Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न दाङका सांसदहरुको माग

२२ माघ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यथाशीघ्र सञ्चालनमा ल्याउन दाङका सांसदहरुले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सभापति घर्तीलाई भेटेर सांसदहरु शान्ता चौधरी, रेखा शर्मा, सुजिता शाक्य, मेटमणि चौधरी, कोमल वली, गंगा चौधरी, विष्णु शर्मा र हिराचन्द्र केसीले गत साउनदेखि बन्द अस्पताल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

समितिले उक्त अस्पतालको विषयमा विहीबार छलफल राखेको छ । साउनदेखि तलब नपाएको भन्दै प्रतिष्ठानका कर्मचारीहरु गत माघ २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालको आधारभूत सेवा समेत बन्द भएको छ ।

‘संविधानले मौलिक हक अनुरुप जनताले स्वास्थ्य सेवा सहज रुपमा पाउनुपर्ने कुरा उल्लेख गरेको छ’, सांसद रेखा शर्माले अनलाइनखबरसँग भनिन्, ‘तर, विविध कारणले अस्पतालको आधारभूत सेवासमेत प्रभावित भएकाले सभापतिको ध्यानाकर्षण गराएका हौं ।’

अस्पतालले चर्को शुल्क लिएको भन्दै अदालतमा पनि रिट परेको थियो । उक्त रिटमाथि फैसला गर्दै अदालतले शुल्क बृद्धिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

दाङका सांसदहरुले सभापति घर्तीलाई बुझाएको ध्यानाकर्षण पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छानबिन गरी समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment