Comments Add Comment

एउटा गुच्चाका लागि चार किलोमिटर दौडिन्थेँ

नेपाल आर्मीले दौडाएको सोमबहादुर कुमाल

एथलेटिक्समा राष्ट्रिय प्रतियोगिताहरु जितिरहँदा, कीर्तिमान बनाइरहँदा, अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गरिरहँदा मलाई आफ्नो जीवनलाई पछाडि फर्केर हेर्न मन लाग्छ ।

खेलाडी बन्छु भनेर त कहिल्यै सोचेकै थिइनँ । विद्यालय पढ्ने समयसम्म परिवारलाई विभिन्न काममा सघाउँदै गर्दा नै मभित्रको खेलाडी हुर्किएको हो । पाखा-पखेरामा वारपार गरिरहँदा मेरो खेलाडी जीवनको पूर्वतयारी भइरहेको रहेछ । त्यो समय भारी बोक्नेदेखि खेत खन्नेसम्मका काम गरिन्थ्यो । यस्ता काममा शारीरिक परिश्रम गर्नुपर्ने हुँदा शरीर पनि बलियो हुन्थ्यो ।

त्यसैले कहिलेकाहीँ यसो सोच्दा गाउँघरमा दैनिक श्रम गरिरहने कति सोमबहादुरहरु अवसर नपाएर बसिरहेका होलान् जस्तो लाग्छ ।

****

मेरो घर गोरखाको एघारकिलो भन्ने ठाउँमा पर्छ । गाउँबाट खेलाडी बन्ने त म नै एक्लो हुँला । अहिले एथलेटिक्स खेलाडी बन्न सक्नुमा मेरो बाल्यकालको हुर्काइका केही कुराहरु पनि जोडिन आउँछन् ।

स्कूल पढ्दा पनि एकैपटक लैजाँदा किताब भारी भएको जस्तो लागेर हाफ छुट्टीसम्मको किताब मात्र लिएर जान्थेँ, हाफछुट्टीमा दौडिँदै घर आएर खाजा खाएर बाँकी किताब लैजान्थेँ

सानो बेलामा धेरैले खेल्ने खेल त फुटबल नै होला । मोजाभित्र कागज पोको पारेर हामी बल बनाउँथ्यौँ । साथीहरुसँग त्यही बल रमाएर खेलिन्थ्यो । पानीमा भिजेर गह्रुँगो भएको मोजाको बल हान्ने बानीले मेरो खुट्टा बलियो हुँदै गएको थियो ।

गाउँमा गुच्चा खुब चल्थ्यो । आफूसँग गुच्चा किन्ने पैसा नहुने । किन्न पनि झण्डै दुई किलोमिटर टाढा पुग्नुपर्थ्यो । सबैलाई त्यति बाटो हिँड्ने जाँगर कहाँ हुनु ।

म भने दौडिँदै गएर गुच्चा किनेर फर्कन सक्थेँ । त्यसैले पैसा हुने साथीहरुको लागि गुच्चा किन्न म गइदिन्थेँ । पाँचवटा किनेर ल्याइदिए वापत मलाई एउटा गुच्चा दिन्थे । त्यसरी नै त्यो समय गुच्चा खेल्ने रहर पूरा गरिन्थ्यो । त्यही रहरले मेरो दौड पनि राम्रो भइरहेको थियो । मेरो बाल्यकाल त्यसरी नै बित्यो ।

महेन्द्र उच्च माध्यमिक विद्यालयमा पढेँ । स्कूल पढ्दा पनि एकैपटक लैजाँदा किताब भारी भएको जस्तो लागेर हाफ छुट्टीसम्मको किताब मात्र लिएर जान्थेँ, हाफछुट्टीमा दौडिँदै घर आएर खाजा खाएर बाँकी किताब लैजान्थेँ । त्यसले गर्दा झण्डै एक किलोमिटरको बाटोमा मेरो दिनहुँ आउजाउ हुन्थ्यो ।

स्कूलमा पनि बेलाबखत दौड प्रतियोगिता भइरहन्थ्यो । तर मैले कहिल्यै भाग लिएकै थिइनँ । अरु कुदेको भने खुब चाख मानेर हेरिरहन्थेँ । कस्तो घोडा जस्तो कुदेको होला जस्तो लाग्थ्यो । म पनि त्यसरी दौडन सक्छु होला त भन्ने सोच्थेँ । तर १९ वर्षको हुँदासम्म पनि मैले कुनै पनि प्रतियोगितामा भाग लिएकै थिइनँ ।

गाउँको साधारण केटो खेलाडी बन्छु, यहाँसम्म आउँछु भनेर मैले नै सोचेको थिइनँ भने अरुले त कसरी विश्वास गर्नू ! अहिले टेलिभिजनमा, समाचारहरुमा मलाई देख्दा साथीभाइहरु पनि दंग पर्छन् । बुबाआमासँग पनि ‘तपाईंको छोराले धेरै राम्रो गरिरहेको छ,’ भनिदिनुहुन्छ । त्यसले बुबाआमा पनि दंग हुनुहुन्छ ।

हाम्रो साधारण परिवार हो । बुबा केही समय वैदेशिक रोजगारीमा युएई र भारत जानुभयो । खेति किसानी नै हाम्रो मुख्य पेशा हो । त्यसैले सानो बेलामा धेरै काम गर्नुपर्ने हुन्थ्यो । भारी बोक्ने र खेतिपातिका सबै काम गरिन्थ्यो । दरौँदी तरेर लामो बाटो पनि हिँडेर नै जानुपर्ने हुन्थ्यो । ती दिनहरुमा गरेको मेहनत अहिले काम लागिरहेको छ ।

****

नेपाली सेना पहिलेदेखि नै मन पर्थ्यो । बन्दुक बोकेर लाइनमा हिँडेका सेना देख्दा आफूलाई पनि त्यस्तै बन्ने रहर लाग्ने । सेनामा भर्ति हुन २०६८ सालमा पहिलोपटक प्रयास गरेँ, तर त्यस बेला सफल भइनँ । अर्को वर्ष सेनामा प्रवेश पाएँ ।

सेनामा भर्ति भएपछि गणभित्र हुने छनोटबाट खेलमा प्रवेश गरेँ । एकपटक बाहिनी खेलकुद हुने बेलामा दाइहरु अभ्यास गरिरहनु भएको थियो । उहाँहरुसँगै आफू पनि दौडौँ जस्तो लाग्यो ।

‘दाइ म पनि दौडिन्छु नि’ भनेँ । उहाँहरुले ‘ल दौड न त हेरौं’ भन्नुभयो ।

पहिलो प्रयासमै मैले बाहिनी पृतनामा पहिलो भएकाहरुलाई हराइदिएँ । त्यसपछि हाम्रो कमाण्डरले भन्नुभयो, ‘तँ त मज्जाले दौडिदो रहेछस्, अब खेल परेडमा निस्की, भोलि छनोट छ, दौडिन आइज ।’

उहाँले त्यति भनेपछि मलाई त के चाहियो र ? भोलि दौडिन पाइने भइयो भनेर मख्ख परेँ । ओहो भोलि के होला ! पहिलोपटक म दौडिँदैछु जस्तो पनि लाग्यो । एकदमै उत्सुक भएँ । जसरी भए पनि राम्रो गर्छु भन्ने सोचेँ ।

मैदानमा उत्रिँदा सुरुमा त डर लागेको थियो । तर दौडन थाल्दा डर सबै हरायो । बाहिनीमा भएका सबै खेलाडीलाई हराएर पहिलो भएँ ।

त्यसपछि बाहिनीबाट पृतना हुँदै आर्मी क्लबमा आएँ । आर्मी लेभलमा आउँदा यहाँको माहोल देखेर म छक्क परेँ । असाध्यै रमाइलो लाग्यो । मैदान त्यस्तै राम्रो, सबै उत्कृष्ट खेलाडीहरु । राष्ट्रिय टिममा रहेका उनीहरु दौडिरहेका थिए । आफू पनि यसरी नै राष्ट्रिय टिममा कहिले पुग्छु होला भन्ने सोचेँ । मेहनत गरे सम्भव छ जस्तो पनि लाग्यो । मनले हौसला दिइरहेको थियो ।

****

घर परिवारमा दौडने पनि खेल हुन्छ भन्ने कसैले बुझेका थिएनन् । दौडने मान्छेलाई श्वास प्रश्वासको समस्या हुन्छ भनेर उहाँलाई कसैले भनिदिएछ । त्यसैले सुरुमा त आमा चिन्तित हुनुभयो । भो बाबु नदौड भन्नुहुन्थ्यो । मलाई भने नेपालकै पहिलो हुने महत्वाकांक्षा जागिसकेको थियो । आर्मीमा त जितेँ, अब राष्ट्रिय स्तरमा नै जित्नुपर्छ भन्ने लक्ष्य बनाएको थिएँ ।

म आठ सय मिटर दौडमा दोस्रो भएँ र आर्मी क्लबमा छिरेँ । मैले त्यतिबेला मुक्ति खड्कालाई हराउन सकिनँ । ०७२ सालमा १२ औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि भएको प्रतियोगितामा भने मैले मुक्तिलाई पहिलोपटक हराएँ

२०७० सालको भदौमा मैले आर्मीको खेलकुदमा भाग लिनुअघि जित्न सक्दैनस् भन्नेहरु धेरै थिए । म भने नजिते पनि ठीकै छ, कोसिस नै नगरी कसरी सफल भइन्छ र ! भनेर आफूले सक्ने मेहनत गर्ने सोचिरहेको थिएँ ।

नभन्दै म आठ सय मिटर दौडमा दोस्रो भएँ र आर्मी क्लबमा छिरेँ । मैले त्यतिबेला मुक्ति खड्कालाई हराउन सकिनँ । त्यही समय कीर्तिमानी धावक धनिराम चौधरीसँग अभ्यास गर्न पाएको थिएँ । उहाँले सिकाएपछि मेरो खेलमा धेरै सुधार हुँदै गयो ।

दुई वर्षसम्म म दोस्रोबाट उक्लिन सकिनँ । पहिलो हुन जति नै मेहनत गरे पनि सफल हुन सकेको थिइनँ । आर्मी क्लबमा आएको दुई वर्षसम्म खुट्टा दुख्ने समस्या पनि थियो । त्यसैले मुक्ति जस्तो बलियो खेलाडीलाई हराउन मेरो मेहनत पुगिरहेको थिएन ।

आर्मी क्लबमा परेको दुई वर्षपछि ०७२ सालमा १२ औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि भएको प्रतियोगितामा भने मैले मुक्तिलाई पहिलोपटक हराएँ । त्यो बेला मैले आठ सय मिटर र चार सय मिटर दुवैमा स्वर्ण पदक जितेको थिएँ । त्यो समयदेखि आर्मीका प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा चार सय र आठ सय मिटर दौडमा लगातार उत्कृष्ट हुँदै स्वर्ण जितिरहेको छु ।

पहिलो पटक स्वर्ण जित्दा असाध्यै खुशी लागेको थियो । त्यो गर्वको क्षणमा पाएका मेडलहरु अहिलेसम्म हेर्दा पनि ऊर्जा मिल्छ । घरको भित्तामा मेडलसँगै आफूलाई राम्रो लागेका तस्वीरहरु सजाएर राखेको छु । बेला-बेला यसो भित्तामा हेर्दा मलाई खेलाडीको रुपमा सबैले धेरै हौसला दिएका छन् ।

****

राष्ट्रिय स्तरमा पहिलो भएपछि अन्तर्राष्ट्रिय स्तरमा कस्तो होला भनेर सोच्न थालेको थिएँ । १२ औँ दक्षिण एसियाली खेलकुदको आठ सय मिटर दौडमा त्यो अनुभव पनि लिन पाएँ । पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा जाँदा खेलाडी भनेको के हो भनेर बल्ल बुझेँ ।

हाम्रोमा तयारी क्याम्प ४५ दिनको थियो । त्यतिले त नपुग्ने रहेछ । हरेक समय अभ्यासमा नै रहनुपर्ने रहेछ भन्ने बुझेँ । पदक नजिते पनि आफ्नो समयमा सुधार भने गरेको थिएँ । आठ सय मिटर दौड १ मिनेट ५५ सेकेण्डमा पूरा गरेको थिएँ । नेपालमा हुँदा १ मिनेट ५६ सेकेण्डमा गरिरहेको मैले एक सेकेण्ड मात्र सुधार गरे पनि मैले अझै राम्रो गर्न सक्थेँ भन्ने लागिरहेको थियो ।

भारतमा भएको दक्षिण एसियाली खेलकुदपछि लगातार अभ्यासमा ध्यान दिइरहेँ । भारतकै लखनउमा भएको इन्डियन ओपन एथलेटिक्स च्याम्पियनसिप र ब्रुनाईमा भएको ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा पनि सहभागी भएँ ।

भारतमा पदक नजिते पनि ब्रुनाइमा आठ सय मिटरमा स्वर्ण र चार सय मिटरमा रजत पदक जितेको थिएँ । माल्दिभ्समा भएको प्रतियोगितामा पनि आठ सय र चार सय मिटर दुवैमा स्वर्ण जितेको थिएँ । नेपालको झण्डा लिएर विदेशी भूमिमा स्वर्ण जित्दाको खुशी शब्दमा बयान गर्न कठिन हुन्छ ।

****

अन्य देशमा अभ्यास र सुविधाहरु राम्रो हुने हुनाले उनीहरुको प्रदर्शन राम्रो भइरहेको हुन्छ । हामी भने जे छ त्यसमा नै भिडिरहेका हुन्छौं । नेपालमा खेलाडीहरु प्राकृतिक रुपमा नै बलिया हुन्छन् जस्तो लाग्छ ।

हामी यति महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा पनि तयारीमा कति बेवास्ता गर्छौं भन्ने कुरा एसियाली खेलकुदका बेला मलाई परेको घटनाबाट पनि थाहा हुन्छ

मेरो अन्तर्राष्ट्रिय सहभागिताको बिर्सनै नसक्ने अनुभव इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद पनि हो । त्यसको छनोटको लागि हामी तीन महिना क्याम्पमा बसेका थियौं । अहिलेसम्मकै लामो समयको क्याम्प थियो त्यो ।

१५ दिन त म टाइफाइडले थलिएँ । त्यसैले ३० दिन मात्रै क्याम्पमा बस्न पाएँ । क्याम्पमा बसेपछि छनोटको बेला मैले दिएकै समयमा दौड पूरा गरेको थिएँ । त्यही पनि सीमित कोटा भएकाले म छनोटमा पर्न सकिनँ भन्ने थाहा पाएँ । गुरुहरुले दिएको समयमा दौड पूरा गरेको भए पनि छनोटमा पर्न सकिनँ ।

बल्लतल्ल आएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुन नपाएपछि असाध्यै निराश भएँ । छनोट नभए पनि आर्मीमा बसेर नियमित अभ्यास भने गरिरहेँ । फलस्वरुप एसियाली खेलकुदमा म पनि जान पाउने भएँ । यसमा अब मैले झनै राम्रो गर्नुपर्छ भन्ने लागिरहृयो । त्यतिबेला कोलकातामा गएर एक महिना अभ्यास पनि गर्न पाएँ । बाहिर अभ्यासका लागि असाध्यै राम्रो वातावरण हुन्छ ।

कोलकाताको गर्मीमा मैले अभ्यासमा कठोर मिहिनेत गरेँ । एसियाली खेलकुद आउन एक हप्ता बाँकी थियो । त्यहाँबाटै इन्डोनेसिया जान पाएको भए असाध्यै राम्रो हुने थियो, तर त्यो सम्भव भएन । नेपाल आएर नै उता जानुपर्ने भयो । नेपाल फर्किँदा गाडीको यात्रा लामो समय गरेको भएर स्टामिना धेरै नै कम भएको थियो । खानपानहरु केही पनि बाटोमा मिल्ने कुरा नै भएन ।

नेपाल आएपछि भारतमा निकालेको टाइमिङ पनि बिगि्ररहेको थियो । बाटोमा केही खान मन नलाग्ने भइरहेको थियो । सोचेको जस्तो गर्न सकिँदैन अब भनेर मनमा डर लागिरहेको थियो ।

हामी यति महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा पनि तयारीमा कति बेवास्ता गर्छौं भन्ने कुरा एसियाली खेलकुदका बेला मलाई परेको घटनाबाट पनि थाहा हुन्छ ।

जसोतसो एसियाली खेलकुदमा सहभागी हुन गइयो । म चार सय र आठ सय मिटर दौडमा सहभागी हुँदैछु भन्ने जानकारी पाएको थिएँ । त्यसको लागि राम्ररी तयारी गरिरहेको थिएँ । तर उता पुगेपछि चार सय मिटरमा नाम नै रहेनछ ।

यत्रो अभ्यास गरेर पनि खेल्न नपाउँदा एकदमै दुःख लाग्यो । दौड सुरु हुन अघिसम्म पनि वार्मअप गरेर बसिरहेको थिएँ, तर नाम नै आएन । ठीकै छ, चार सय मिटरमा दौडन नपाए पनि आठ सय मिटर त छ जस्तो लाग्यो ।

आठ सय मिटरमा भने मेरो नाम छुटेको रहेनछ । त्यसका लागि तयार भएँ । इन्डोनेसियाको त्यो मैदानमा रहेका दर्शकले तालि बजाएर हौसला दिइरहेका थिए । त्यसले ज्यान हलुका भएको जस्तो लाग्यो । टिभीमा लाइभ आइरहेको थियो । मलाई घरमा बुबाआमाले, गाउँलेले पनि हेरिरहनु भएको होला जस्तो लाग्यो ।

तर एसियाभरिका राम्रा खेलाडीको अगाडि मैले धेरै राम्रो गर्न सक्छु जस्तो लागेन । उनीहरुको टाइमिङ पनि अलि राम्रो नै थियो । तर पहिले एसियाली खेलकुदको छनोटमा नपरेकाले मैले राम्रो गरेर देखाउनुपर्छ भन्ने ईख मनमा थियो ।

दौड सुरु भयो । उनीहरु बलिया छन्, म सुरुमा अलि पछाडि बसेर पछि पेल्नुपर्छ भन्ने सोचेको थिएँ । तर उनीहरुले नै सुरुमा अलि ‘स्लो’ गरे । त्यसपछि मैले टाइमिङ निकाल्न पर्छ भनेर तिव्रता बढाएँ ।

तीन सय मिटरतिर पुग्दा म अलि अगाडि बढेँ । चार सय मिटरमा पुग्दा मभन्दा अगाडि कतारको खेलाडी मात्रै थिए । दुई सय मिटर बाँकी हुँदा एसियाभरको दोस्रो नम्बरमा छु भन्ने सोच मेरो मनमा एक्कासी आयो । तर त्यसको केही समयमा त म चौथो नम्बर धकेलिएँ । जेनतेन राष्ट्रिय कीर्तिमान बन्यो । त्यसबेला टाइमिङ १ मिनेट ५० सेकेण्ड २५ पल्स थियो ।

त्यसअघि १ मिनेट ५० सेकेण्ड ६० पल्सको राष्ट्रिय कीर्तिमान धनिराम चौधरीको नाममा रहेको थियो । १२ औँ साग गेममा श्रीलंकाले स्वर्ण जित्दा १ मिनेट ५१ सेकेण्डको टाइमिङ थियो । इन्डोनेसियामा मैले श्रीलंकाले स्वर्ण पदक जितेको भन्दा राम्रो गरेको थिएँ ।

एक महिनाको तयारीले त यति हुने रहेछ भने निरन्तर अभ्यास गरेँ भने धेरै राम्रो हुन्छ भन्ने लाग्यो । भारतमा अभ्यास गर्दा पनि सागमा पक्का स्वर्ण जित्न सक्छस् भनेर गुरुहरुले भन्नुहुन्थ्यो ।

एसियाली खेलकुदबाट आएपछि बाहिर अभ्यासमा जान पाउँछु कि जस्तो लागेको थियो तर पाएको छैन । बाहिर जान नपाए पनि आर्मीमा रहेर नियमित अभ्यास गर्न पाइरहेको छु । आर्मीले गर्दा नै म यहाँसम्म पुग्न पाएको हुँ । आर्मीभित्र खेलकुदको वातावरण पनि निकै राम्रो छ । देशभित्र त्यसले पर्याप्त हुने भए पनि बाहिर जाँदा थप अभ्यास चाहिन्छ जस्तो लाग्छ ।

अब नेपालमा नै हुने भनिएको १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्छु जस्तो लागेको छ । एक महिना भारतमा गरेको अभ्यासले धेरै हौसला मिलेको छ । आठौँ राष्ट्रिय खेलकुदको लागि पनि तयार छु ।

****

बुझ्ने भएदेखि ठूलो सोच केही पनि राखेकै थिइनँ । आर्मी बन्ने सपना थियो जुन पूरा पनि भयो । सेनामा आएपछि नै खेलको महत्व बुझेँ र खेलाडी बन्ने लत लाग्दै गयो । जुन पूरा भइरहेको पनि छ ।

जति खेलमा लाग्दै गएँ आफूसँगै देशलाई खेलमार्फत चिनाउँछु जस्तो लाग्दै गयो । अहिलेसम्म देशका लागि धेरै गर्न सकेको छैन । त्यसैले साग गेममा राम्रो गर्नुपर्छ भन्ने लागिरहेको छ । त्यसैका लागि राम्ररी अभ्यास गरिरहेको छु ।

प्रस्तुति – ऋग्वेद शर्मा

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने  ‘मेरो कथा’ को २५ औं श्रृङ्खलामा यो हप्ता एथलेटिक्स खेलाडी सोमबहादुर कुमालको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment