Comments Add Comment

उद्योगी र बिक्रेताको आन्दोलनले बजारमा ग्यासको कृत्रिम अभाव !

Photo Credit : फाइल फाेटाे

१४ माघ, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ ।

बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् ।

बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा राख्न थालेपछि बजारमा ग्यासका अभाव देखिन थालेको छ ।

८ फागुनमा नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धि लगायतका १० बुँदे माग पूरा गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो ।

संघले घोषणा गरेको आन्दोलनमा बिक्रेताले पनि समर्थन जनाएका छन् । ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश श्रेष्ठ बजारमा सहज रुपमा बिक्रीवितरण भइरहेको दाबी गर्छन् ।

सरकारले माग पूरा नगराएको अवस्थामा भने स्वतः बिक्री ठप्प हुने उनको चेतावनी छ ।  एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी भने पूर्व घोषणा अनुसार नै आफूहरु चल्ने बताउँछन् ।

‘माग पूरा नभए हामीले ३० गतेदेखि बिक्री ठप्प पार्ने घोषणा गरिसकेका छौं, त्यो भन्दा अघि नियमितजस्तै बिक्री वितरण भइराख्छ’, उनले भने । तर, बजारमा भने ग्यास उद्योग र बिक्रेता संघका अधिकारीले भने जस्तो अवस्था छैन ।

नेपाल आयल निगमका अनुसार भारतबाट अहिले दैनिक ११ सय मेट्रिक टन एलपी ग्यास आयात भइरहेको छ ।  सामान्यतः मासिक ३६ हजार मेट्रिक टन ग्यास (झण्डै ७७ हजार सिलिण्डर) आयात हुने गरेको निगमका कार्यकारी निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले अनलाइनखबरलाई जानकारी दिए ।

यसपालीको जाडो (जनवरी) मा माग बढेर ४० हजार मेट्रिक टन पुगेको थियो । जुन हालसम्मकै उच्च माग भएको गोइतले बताए ।  सामान्यतः मुलुकभर दैनिक ८० हजार सिलिण्डरको माग हुने गरेको छ । संघका अध्यक्ष भण्डारी माग अनुसार नियमित जस्तै ग्यास सिलिण्डर बजारमा पठाइरहेको दाबी गर्छन् ।

तर, बोटलिङ कम्पनी र बिक्रेताले बजारमा कृ किृत्रिम अभाव सिर्जना गराएको निगमका उच्च अधिकारी बताउँछन् । ३० गतेपछि कालोबजारी गर्न बिक्रेताले होल्डिङ गर्दा बजारमा उपभोक्तालाई सास्ती हुन थालेको ति अधिकारीले बताए ।

अत्यवश्यक सेवामा उद्योगी-बिक्रेताको मनपरी रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए । ‘वर्षेनी कमिसन वृद्धि गर्न माग गर्दै राज्यलाई चुनौती दिने ? मुनाफा धेरै नपाए बिक्री रोक्छु भन्दै सरकारलाई धम्की दिएर उपभोक्तालाई मारमा पार्न पाइन्छ?’, ति अधिकारीले प्रश्न गरे ।

बजारमा भएका ग्यास डिलरको प्रमाणिकरण नहुँदा पनि समस्या आउने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास बिक्रेताहरुको लगत संकलन गर्ने बताएपनि त्यो काम अघि बढेको छैन ।

किराना, फलफूल, तरकारी पसलेले समेत ग्यास बिक्री गर्दा बेथिती बढेको छ । तोकिएको बिक्रेतालाई मात्र ग्यास सिलिण्डर बेच्न दिने भनिएपनि हुन सकेको छैन ।

नेपाल एलपी ग्यास उद्योग संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता/वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने लगायततका १० बुँदे माग अघि सारेको छ ।

यदि आˆना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने उनीहरुको घोषणा छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने उद्योगी-व्यवसायीको चेतावनी छ ।

यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्दगरी आन्दोलनमा उत्रने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment