Comments Add Comment

अनमोलदेखि प्रदिपसम्मः जसका गीत विदेशमा खिच्दा पनि चलेनन्

केही दिन अगाडि नायक अनुप विक्रम शाही र नव–कलाकार सन्दिपा लिम्बुको मुख्य भूमिका रहेको चलचित्र ‘कब्स’को गीत सार्वजनिक भयो । टर्कीमा खिचिएको यो गीतले दर्शकको ध्यान भने तानेन । यो गीत खिच्न मात्र यसको निर्माणपक्ष विदेशी लोकेशनमा पुगेको थियो । तर, गीत हेर्दा दर्शकले खासै आँखामा शित्तलता पाएनन् ।

नेपाली चलचित्रका मेकरलाई अहिले चलचित्रको पर्दामा विदेशको लोकेशन देखाउनै पर्छ भन्ने सोच पलाउन थालेको छ । चोभारमा सिमित रहेको चलचित्रको लोकेशन मनाङ, मुस्ताङ, रारा हुँदै विदेशका विभिन्न रमणिय लोकेशनमा पुग्नु सुखद कुरा हो ।

तर, के विदेशी लोकेशनमा खिच्दैमा चलचित्र र चलचित्रको गीतले दर्शक तान्छ त ? भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिदैन’ बोलको गीत सार्वजनिक भयो । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडीलाई भियतनामको लोकेशनमा लगेर निर्माताले यो गीत खिचे । तर, चलचित्रको अडियो यति कमजोर बन्यो कि दर्शकले भिडियोमा पनि खासै ध्यान दिएनन् ।

चलचित्र ‘कृ’ रिलिजको समयमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई स्कटल्याण्डमा पुर्याएर निर्माता सुवास गिरीले एउटा गीत खिचे । यो गीत सार्वजनिक भएपछि चर्चा भन्दा बढी आलोचना भयो । चलचित्र रिलिज भन्दा एक साता अगाडि यसको टिम विदेश पुग्दा नेपालको प्रमोशन पनि सुस्तायो ।

गीतको अडियो कमजोर भन्दा यसको भिडियोले पनि कुनै चमत्कार गर्न सकेन । बरु, चलचित्र हेर्नेले यो गीतको आवश्यकता नै थिएन भनेर आलोचना गरे । नेपालमै खिचिएको ‘यति यति पानी’ले चर्चा पाउँदा ‘कृ’को स्कटल्याण्डको लोकेशनमा खिचिएको गीतमा दर्शकको मन बसेन ।

नेपाली चलचित्रका मेकरहरु अहिले कुन कुरामा पैसा खर्च गर्ने भन्ने नवुझ्दा अनावश्यक कुरामा बढी खर्च गरिरहेका छन् । जसले गर्दा, चलचित्रको लगानी त बढेको छ नै, विदेशी लोकेशनको ह्याङले कथावस्तुसँग दुरी बढाउँदैछ ।
बलिउडमा नै हेर्ने हो भने पनि, विदेशी लोकेशनमा खिचिएका चलचित्र भन्दा भारतकै गाउँमा खिचिएका चलचित्रले बढी आम्दानी गरेका छन् ।

यसैले कुनै पनि चलचित्रका लागि लोकेशन पहिलो प्राथमिकतामा पर्दैन । पहिले, त्यो गीतको आवश्यकता चलचित्रमा कती छ भन्ने वुझ्न आवश्यक छ । दोश्रो, गीतको अडियो कत्तीको शक्तिशाली छ भन्ने पनि वुझ्न आवश्यक छ । यसपछि, गीतले खोजेको लोकेशनमा खिच्दा त्यसले फाइदा गर्छ ।

विदेशमा खिचिएका गीत चलेकै छैनन् भन्ने होइन । थुप्रै नेपाली चलचित्रका गीत विदेशी लोकेशनमा खिच्दा शित्तल देखिएका छन् । तर, पहिले त्यसको अडियो र कोरियोग्राफी पनि उत्कृष्ट हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment