+
+

लक्ष्यभन्दा ७ वर्ष ढिला तयार भयो कुलेखानी-३, लागत दोब्बर

परीक्षण उत्पादनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १६:४४

२१ फागुन, काठमाडौं । मकवानपुरमा १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण सकिएको छ । तर, आयोजनाले अझै परीक्षण उत्पादन सुरु गरेको छैन ।

आयोजनाका प्रमुख सुवासकुमार मिश्रका अनुसार निर्माणको काम सकिएर अब पूर्वाधारहरुको परीक्षण भइरहेको छ । हाल निर्माण भएका संरचनाको अवस्थाबारे चेकजाँच भइरहेको छ । यसपछि बिजुलीको परीक्षण उत्पादन थालिनेछ ।

अन्तिम चरणमा पुग्दा पनि कामको गति सुस्त भएपछि पछिल्लो समयमा आयोजनाले प्राधिकरणका विभिन्न पावरहाउसबाट विज्ञ इन्जिनियर कामदारको टोली कुलेखानी पठाएको थियो ।

बिजुली उत्पादनको इलेक्ट्रोमेकानिकलतर्फको काममा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पावर हाउसमा काम गरिरहेका जनशक्ति कुलेखानीमा पठाएका थिए ।

अब पूर्वाधारहरुको परीक्षण गरे केही दिनभित्रै परीक्षण उत्पादन थाल्ने र त्यसपछि मात्रै व्यवसायिक उत्पादन सुरु गर्ने योजना छ ।

प्राधिकरणले बनाइरहेको यो आयोजना बनाउन लक्ष्यभन्दा ७ वर्ष ढिला भएको छ ।

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार बनेको यो आयोजनामा धेरै वर्ष सरकारी अधिकारीहरु मूकदर्शक बने, जसले गर्दा निर्माणको गति सुस्त भयो ।

चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रोमेकानिकल अन्तरगतको काम गरिरहेको थियो । चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिकरुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरिएको थियो ।

पछिल्लो समयमा ऊर्जामन्त्री वर्षमान पुन आफैंले पनि कुलेखानीको चिनियाँ ठेकेदारलाई काम छिटो गर्न दबाव दिन विभिन्न स्तरमा पहल गरेका थिए ।

यो आयोजनाले सन् २०११ मै उत्पादन थाल्नुपर्ने हो । यो कामको जिम्मा चिनियाँ कम्पनीले पाए पनि काम भने स्वदेशकै हुलास इञ्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरेको हो । चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको थियो ।

आयोजनास्थलमा चिनियाँ कामदार राखेर कामै नगर्ने प्रवृत्तिका कारण आयोजना धेरै वर्ष थलियो । अहिले ऊर्जामन्त्रीसहित प्राधिकरणको नेतृत्व र आयोजना प्रमुखको संयुक्त दबावका कारण कुलेखानीको अडि्कएर बसेको काम सम्पन्न हुने चरणमा पुगेको छ । तर, परिणाम आउन अझै केही महिना लाग्ने देखिएको छ ।

आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । निर्माण अवधि लम्बिँदा झण्डै ५ रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगाबाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १४ मेगावाट उत्पादन गरिनेछ ।

आयोजनाको ठेक्का लागाउँदै लापरवाही गरिएको थियो । आयोजनाका अधिकारीहरु राम्रो ठेकेदार नपरेको र स्थानीयले पटक-पटक अवरोध गरेका कारण सानो आयोजनामा ठूलो मूल्य चुकाउनुपरेको दाबी गर्छन् ।

प्राधिकरणको तत्कालीन व्यवस्थापन कमजोर भएकाले पनि सुरुबाटै आयोजना समस्या फसेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?