Comments Add Comment

सेयर बजारले नरुचाएको कम्युनिष्ट सरकार

ओली प्रधानमन्त्री बनेपछि सेयर लगानीकर्ताले गुमाए करिब ३ खर्ब

२१ फागुन, काठमाडौं । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भइसकेको छ । ३ फागुन ०७४ मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने पक्का भएपछि अघिल्लो दिनबाट घट्न थालेको सेयर बजारमा अझै सुधार देखिएको छैन ।

अनौठो के भने ओली प्रधानमन्त्री बनेको दिन चाँहि सेयर बजारमा हल्का सुधार आएको थियो । त्यसलाई मुलुकमा पाँच वर्षसम्म नलड्खडाउने स्थायी सरकार गठन भएकाले अब सेयर बजारले गति लिने संकेतका रुपमा विश्लेषण पनि गरियो ।

तर, त्यो खुसी दुई दिन पनि टिक्न सकेन । त्यसको भोलिपल्टबाटै सेयर कारोबार रकममा गिरावट देखिन थाल्यो ।

नेपाली पूँजी बजारले कम्युनिष्ट भन्दा कांग्रेस सरकार रुचाउने गरेको सेयर कारोबारीहरुको अनुभव छ । यो कुरा पुष्टि गर्न उनीहरु कम्युनिष्ट सरकार बन्दा ओरालो लाग्ने सेयर बजार कांग्रेसको पालामा उकालो चढेको थुप्रै उदाहरण दिन्छन् ।

नेपालको पूँजी बजारमा कम्युनिष्ट पार्टी भन्दा कांग्रेस विश्वासिलो हुन्छ भन्ने पुरानो सोच कायम रहेको सेयर बजार विज्ञहरु बताउँछन् । उनीहरुको बुझाइमा सेयर बजारको पछिल्लो अवस्थाका लागि चाँही मूल रुपमा पदमा बसेकाहरुको नकारात्मक भाषणबाजी जिम्मेवार छ ।

ओली सरकार अघिको अवस्था

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यो सरकार बन्नुअघि पनि पुँजी बजार राम्रो भन्न सकिने अवस्थामा थिएन । आर्थिक वर्ष ०७४/७७५ को माघ मसान्तसम्म सेयर बजार १३८०.३ विन्दुमा थियो, जुन अहिले घटेर ११०० को विन्दुमा झरेको छ ।

त्यसबेला नेप्से परिसूचक वार्षिक विन्दुगत आधारमा ६.५ प्रतिशतले बढेर ०७४ माघ मसान्तमा १३८०.३ विन्दुमा पुगेको थियो । त्यसअघि ०७३ माघ मसान्तमा परिसूचक २.६ प्रतिशतले बढेर १२९६.२ मा पुगेको थियो ।

अहिले त सेयर बजारमा भएको पुँजीकरणको अवस्था पनि नाजुक छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म सेयर बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १०.७ प्रतिशतले बढेर ०७४ माघ मसान्तमा १,६१४ अर्ब १७ करोड कायम भएको थियो ।

०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पुँजीकरणको अनुपात ६२.१ प्रतिशत थियो । त्यसबेला बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८१.१ प्रतिशत थियो ।

त्यस्तै, जलविद्युत् क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.७ प्रतिशत बजार पुँजीकरण अंश थियो ।

लगानीकर्ताले करिब ३ खर्ब गुमाए

केपी शर्मा ओलीले पछिल्लो पटक सत्तारोहण गरेको दिन सेयर बजारको कारोबार मापक नेप्से परिसूचक ३६.०१ अंकले बढेको थियो । त्यसको भोलिपल्टदेखि ओरालो लागेको सेयर बजारलाई तुलनात्मक हिसाबले हेर्दा सत्तामा ओलीको पुनरावगमनले नेपालको पुँजी बजारमा ठूलो क्षति गरेको देखिन्छ ।

अघिल्लो वर्षको माघ मसान्तसम्ममा नेप्से परिसूचक वार्षिक विन्दुगत आधारमा ६.५ प्रतिशतले वृद्धि भएको थियो । तर, त्यसयताको एक वर्षमा नेप्से परिसूचक १७ दशमलव १ अंकले घटेको नेपाल राष्ट्र बैंकको गत पुस मसान्तसम्मको तथ्यांकले देखाउँछ ।

एक वर्षअघि बजार पूँजीकरण पनि १०.७ प्रतिशतले बढेको थियो, जुन अहिले १४.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । चालु आवको पुस मसान्तपछि पनि सेयर बजार अधोगति मै छ ।

ओली प्रधानमन्त्री भएको दिन ३ फागुन ०७४ मा नेप्से परिसूचक १४२४.९५ अंकमा थियो, जुन घटेर १९ फागुन ०७५ मा ११००.५८ अंकमा आइपुगेको छ । यो भनेको नेप्से परिसूचकमा ३२४ भन्दा बढी अंकको गिरावट हो ।

पुँजीकरणको अवस्था पनि उस्तै छ । गत वर्षको फागुन ३ गते १६ खर्ब ३३ अर्बभन्दा बढी रहेको सेयर बजारको पुँजीकरण १९ फागुन २०७५ मा १३ खर्ब ४३ अर्ब रुपैयाँ देखिन्छ । यो भनेको सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा करिब ३ खर्ब रुपैयाँ गुमाएको अवस्था हो ।

ओलीकै कारणले घटेको हो त बजार ?

पूँजी बजारका जानकारहरु प्रधानमन्त्री स्वयंमका कारण नघटेको बताउँछन् । सेयर विज्ञ डा. गोपाल भट्टले पनि सेयर बजारको यो दुर्दशामा प्रधानमन्त्री वा कुनै पार्टी विषेश नभई अर्थमन्त्री कारक रहेको बताए । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका उनी भन्छन्, ‘अर्थमन्त्री नै नकारात्मक भएको प्रभाव सेयर बजारमा परेको छ ।’

नेपालमा हिजो पनि कम्युनिष्टहरुको सरकार आएको, अघिल्ला कम्युनिष्ट अर्थमन्त्रीहरु सेयर बजारप्रति सकारात्मक रहेको उनले बताए । ‘तर, आज अर्थमन्त्रालयकै कारण सेयर बजारमात्र नभएर अर्थतन्त्रमा अन्य क्षेत्रसमेत नकारात्मक बन्दै गएका छन्’, डा. भट्ट भन्छन्, ‘बैंकिङ क्षेत्रमा समस्या बढ्दै गएको छ, नियामक निकाय राष्ट्र बैंकको भूमिका कमजोर हुँदै गएको छ ।’

सेयर बजारका एकजना अनुभवी लगानीकर्ता पनि प्रधानमन्त्री ओली भन्दा अर्थमन्त्रीका अभिव्यक्तिहरुको परिणाम मान्छन् यसलाई । कम्युनिष्ट सरकारलाई विश्वास गर्न नसकेको पूँजी बजारमा अर्थमन्त्री डा. खतिवडाको भाषणहरुले विषको काम गरेको उनको भनाइ छ ।

‘उहाँले सेयर बजारलाई जुवाघर, अनुत्पादक क्षेत्र आदि भन्नुभयो’, नाम उल्लेख नगर्ने शर्तमा ती लगानीकर्ता भन्छन्, ‘पुँजी बजार अर्थतन्त्रको ऐना हो भन्ने ज्ञान नभएका अर्थमन्त्रीको कारण बजारमा पहिरो गयो ।’

लगानीकर्ताहरुले अर्थमन्त्री लक्षित आन्दोलन पनि गरे । आन्दोलनमा उत्रेको एउटा समूह त अर्थमन्त्रीको राजीनामा माग गर्दै अनसन समेत बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment