Comments Add Comment

‘भारत–पाकिस्तान तनावबारे नेपालले मुख खोल्ने बेला भयो’

१५ फागुन, काठमाडौं । केही दिनदेखि विकसित भारत र पाकिस्तानबीचको तनावपूर्ण घट्नाक्रमका विषयमा नेपालले बोल्नुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरूले बताएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मात्रै होइन, छिमेकी देशसँग जोडिएको देशको द्वन्द्वको विषयमा नेपालमा मौन बस्न नहुने उनीहरूको सुझाव छ ।

दक्षिण एसियाको सबैभन्दा पुरानो देशको नाताले पनि नेपालले यो क्षेत्रको द्वन्द्वको विषयमा चुप लागेर बस्न नहुने पूर्वपरराष्ट्रमन्त्रीहरुको धारणा छ ।

प्रस्तुत छ, पूर्वपरराष्ट्र मन्त्रीहरूको धारणा उनीहरूकै शब्दमा

‘दुबै देशसँग सम्पर्कमा बस्नुपर्छ’

–महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्रमन्त्री

भारत र पाकिस्तानबीच जुन विवाद देखिएको छ, यो नयाँ समस्या होइन । भारत स्वतन्त्र भएर पाकिस्तान बनेको बेलादेखिकै विवाद हो । त्यतिबेला सीमाना निर्धारण गरेको भए तुष बाँकी रहने थिएन । भारत र पाकिस्तान दुबैले जुन जमीनमाथि दाबी गरिरहेका छन्, त्यसमा तेस्रो समूह पनि जन्मिसकेको अवस्था छ । त्यो समूह दुबै देशमा बस्न होइन, छुट्टै राज्य चाहन्छ ।

यसको अर्थ, भारत र पाकिस्तान दुई देश मिलेर मात्रै पनि यो समस्या समाधान हुने देखिँदैन । दुबै आणविक शक्ति भएका देश छन् । तर, उनीहरूले बम, गोला–बारुद पड्काएर समस्या समाधान हुँदैन । टेबुलमा बसेर दुई पक्षीय छलफल समाधान खोज्नुपर्छ ।

दुबै देश सार्कका सदस्य हुन् । सम्मेलन गर्ने जिम्मेवारी पाकिस्तानको छ । अहिलेसम्म नेपाल अध्यक्ष छ । मित्रहरू र सार्क क्षेत्रभित्र आएका विवाद भएकाले पनि हामीले समाधान होस् भन्ने चाहनु अन्यथा होइन । नेपाल शान्तिपूर्ण ढंगबाट दुबै देशसँग सम्पर्कमा रहनुपर्छ । उनीहरूले आवश्यक ठान्यो भने नेपालले सहजकर्ताको भूमिका पनि खेल्नुपर्छ ।

‘नेपालले भावनात्मक नेतृत्व गर्नुपर्छ’

–रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री

भारत र पाकिस्तान विभाजनसँगै जन्मिएको कास्मिर समस्यालाई इतिहासले अनिर्णित अवस्थामा छाडेको मुद्दा हो । दुबै देशका तत्कालीन नेतृत्वले दुरदर्शिता र परिपक्वता देखाउन नसक्दा यो बोझ चौथो पुस्तासम्म पनि कायम रहेको छ ।

भारत पाकिस्तानबीचको जन्मँदादेखिको शत्रुतापूर्ण सम्बन्धले गर्दा दक्षिण एशियाको विकास अवरुद्ध छ । क्षेत्रीय संगठन सार्क पनि मृत अवस्थामा छ । नेपाल दक्षिण एशियाको सबैभन्दा पुरानो राष्ट्र हो । सार्कको राजधानी पनि नेपाल नै हो । संयोगले अहिले पनि सार्कको अध्यक्ष नेपाल नै छ । यस्तो अवस्थामा अध्यक्ष नेपालले आफ्ना दुई सदस्यहरूबीचको द्वन्द्व साम्यहोस, दुई देशबीच विश्वास कायम होस् भन्ने उद्देश्य राखेर भावनात्मक नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।

‘वार्ताबाट निकास खोज्न सुझाव दिउँ’

डा. प्रकाशचन्द्र लोहनी, पूर्वपरराष्ट्रमन्त्री

आणविक हतियार भएका देशहरूबीच द्वन्द्वको अवस्थामा आउनु कसैका लागि पनि सुखद कुरा होइन । भारत र पाकिस्तानमा देखिएको घटना चर्किँदै गयो भने त्यसको असर दक्षिण एसियाली देशमा पर्छ ।

दुबै देशले क्रिया र प्रतिक्रियामा गएर द्वन्द्वको दुश्चक्रमा पार्नुहुँदैन । मलाई त्यस्तो गर्ला जस्तो पनि लाग्दैन । भारत पाकिस्तानको उच्च नेतृत्व परिपक्व र अनुभवी भएकाले पनि स्थितिलाई सत्यानासतिर जान दिँदैनजस्तो लाग्छ । दुई देशबीचको कलहको असर नेपालमा नपर्ने कुरै भएन । सिंगो दक्षिण एशियामै प्रभाव पर्ने विषयमा नेपालले मुख खोल्न ढिलो गर्नु हुँदैन । दुबै देशलाई वार्ताबाट समाधान खोज्न नेपालले सुझाव दिनुपर्छ ।

‘आतंकवादको विपक्षमा बोलौं’

डा. प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री

भारत र पाकिस्तानबीचमा देखिएको तनावको वास्तविकता के हो भन्ने केही दिनमा खुल्दै जाला । काश्मिर विवादबारे हामी सबै जानकार नै छौं । तर, कुनै पनि देशले आतंकवादलाई प्रोत्साहन र संरक्षण गर्नुहुँदैन ।

कुनै पनि देशले आफ्नो भूमि आतंकवादीलाई प्रयोग गर्न दिनुहुँदैन । अहिले देखिएको द्वन्द्वको मूल कारण आतंकवाद हो भन्नेमा सन्देह छैन । आतंकवादीले हमला गर्दा कसैले आत्मरक्षा गर्छ भने त्यसको विरोध गर्नु जरुरी छैन । नेपाल पनि आतंकवादको विरुद्धमा उभिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment