकर्मीले पनि प्रधानमन्त्रीलाई कुनै प्रश्न राखेनन् ।

विमानस्थलमा प्रधानमन्त्रीले बोल्नुपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिखित प्रेस विज्ञप्ति पढेर डावोस भ्रमणका उपलब्धीबारे पत्रकारलाई जानकारी गराएका थिए । स्वदेश फर्केका प्रधानमन्त्रीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुका साथै नेकपाका कार्यकर्ताहरु समेत विमानस्थलमा देखिन्थे ।

नेकपा अध्यक्ष प्रचण्ड भने प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा देखिएनन् । उनी भाइरल ज्वरोका कारण निवासमै आराम गरिरहेकाले विमानस्थल नआएका हुन् । प्रचण्ड घरमै आराम गरिरहेका छन् भने उनकी धर्मपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयुमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment