Comments Add Comment

सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई

५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र बिहीबार प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सुनाएका थिए ।

यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेकाले उनी स्वतन्त्र सांसदको हैसियतमा थिए । तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसद बनेका छन् । उनको पार्टी समाजवादी पार्टीका तर्फबाट २ जना मन्त्री छन् ।

नेकपा सांसदले दिए धन्यवाद

पूर्वप्रधानमन्त्री भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेकामा नेकपा सांसद विरोध खतिवडाले धन्यवाद दिएका छन् । केही समय अघि उनले संसद बैठकमा डा. भट्टराई बस्ने सिट सही हो भनी प्रश्न उठाएका थिए । त्यतिबेला उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टी एकताको जानकारी निर्वाचन आयोगबाट नआएकाले सिट नमिलेको जानकारी गराएकी थिइन् ।

बिहीबार सांसद खतिवडाले समय लिएर बोल्दै आफूले उठाएको विषय कार्यान्वयन भएकोमा संसद सचिवालयलाई धन्यवाद दिए । उनले अगाडि भने, ‘यो संसद नियमावलीको कुरा मात्र होइन नेपाली संस्कार पनि छ । विवाह भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो, माइती बसेको भन्दा घरमा बसेकै राम्रो हुन्छ । सुरु सुरुमा लाज लाग्छ पछि हट्दै जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment