Comments Add Comment

फागुन १४ मै स्ववियु चुनाव गराउन प्रधानमन्त्रीको निर्देशन

आन्दोलन छाडेर चुनावमा केन्द्रित हुन कांग्रेसलाई आग्रह

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १४ गते नै स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि आन्दोलन छाडेर स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रहसमेत दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सरकारका केही मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुको आइतबार साँझ संयुक्त बैठक राखेर प्रधानमन्त्री ओलीले स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए ।

‘लोकतन्त्र बलियो बनाउन यस्ता निर्वाचन रोकिनु हुँदैन,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विश्वविद्यालयले चुनाव गराउने भए त्यसका लागि सुरक्षा लगायतका सहयोग गर्न सरकार तयार छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै, तर त्यसअघि सरकारले अहिलेका राजनीतिक मुद्दाहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताएका थिए । देउवाले अहिले आफूहरुको आन्दोलन चलिरहेको र केही कार्यकर्ताहरुलाई प्रहरीले पक्रेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले भने ति सबै कुरा छाडेर स्ववियु निर्वाचनमा आउन आह्वान गरेका थिए ।

फागुन १४ मा नभए यस वर्ष चुनाव हुँदैन : त्रिवि पदाधिकारी

बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी गरेको जानकारी गराएका थिए । यस वर्षको फागुन १४ मा स्ववियु चुनाव नभए अर्को वर्षमात्रै हुने उनीहरुले बताएका थिए ।

बैठकमा विश्वविद्यालयका पदाधिकारीको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘यस वर्ष स्ववियु चुनाव नभए विश्वविद्यालयको क्यालेन्डर प्रभावित हुन्छ । त्यसैले फागुन १४ मै गर्नुपर्छ, यो मितिमा नसकिए अर्को वर्ष मात्रै हुन्छ भनेर त्रिविका पदाधिकारीहरुले भन्नु भएको छ ।’

विद्यार्थी नेताहरुले स्ववियु लगायतका निर्वाचन रोक्दा आम युवा विद्यार्थीहरुको पार्टी नेतृत्वप्रति सकारात्मक धारणा नबन्ने भएकाले फागुन १४ मै चुनाव गराउनुपर्नेमा जोड दिएका थिए । ‘२८ वर्षको लोकप्रिय व्यक्ति पनि र आस्थाको मत पनि दुईवटै प्राप्त गर्ने मिश्रित निर्वाचन प्रणालीद्वारा नै फागुन १४ मै निर्वाचन हुनुपर्नेमा हामीहरुको जोड रह्यो,’ अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘समान सहभागीताको ग्यारेन्टी मिश्रित प्रणालीले गरेकाले स्ववियु निर्वाचनमा मिश्रित प्रणाली नै अपनाउनुपर्छ ।’

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री रविन्द्र अधिकारी, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशशरण महत सहभागी थिए ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनिया, रेक्टर प्रा.डा. सुधा त्रिपाठी, रजिष्ट्रार प्रा. डिल्ली उप्रेती र विद्यार्थी कल्याण परिषदका निर्देशक गंगाबहादुर थापा सहभागी थिए ।

यसैगरी विद्यार्थीहरुको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सहभागी थिए ।

स्ववियु निर्वाचनको विषयमा छलफल सकिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै छुट्टै छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment