Comments Add Comment

बाघखोरमा फूलेको खुसी : अमलटारी होमस्टे

मसानघाटमा जीवन भरियो, विदेश जानेहरु गाउँ फर्किए

११ फागुन, चितवन । वरपरका मान्छे मर्दा जलाउने, गाड्ने काम हुन्थ्यो नवलपरासीको बाघखोरमा । थारु, मुसहर बोटे जातिका मानिसहरुको सघन बसोवास रहेको यो क्षेत्र आफैंमा पिछडिएको थियो । वनमा जाने, घाँस दाउरा गर्ने, मेलापात गर्ने दैनिकी थियो ।

जंगल किनाराको यो वस्तीका लागि यही नै आफ्नो संसार थियो । बाहिरी दुनियाँसँग कुनै साइनो थिएन । राम्रोसँग लुगा लगाउने चलन पनि थिएन । बालवच्चाहरु स्कुल जाँदैनथे । विद्यालय टाढा थियो । महिलाहरु नयाँ मान्छेसँग बोल्न लजाउँथे । युवाहरु कामको खोजीमा भौंतारिएका हुन्थे । जंगलमा वस्ती आश्रति हुँदा फडानी पनि उत्तिकै थियो । यो चित्र बितेको एक दशकअघिको नवलपरासीको बाघखोर अमलटारीको हो ।

एक दशक अघिको बाघखोर अमलटाँरी र अहिलेको अमलटाँरीमा आकाश जमिनको फरक छ । स्थानीय समुदायको सक्रियतामा थालिएको प्रयासले आज अमलटारीलाई देशकै नमूना होमस्टेका रुपमा देश विदेशमा परिचित बनाएको छ । अमलटारीले नयाँ युगमा पुगेको छ । हिजोआज अमलटारीमा दैनिक एक सय जनासम्म पर्यटकहरु आउने गरेका छन् । महिला, युवा, वृद्धवृद्धाहरु आआफ्नो काममा व्यस्त हुने गरेका छन् ।

यहाँ सबैका परिभाषित काम छन् । अमलटारी होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमशंकर मर्दनिया विगत सम्झिँदै भन्छन् ‘हरियो वन र डब्लुडब्लु एफको सहयोगमा यहाँसम्म आयौं । होमस्टे सञ्चालनका बारेमा बुझन् वर्दिया डल्ला गाउँ पुग्यौं, यहाँ आएर थारु बोटे, मुसहर समुदायलाई कन्भिस गराउनै समस्या भयो ।’

नबुझेकालाई भन्दा पनि बुझेका मान्छेहरुलाई कन्भिस गराउन निकै समस्या भएको अध्यक्ष मर्दिनियाँ बताउँछन् । ‘कतिले मञ्चबाटै नाम नै लिएर गाली गरे, आमा छोरीवेटी विगार्न खोजे पनि भने, तर हामीले आफ्नो मिसन छाडेनौं, कहिले युथसँग वस्ने, कहिले बुढाआमाहरुलाई सम्झाउने, पौढ शिक्षा पढाउने काम गरियो, बुझाउने काम भयो,’ कावासोती नगरपालिकाको उपमेयरसमेत रहेका मर्दनियाले भने. ‘जनताको विश्वास लिएर काम गरे, आज नयाँ युगमा आएका छौं, देश विदेशले अमलटारी चिनेको छ, सोही कारण जनताको प्रतिनिधि पनि भएर नगरपालिका आए ।’

मर्दनिया २०६५ सालमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अमलटारी उपभोक्ता समितिको अध्यक्ष भए । गाउँसँग जोडिएको जंगल उजाडिएको थियो । खुल्ला चरीचरन, चोरी निकासी अधिक थियो । त्यसलाई रोक्ने निकुञ्जको सहयोगमा वन्यजन्तु बासस्थानका लागि ग्रासल्याण्ड, वेट ल्याण्ड, भ्यू टावर जीप सफारी गराउन फायरलाइन निर्माणका काम उनले गरे । स्थानीयहरु वन्यजन्तु, वनजंगल संरक्षणमा सहभागी भए ।

मर्दनिया अहिले नेपालमा नै होमस्टे सञ्चालनसम्बन्धी तालिम दिने व्यक्तिका रुपमा चर्चित छन् । नवलपरासीकै पिपहर सामुदायिक होमस्टे, महेन्द्रनगरको राना थारु होमस्टे, चितवन माडीको शिवद्धार होमस्टे स्थापना र व्यवस्थापनका लागि मर्दनियाले ठूलो योगदान गरेका छन् ।

नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको डण्डा र कावासोतीबाट करीब ७ किलोमिटर दक्षिणमा अमलटारी होमस्टे पर्छ ।

दैनिक एकसय जनाजति नियमित जस्तो पर्यटक हुने गरेका छन् । पहिल्यै बुकिङ गर्नेहरु पनि छन् । सामुदायिक होमस्टे व्यवस्थापनका लागि कार्यालय पनि खोलिएको छ । दुई जनाले त्यहाँ रोजगारी समेत पाएका छन् । आउने पर्यटकले पहिला यही कार्यालयमा गएर इन्ट्री गरेपछि कुन घरमा लैजाने तय गरिदिन्छन् । र, पर्यटकको रेर्कड राख्छन् ।

पर्यटकबाट आउने रकमको १० प्रतिशत अफिस व्यवस्थापनका लागि राख्ने गरिन्छ । मासिक रुपमा होमस्टे सञ्चालकहरुलाई ९० प्रतिशत रकम दिने गरिन्छ । थारू, बोटे र मुसहरको बस्ती रहेको अमलटारीमा ०७० जेठदेखि होम स्टे सेवा शुरू भएको थियो । १८ ओटा घरबाट शुरू भएको होम स्टेमा अहिले २४ ओटा घर पुगेको होम स्टे व्यवस्थापन समितिका व्यवस्थापक धनिराम गुरौंले जानकारी दिए । यसलाई अझैं बढाउँदै लैजाने ३० वटासम्म पुर्‍याउने योजना रहेको अध्यक्ष मर्दनियाले जानकारी दिए ।

भाषा, धर्म संस्कृती संरक्षणमा युवाहरु लागेका छन् । गाउँका हरेक मान्छे अनेक माध्यमबाट जीविकोपार्जन र पेशामा आवद्ध छन् । महिलाहरुले हस्तकलाका सामानहरु तयार गर्ने गरेका छन् । कोही बेसार उद्यम छन् । कोही गैंडा हात्तीको मुर्तीहरु कुद्ने काममा लागिरहेका छन् ।

गाउँमा पहिला एक मात्रैं पसल थियो भने ३३ वटा पसल खुलेका छन् । गाउँमा हमार दीगो पर्यटन सहकारी संस्था पनि स्थापना गरिएको छ । ९८ लाख रुपैंया पूँजी कोषको रुपमा छ । विना धितोमा दुई लाखसम्म ६ प्रतिशत ब्याजमा दिने गरिएको छ । अमलटारी भित्रिने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी स्वदेशी पर्यटक छन् । होमस्टे व्यवस्थापक धनिराम गुरौंका अनुसार सन् २०१८ मा मात्रैं १२ हजार ९ सय ३५ पर्यटक अलमटारी होमस्टेमा आए । त्यसमा नेपाली १२ हजार ४ सय ४०, सार्क देशका ९५, तेस्रो देशबाट ४ सय पर्यटक आएका गुरौंले जानकारी दिए ।

यो बर्षको गत माघ महिनामा मात्रै ४ हजार पर्यटक आएको गुरौंको भनाइ छ । ‘अहिले एकदिन पनि खाली छैन, भ्याईनभ्याई छ,’ व्यवस्थापक गुरौंले भने, ‘यो बर्ष पर्यटकको संख्या अधिक हुने देखियो, हामीले यहाँ नअटाएकाहरुलाई बाहिर पनि व्यवस्थापन गरेका छौं ।’ हरेक वर्ष पर्यटकहरु बढ्दै गएका छन् ।

होम स्टे भएका घरहरुमा २ वटा कोठा छन जसमा ४ जना पाहुना मात्रै बस्न मिल्छ । अट्याच वाथरुम सहित २४ सै घण्टा पानीको व्यवस्था छ । बिजुली बत्ती नभएको बेला उज्यालोको लागी सोलारको व्यवस्था पनी गरिएको छ । एउटा कोठामा एकरातको एकजनाको ५ सय र दुइजना भए शुल्क ६ सय रुपैयाँ तोकिएको छ । प्याकेजभन्दा बढी खानाको अर्डर हुँदा होम स्टे सञ्चालकले थप कमाउने गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्र्तगत रहेर पर्यटन पूर्वाधार विकासको काम गर्दै आएको तारा गाउँ विकास समितीले अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट घोषणा गर्‍यो । अमलटारीले एक लाख नगदसहित वर्ष २०७२ को उत्कृष्ट होमस्टे अवार्ड समेत पायो ।

चितवनबाट नजिकै पर्ने अमलटारी शान्त बसाइ र जंगल सफारी दुबै हिसाबले सौराहाको विकल्प बन्न सक्ने देखिएको हो । साँझपख निकै रमाइलो लाग्छ अमलटारी । युवाहरु खेतीपातीमा लागेका छन् । तरकारी उत्पादनमा जुटेका छन् । उत्पादित अर्गानिक तरकारी पाहुनाका लागि खुवाउने गरिन्छ । बोटे समुदायका लागि १५ वटा घर बनाइएको छ । कृषिका लागि बोरिङ व्यवस्थापन गरिएको छ । नजिकै दुईवटा विद्यालय स्थापना गरिएका छन् ।

होमस्टे मात्र हैन, पर्यटकीय केन्द्र अमलटारीमा मझौला रेष्टुरेण्टदेखि ठूलठूला होटलसमेत खुल्ने क्रम बढेको छ । निकुञ्जभित्रका होटलहरु बाहिर आउन थालेपछि अन्य होटलहरु पनि थपिएका छन् । निकुञ्जभित्र रहेको टाइगर टप्स, टेम्पल टाइगर, मचान कन्ट्री भिल्ला रिसोर्ट देखि नाना होलिडेज रिसोर्ट, आइल्याण्ड टाइगर क्याम्प रिसोर्टसम्मकाले सेवा दिँदै आएका छन् । त्यस्तै यहाँ हिमालय सेञ्चुरी, आदिवासी थारु अतिथि गृहलगायतका मझौला होटलहरुले पनि गुणस्तरीय सेवा दिइरहेका छन् ।

कावासोती नगरपालिकाले अहिले सो क्षेत्रलाई ग्रीनबेल्टका रुपमा विकास गर्ने योजना अनुरुप विरुवा रोप्ने संरचनामा सहयोग गरेको छ । नगरपालिकाले अखेटोपहार बनाउन ५ लाख रुपैयाँ विनियोजन गरेको छ । थारु संग्रहालय निर्माण भएको छ । त्यसमा थारुका सामान राख्न १० लाख रकम विनियोजन गरिएको वडा नं १५ का वडाध्यक्ष देवनारायण महतोले जानकारी दिए । अमलटारीसम्म पुग्ने सडक कालोपत्रे गराउने काम भैरहेको छ ।

के छ होमस्टेको आकर्षण ?

सीमान्तकृत बोटे, मुसहर र थारु जातीको सघन बसोवास रहेको अमलटारीमा उनीहरुको संस्कृति देख्न पाइन्छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । पाहुनाको स्वागत र मनोरञ्जनका लागि थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिन्छ । थारु र बोटे पहिरनमा सजिएका युवायुवतीले राति ८ बजेदेखि २ घण्टासम्म विविध सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिने गर्छन् । एउटा समूह या कसैले ५ हजार रुपैयाँ तिरेपछि सांस्कृतिक कार्यक्रम हेर्न पाइन्छ ।

होमस्टेमा आउने पर्यटकलाई उनीहरूको रोजाइ अनुसारका खाना थारू महिलाले बनाएर खुवाउने गरेका छन् । थारुका मौलिक खाना यहाँका विशेषता हुन् । चिचर, हाँस, लोकल कुखुरा, घुँगीको स्वाद होमस्टेमा लिन पाइन्छ । साँझको खानामा लोकल कुखुरा, हाँस र माछासहित अन्य परिकार खुवाइन्छ भने बिहानको ब्रेकफास्टमा स्थानीय चिचर तथा सोझुवा रोटी खुवाइन्छ ।

केही समय अघिसम्म उजाड रहेको गुऽहीढकाहा मध्यवर्ती सामुदायिक वनलाई अहिले अग्यौलीवासीले संरक्षण गरेर हराभरा बनाएका छन् । वन्यजन्तुको बासस्थानसमेत सुरक्षित बन्दै गएको छ । अमलटारी आउने पर्यटकले जङ्गल सफारीको मजासमेत लिने गरेका छन् । पर्यटकलाई बिहान जंगल सफारी, हात्ती र गाडा सफारी नारायणी नदीमा डुंगा सफारी, फिसिङ्गसमेत गराउने प्रवन्ध मिलाइएको छ । मध्यवर्ती क्षेत्रमा आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटकलाई लोभ्याउँछ ।

आउने बेलामा थारु युवतीबाट न्यायो सत्कार पाएका पर्यटकहरुलाई जानेबेलामा सम्मानका साथ बिदाइ गर्ने गरिन्छ ।

विदेशबाट फर्किए युवा

होम स्टे सञ्चालनमा आएपछि विदेश गएका युवाहरु पनि धमाधम घर नै फर्किन थालेका छन् । युवाहरुले घरको कामका साथ दिन्छन् । पाहुनाहरुलाई खुवाउने खानाको तयारीका लागि परिवारलाई सघाउने गरेका छन् । घरपरिवारसँग नै बसेर विदेश गएर कमाएको भन्दा धेरै रकम यही नै कमाउँदै आएको वडा नं १५ का वडाध्यक्ष देवनारायण महतोले बताए । ‘परिवारसँगै वस्न पाएका छन् बालबच्चा पढाएका छन्, एक ढंगले भन्दा खुसी फर्किएको छ’ वडाध्यक्ष देवनारायण महतोले भने ।

स्थानीय नन्दबहादुर महतोले विदेशमा गएका युवाहरु धमाधम गाउँ नै फर्किएको बताए । स्थानीय धनमाया महतोका श्रीमान ६ बर्ष बिदेश बसेर फर्किए । अहिले घरमा नै बसेर पसल चलाउने गरेका छन् । पर्यटकहरुले उनकै होलसेल पसलमा आफ्ना लागि आवश्यक समानहरु किन्ने गरेका छन् । ‘अब विदेश जानुपर्दैन, यहीँ नै बसेर विदेशमा जति पैसा कमाउन सकिन्छ’ धनमायाले भनिन्, ‘मैले होमस्टे व्यवस्थापन कार्यालयमा काम गरेकी छु बुढाले घरको, अरु पनि युवाहरु विदेशबाट गाउँ फर्किएर यही नै व्यवसाय गरिरहेका छन् ।’

युवाहरु गाउँ फर्किएपछि गाउँको विकास निर्माण, थारु, बोटे, मुसहर संस्कृतिको संरक्षणका साथै मध्यवर्ती क्षेत्रको सुरक्षा र संरक्षणमा समेत जुटेको स्थानीय नन्दबहादुर महतोले बताए ।

महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास

होमस्टे सञ्चालनमा आएपछि महिलाहरुको जीवनले नयाँ मोड लिएको छ । केही वर्षअघिसम्म घरभित्रैको काम गर्ने र मेलापात मात्रै जाने महिलाहरु अहिले होमस्टेमा नै पाहुनाको स्वागत सत्कारका लागि जुट्ने गर्छन् । नत जंगल नै जानुपर्छ, न त अरुको मेलापात नै ।

घरमा नै बसेर सुखसुविस्तापूर्वक उनीहरुले पैसा कमाइरहेका छन् । पहिला आफ्नो नामसमेत भन्न लजाउने महिलाहरु अहिले विदेशी पाहुनासँग पनि अंग्रेजीमा कुरा गर्न सक्ने भएका छन् । त्यसका लागि आवश्यक तालिमहरु प्नि दिइएको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले जानकारी दिए ।

महिलाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकास सम्वन्धी कार्यक्रमहरु सघनरुपमा भैरहेका हुन्छन् । निरक्षर महिला एवम् पुरुषहरुका लागि प्रौढ कक्षा पनि सञ्चालन गर्ने गरिएको छ । पहिला पहिला महिलाहरु एक्लै एक्लै काम गर्दथे अहिले समूहमा मिलेर काम गर्ने भएका छन् ।

होम स्टे नम्बर ११ कि हिरा कुमारी महातोले होम स्टेबाट जीवनमा ठूलो परिवर्तन आएको बताउँछिन् । दुई लाखसम्म विना धितो ऋण पाउने भएपछि अहिले महिलाहरुले आफूले चाहेको काम गर्न सक्ने अवस्था आएको छ । नजिकैको नारायणी नदीमा माछा मारेर, अरुको मेलापात र घाँस दाउरा गरेका महिलाहरु अहिले घरमा नै बसेर महिनाको ३० देखि ४० हजारसम्म आम्दानी गर्न सक्ने भएका छन् ।

यसले छोराछोरी पढाउन घरखर्च चलाउन निकै सजिलो भएको छ । जन्मेदेखि लगाउँदै, खाँदै र बनाउँदै आएको कुरा आज आम्दानीको प्रमुख माध्यम बनेको छ । स्थानीय महिला धनमाया भन्छिन्, ‘होमस्टेले सबैमा खुसी फर्काएको छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment