+
+
Shares

अस्ट्रेलियामा १००० नेपाली विद्यार्थी समस्यामा

समाधान गर्न दूतावास सक्रिय, विद्यार्थीलाई धैर्य रहन आग्रह  

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते १६:०७

सिड्नी । अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ  ।

अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत दुरपदा सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘यो समस्या समाधान गर्न हामी अस्ट्रेलियाका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्क गरिरहेका  छौं ।’

समस्या समाधानमा सहज बनाउन सम्बन्धित राज्यका नेपाली बाणिज्य दूतावासहरु, एनआरएन तथा काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) र पीडित विद्यार्थीहरुसँग आफूले परामर्श पनि गरिरहेको उनले बताइन् ।

छिट्टै उपयुक्त निकास निस्कने आशा व्यक्त गर्दै  उनले पीडित सबै विद्यार्थी तथा उनीहरुका आफन्तहरुलाई धैर्य गर्न आग्रह गरिन् ।

नेपाली बाणिज्य दूतावास न्यू साउथ वेल्सले बिहीबार सरोकार राख्ने सबै पक्षसंग एक बिशेष बैठक राखेको छ भने बिहीबार नै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले पनि विद्यार्थीका समस्याबारे छलफल राखेको छ । त्यस्तै बिहीबार नै सिसाले दुई घण्टाको लागि अस्ट्रेलियाका सरकारी निकायका प्रतिनिधिसँग विद्यार्थीको अन्तरक्रिया राखेको छ  ।

विद्यार्थीहरूको समस्या  हेरेर आफ्ना गतिविधि अगाडि बढाएको काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा)का अध्यक्ष विजय सापकोटाले पनि अस्ट्रेलियाका सरोकारवाला  सरकारी निकाय सक्रिय भएकाले अबको केही दिनभित्र समाधानको बाटो भेटिने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुस्– अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

सिड्नी र ब्रिसबेनमा भएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीको दर्ता आगामी महिनाको अन्तिम हप्ताबाट खारेज हुने निर्णय सरकारी निकायबाट भएपछि त्यहाँ अध्ययनरत  झन्डै एक हजार नेपाली विद्यार्थीको भबिष्य अन्धकार भएको थियो ।  उक्त शिक्षालयको नर्सिंगमा उच्च अध्ययन गर्ने अनुमति नपाउँदा नै विद्यार्थीहरुलाई तल्लो तहमा भर्ना गरिएको थियो ।

ठूलो कमिशनको लोभमा नेपालमा शैक्षिक परामर्शदाताले विद्यार्थीलाई उक्त सस्थामा पढ्न जान सिफारिस गरेका गुनासो विद्यार्थीहरुको छ ।  अन्य बिषयको शैक्षिक संस्था परिवर्तन सजिलो भएकाले समस्या नपर्ला तर, नर्सिङको भने निकै अफ्ठ्यारो भएकाले पनि समस्या बल्झिएको जानकारहरुको भनाइ छ  ।

अस्ट्रेलियाका बिभिन्न सामाजिक अगुवाहरुले पनि विद्यार्थीको समस्या हाल गर्न सबैलाई अनुरोध गरेका छन् । जानकारहरुका अनुसार  विद्यार्थीले ट्युसन सुरक्षण निकायबाट शुल्क फिर्ता पाउने सम्भावना अझै छ भने नर्सिङको उच्च शिक्षा पढ्ने अवसर पाउने नपाउने अन्योलपूर्ण छ ।

यता शैक्षिक परामर्शदाताहरुको सस्था एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिस अस्ट्रेलियाले एक बक्तब्य जारी गरेर आफ्नो संस्थाद्वारा अहिले दर्ता खारेजीमा परेको शैक्षिक संस्थामा सिफारिस गरिएका विद्यार्थी को संख्या न्युन रहेको र उनीहरुलाई बोलाएर आवश्यक परमर्श दिएको बताएको छ । समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न तयार रहेको भन्दै एक्सपोर्टका निर्देशक बद्रि अर्यालले बताए ।

बुधबार सिड्नीमा बसेको नेपाली शैक्षिक परामर्शदाताहरुको एक सस्थाको गोप्य बैठकले यो समस्यालाई सबै मिलेर सम्बोधन गर्ने सहमति भएको बैठकमा सहभागी एक शैक्षिक परामर्शदाताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?