Comments Add Comment

विषादी प्रयोग गर्न इजाजतपत्र लिनुपर्ने, नलिए १ वर्ष कैद

२७ माघ, काठमाडौं । कृषि उत्पादन बढाउनका लागि विषादी प्रयोग गर्दा अब अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने भएको छ । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो ।

‘जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नुपूर्व केन्द्रबाट इजाजत लिनुपर्ने छ’, विधेयकको दफा ८ मा उल्लेख छ । सो दफाले जीवनाशक विषादीको उत्पादन, निकासी पैठारी, व्यवसायिक प्रयोग, भण्डारण, विक्री वितरण, ओसारपसार, प्याकिङ वा पुनः प्याकिङ वा जीवनाशक विषादी छर्कन चाहनेलाई तीन वर्षसम्मको इजाजतपत्र दिने व्यवस्था गरेको छ । इजाजत लिँदा शर्त पूरा गर्नुपर्ने हुन्छ । शर्त उलंघन गरे इजाजत रद्ध हुनेछ ।

बोटविरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावार, जीव, पशुपंक्षी तथा जनस्वास्थ्यमा हानी पुर्‍याउने रोग किरा, सुलसुले, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्राङ्गारिक, वनस्पति, जैविक तथा रसायनिक वस्तुलाई विधेयकले जीवनाशक विषादी भनेर अर्थ्याएको छ ।

गत माघ २१ गते संसदको कृषि समितिमा सांसदहरुले कृषकले पनि विषादी प्रयोग गर्दा इजाजत लिनुपर्ने व्यवस्था राख्न खोजिएको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा कृषि मन्त्री चक्रपाणी खनालले भने यस्तो व्यवस्थाले कृषकलाई अप्ठेरो पर्न सक्ने स्वीकार्दै यसबारे थप छलफल गर्न सकिने बताएका थिए । विधेयकले कृषकले इजाजतपत्र लिनुपर्छ भनेर प्रष्ट बोलेको छैन ।

सरकारले बिभिन्न २१ प्रकारका विषादी प्रयोगमा रोक लगाएको छ । त्यस्ता प्रतिबन्धित बिषादी आयात, प्रयोग वा बिक्रीबितरण गर्नेलाई एक वर्ष कैद, ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

विधेयकको दफा २१ मा मानव तथा जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रभाव पार्ने विषादी प्रयोगमा प्रतिवन्ध लगाउन सक्ने व्यवस्था गरिएको हो । यसअघिको जीवनाशक विषादी ऐन २०४८ ले पनि प्रतिबन्धित विषादी आयात/निर्यात गर्ने, बिक्री–वितरण र भण्डारण गर्नमा रोक लगाउन सक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार सरकारले बिभिन्न २१ प्रकारका विषादी प्रयोगमा रोक लगाएको हो ।

कृषि मन्त्रालयका अनुसार नेपालमा प्रयोग हुने कुल विषादीको ८५ प्रतिशत व्यावसायिक हरियो तरकारीखेतीमा प्रयोग हुँदै आएको छ । कृषकले खाद्यान्न, नगदेबाली, दालखेती र फलफूलमा समेत रासायनिक विषादीको प्रयोग गर्ने गरेका छन् । कृषकले जथाभावी विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा असर परेकाले कानून बनाएर व्यवस्थित गर्न लागिएको कृषि मन्त्रालयले जनाएको छ ।

विधेयकको दफा ३ अनुसार जीवनाशक विषादी प्रयोग गर्दा संघीय कृषि मन्त्रालयसमक्ष पञ्जिकरण गराउनुपर्नेछ । पञ्जीकरणका लागि प्राप्त निवेदनहरु उपर कृषि मन्त्रालयले आवश्यक छानबिन गरी पञ्जीकरण गरिएका विषादीहरुको नाम नेपाल राजपत्रमा प्रकाशन गर्नेछ । यी प्रकृया पुरा नगरी विषादी प्रयोग गर्नेलाई एक लाख जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान राखिएको छ ।

यस्तै सूचीकृत नभएका जीवनाशक विषादी उत्पादन, आयात÷निर्यात, प्रयोग, भण्डारण तथा बिक्रीबितरण गर्नेलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना, एक महिनासम्म वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

विषादी परीक्षण गर्न प्रयोगशाला

बिधेयकमा जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परिक्षण लगायतका कार्य गर्नका लागि छुट्टै जीवनाशक विषादीसम्बन्धी प्रयोगशाला स्थापना गर्न सकिने व्यवस्था छ ।

छुट्टै प्रयोगशाला स्थापना नभएसम्मका लागि मन्त्रालयको नेपाल सरकारको लगानीमा सञ्चालित वा नीजिस्तरका मान्यताप्राप्त प्रयोगशालाहरुलाई जिम्मेवारी दिन सक्ने विधेयकको दफा २६ मा उल्लेख गरिएको छ । यी सबै गतिविधि तथा जीवनाशक विषादी व्यवस्थापन गर्न आवश्यक नीति निर्धारण गर्नका लागि ‘जीवनाशक विषादी व्यवस्थापन समिति’ गठन गर्ने व्यवस्था छ ।

कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा रहने उक्त समितिमा वातावरण मन्त्रालयका सचिव, कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक, स्वास्थ्य सेवा विभागका प्रमुख, विषादी विशेषज्ञ, वन विशेषज्ञ र कृषक उपभोक्ता मध्येबाट मन्त्रालयले नियुक्त गरेको एक महिलासहित तीन जना सदस्य रहनेछन् ।

उक्त समितिमा विषादी व्यवासायीहरु मध्येबाट एक जना र कानुन मन्त्रालयका सचिव पनि सदस्यका रुपमा रहनेछन् । समितिको सदस्य सचिवमा भने नेपाल सरकारले कृषि सेवा, वाली संरक्षणको क्षेत्रमा कार्यरत राजपज्ञाङ्कित प्रथम श्रेणीको अधिकृतलाई तोक्ने व्यवस्था छ । सदस्यसचिवले व्यवस्थापन प्रमुखको रुपमा कार्य गर्नेछ ।

विषादी विशेषज्ञ, वन विशेषज्ञ र कृषक उपभोक्तामध्येबाट मन्त्रालयले नियुक्त गरेका तीन जना र विषादी व्यवासायीहरुमध्येबाट समितिमा रहने एक जना गरी चार जनाको पदावधी तीन वर्षको हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment