Comments Add Comment

मध्यान्तरमै अस्ताएका एक फुटबलर

काठमाडौं । प्रिमियर लिग क्लब कार्डिफ सिटीमा सम्झौता गरेको ठीक तीन दिनपछि एक फुटबलर चढेको विमान दुर्घटना भएको खबरले फुटबल जगत स्तब्ध बन्यो । जतिबेला उनको रहरको लिगमा उनकै पर्खाइ भइरहेको थियो ।

फ्रेन्च क्लब नान्टेसबाट प्रिमियर लिग क्लब कार्डिफ सिटीमा कीर्तिमानी मूल्यमा अनुबन्धित भएका एमिलियानो सालाको प्रिमियर लिग खेल्ने सपना पूरा भएन । उनका समर्थकको उनलाई प्रिमियर लिगमा हेर्ने इच्छा पनि अधुरै रहृयो । उनी खेल जीवनको मध्यान्तरबाटै अस्ताए ।

नान्टेसबाट बिदा भएर कार्डिफका लागि उडेका साला अवतरण हुन पाएनन् । उनी चढेको विमान दुर्घटनामा पर्‍यो । बेपत्ता भएका उनको शव तीन हप्तापछि समुद्रमुनि भेटियो ।

सालाको निधनले उनको शहर कुलुलु मात्रै होइन विश्वभर रहेका फुटबल समर्थक शोकमा छन् । अझ अर्जेन्टिनाको ग्रामीण क्षेत्र सान्ता फेको कुलुलु शहर त सालालाई स्थानीय ‘हिरो’ का रुपमा नै सम्झन्छ ।

को थिए साला ?

विश्व फुटबलका लागि धेरै स्थापित फुटबलर जन्माएको दक्षिण अमेरिकाकै एक खेलाडी थिए साला । उनले अर्जेन्टिनाको सानो शहरबाट फुटबल सपना देखेर पोर्चुगलको लिग हुँदै फ्रान्सको लिग वान अनि अधिकांश खेलाडीको सपनाको लिग इंग्लिस प्रिमियर लिगमा स्थान बनाएका थिए ।

सन् १९९० को अक्टोबर ३१ मा जन्मेका सालाले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट भने खेल्न पाएनन् ।

१५ वर्षको हुँदासम्म स्थानीय क्लबबाट खेलेका साला त्यसपछि कोर्डोबामा रहेको फ्रान्सिस्कोको क्लबमा गए । सन् २००९ मा उनी स्पेनिस शहर ग्रानाडामा थिए । त्यसपछि पोर्चुगलको जिल्लास्तरीय क्लब एफसी क्रातोमा गए । उनले त्यहाँ मात्रै एउटा खेल खेले र दुई गोल गरे । त्यसपछि पुनः अर्जेन्टिना फर्किए ।

सन् २०१०-११ को सिजनमा उनी २० वर्षको हुँदा फ्रेन्च क्लब बोर्डक्समा अनुबन्धित भएका थिए । उनले तत्कालै सिनियर टिमबाट खेल्न पाएनन् त्यसका लागि सन् २०१२ को फेब्रुअरी ८ सम्म पर्खनु परेको थियो । त्यसपछि पनि उनले क्लबमा आफ्नो स्थान पाउन सकेनन् ।

साला सन् २०१२-१३ ओरलिएन्स, २०१३-२०१४ निओर्ट तथा २०१५ मा काँ क्लबमा लोनमा रहे । त्यसपछि मात्रै उनले आˆना लागि सही क्लब पाए, नान्टेस ।

उनी सन् २०१५ मा नान्टेसमा अनुबन्धित भएका थिए । यो वर्षको जनवरीमा उनी नान्टेसबाट कार्डिफमा अनुबन्धित भए । तर पनि खेल्न पाएनन् । उनले सिनियर करिअरमा २ सय २५ खेलमा ८८ गोल गरे । नान्टेसमा यो सिजन उनी सर्वाधिक गोलकर्ताको सूचीमा थिए । उनले यो सिजन १२ गोल गरे भने दुई गोलका लागि सहयोग गरे ।

कार्डिफले सालालाई जनवरीमा क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । २८ वर्षका साला नान्टेसबाट त्यसैका लागि कार्डिफ आउँदै थिए ।

गजवका मान्छे

सालामा फुटबलमा मात्रै होइन वास्तविक जीवनमा पनि अलि शान्त थिए । किताब पढ्न असाध्यै रुचाउने साला गितार बजाउने शोख पनि राख्थे । समग्रमा उनालाई रुचाउनेहरु उनका सबै गुणबाट प्रभावित थिए । यसैले उनलाई चिन्नेहरु भन्थे, ‘साला असल मान्छे र असल टिममेट हुन् ।’

यसैले त जनवरी ट्रान्सफर विन्डोमा साला कार्डिफ सिटी जाने हल्ला चलिरहँदा पनि उनका समर्थकहरु उनले नान्टेस नछाड्नेमा आशावादी थिए । कतिसम्म भने प्रशिक्षक वाहिद हालिलहोडजिक उनले क्लब छाड्ने विषयमा कुरा गर्न समेत रुचाउँदैन थिए ।

फुटबल विश्लेषकहरु उनी इंग्लिस फुटबलका खेलाडी भएको भए जेमी भार्डी जस्तै हुने बताउँथे । काउन्टर अट्याकमा अब्बल, लचिला र विश्वसनीय खेलाडी । निओर्ट क्लबमा रहँदा त उनलाई कार्लोस टेभेजसँग पनि तुलना गरिएको हुन्थ्यो ।

साला बक्सको बल फिनिसिङ गर्नमा पनि उत्कृष्ट थिए । यसैले उनको फुटबल स्किललाई ‘फक्स इन दि बक्स’ भनेर समेत ब्याख्या गरिन्थ्यो । सेट पिसेसमा हेडिङ गर्ने उनको कला राम्रो थियो । जसले टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका दिन्थ्यो ।

सबैका बीच उनी नान्टेस छाड्ने कि नछाड्ने दोधारमै थिए । प्रिमियर लिगमा कमजोर रहेको कार्डिफमा जानु कति ठीक हो भन्ने बहसमा उनी केन्द्रित भइरहँदा नान्टेसका अध्यक्षले भने १७ मिलियन युरो ट्रान्सफर रकमको माया मार्न सकेनन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment