Comments Add Comment

जीवनलाई यत्तिकै मार्नु हुँदैन : श्वेता खड्का

२४ फागुन, काठमाडौं । सानो उमेरमा ठूलो चोट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्- ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’

यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी एकल महिलाले दिँदैछे । अझ, एक महिना नपुग्दै पतिवियोगले थलिएकी युवतीले दिँदैछे जीवनको यो परिभाषा ।

यो परिभाषा श्वेताले आफ्नै जीवनको रङलाई निचोरेर निर्माण गरेजस्तो लाग्छ ।

आँखामा आँखा जुधाएर कसैलाई पति वियोगको कथा सुनाउने हिम्मत जुटाउनका लागि श्वेताले कति सहनुपर्‍यो होला ? कति रुनु पर्‍यो होला ? तर, आँशु ग्रन्थीले उत्पादन गर्न छाड्दैन ।

लयमा फर्कंदै गरेकी श्वेताले आँखा भरिलो बनाएर भन्छिन्, ‘त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । देख्नेहरुलाई त सामान्य लाग्न सक्छ ।’ श्वेताको भारिलो आँखाले पनि भन्छ, ‘व्यथा भनी साध्य छैनन् ।’

विवाहपछि शुरु हुन्छ, श्वेताको दुखान्त । मानौँ, श्वेतालाई दुखाउनकै लागि विवाह शब्दको अविष्कार भएको हो ।

कोहिनूर र श्रीकृष्ण

कोहिनूर फिल्म रिलिज हुँदै थियो । कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेठ र श्वेता स्क्रिनिङ हुँदै थिए । चर्चीत अभिनेता र अभिनेत्रीको अभिनयको पर्खाइमा थिए दर्शक । कति फ्यानको चाहाना थियो होला, ‘श्रीकृष्ण-श्वेता’लाई हलमा भेट्ने ।

यही बीचमा आएको थियो । श्रीकृष्ण र श्वेताको विहेको खवर । यो त्यही जोडि थियो जसले केही समय पहिले सँगै होटेल व्यवसाय थालेका थिए ।

सम्पन्न परिवारकी श्वेता पुल्पुलिएरै हुर्कीएकी थिइन् । भन्छिन्, ‘१६ वर्षसम्म मलाई नपुग्दो केही थिएन । घरको निकै प्यारी छोरी थिएँ ।’ सायद घरमा ज्वाइँको खाँचो थियो । त्यसैले, नयाँ-नयाँ केटाहरुको फोटो घरमा आइ नै रहेको हुन्थ्यो । श्वेता भन्थिन्, ‘म आफैं छनोट गर्न सक्ने भएपछि मात्र बिहे गर्छु ।’

श्वेताले घरमा मात्र होइन, घर बाहिर पनि अत्यधिक सामना गर्ने प्रश्न थियो, ‘विवाह कहिले ?’ त्यो किनभने उनी चर्चित अभिनेत्री थिइन् । श्वेताको एउटै जवाफ हुन्थ्यो, ‘जन्म, मृत्यु र विवाह कसैको हातमा हुँदैन ।’

भयो पनि त्यस्तै । ६ कक्षामै श्रीकृष्ण अभिनित फिल्मको गीत चट्ट रुमाल क्यामुलुमा छमछमी नाच्ने श्वेताले कहाँ सोचेकी थिइन् र श्रकृष्णसँगै लगन गाँठो कसिन्छ भनेर । उनको लागि अभिनय पनि कल्पना बाहिरको कुरा थियो ।

भन्छन् नि जिन्दगी संयोग हो । कल्पना कम र संयोग बढीले चल्छ जिन्दगानी । ‘कहाँ भेटिएला’ श्वेताको त्यस्तै अद्भुत संयोग थियो । त्यो, भेटको डेट श्वेताको दाहिने हातको ट्युटुमा छ ।

त्यहीँ श्रीकृष्णलाई भेटिन, फिल्ममा छानिइन्, विस्तारै प्रेममा परिन् र बिहे गरिन् ।

दुःखान्त कथाको सुरुवात

श्रीकृष्णको घरमा श्वेता बुहारीका रुपमा प्रवेश गरेको दुई दिन मात्रै भएको थियो । उनीहरुका लागि त्यो रोमान्टिक मौसम थियो । आफैंले रोजेको केटासँग बिहे गर्दा श्वेतामा खुशीको सीमा थिएन । तर, श्रीकृष्ण बिरामी भएपछि श्वेताका केही खुशीमा सीमा रेखा कोरिए ।

बिहेको तेस्रो दिन अस्पतालमा ।

केही दिनपछि अस्पतालको रिपोर्टले भन्यो, ‘बोन क्यान्सर । त्यो पनि लास्ट स्टेजको ।’ नयाँ दुलहीलाई आइपरेको यस्तो सन्देशले श्वेतामा के बित्यो हेला ? श्वेताले नै भनेजस्तो त्यो भोग्नेलाई मात्र थाहा हन्छ ।

फेरि आफन्तले भन्दै थिए, ‘घरमा खबर नदिनु । मेडिकल लाइनका छन । गाह्रो पर्छ । ‘ यो समय श्वेतालाई कसैको साहाराको जरुरत थियो । सम्झाउने मान्छेको जरुरत थियो । तर, घरमा झुट बोलेर आफैं सम्हालिनुपर्ने । आँशुलाई रोकेर श्रीकृष्ण र आफन्तका अगाडि हाँसेको नाटक गर्नुपर्ने । कस्तो विडम्बना ! श्वेतालाई त्यति नै खेर लाग्यो, ‘भगवान त रहेनछन् ।’

यता नेपालमा फिल्म रिलिजको तयारी हुँदै थियो । टिमले फोनमा भन्दै थिए, ‘भ्वाइस रेकर्डमा भए पनि सन्देश चाहियो ।’ श्वेताले जवाफ दिएकी थिइन्, ‘सिडी लगेर बागमतिमा बगाइदिनुस् ।’

श्वेतालाई श्रीकृष्णले नै सम्झाए, ‘यति दुःख गरेका छौँ । एउटा भ्वाइस रेकर्ड त पठाऔँ न ।’ श्रीकृष्णले फोनमा भनेँ, ‘म ठिक छु । केही दिनमा फर्किन्छु ।’ श्वेता मोवाइल लिइन र बाथरुम छिरिन् । श्वेता भन्छिन्, ‘मैले हिक्क हिक्क गर्दै भ्वाइस रेकर्ड गरेको थिएँ ।’

श्वेतालाई पीर र आँशुले गलाउँदै थियो । श्रीकृष्णलाई क्यान्सरले । थाहा छैन श्वेताको मनमा विवाहको परिभाषा कसरी उभिएको छ । तर, उनीहरुले योजनाका चाङ थुप्रै थिए । होम प्रडक्सन, व्यवसाय कति कति…

तर, श्वेतासँग सपनाका खाका मात्र कोरेर श्रीकृष्ण बाटो लागे । कहिल्यै नर्फकने गरी ।

यता कोहिनुर रिलिज भयो । पर्दामा श्रीकृष्ण बोलेको हाँसेको, नाचेको, गाएको चल चित्र हेर्दै रुँदै गरे दर्शकहरु ।

अँध्यारोपछि

श्वेताले सारा संसार अँध्यारो देखेकी थिइन् । आशाका सबै घर ढलिसकेका थिए । श्वेता बचेखुचेको आँशु चुहाउँछिन्, ‘संसार शून्य लागेको थियो । मात्र शून्य ।’

श्वेता एउटी नारी पनि थिइन् । जस्तोसुकै होस्, तर, नारीलाई कमजोर आँकलन गर्छ समाज । खबर उनको कानसम्म आइपुगेको थियो कि सम्पत्ति खान बिहे गरेकी हो । उनी सेतो बस्त्रमा छँदै घरमै सम्पत्तिकै नाउँमा झगडा सुनिन् । त्यो अर्को सम्हालिनै नसक्ने चोट थियो उनका लागि । श्वेता भन्छिन्, ‘त्यतिबेला चिरेर घाउँमा नुन-खुर्सानी छर्किएजस्तो लाग्थ्यो ।’ श्वेताले भनमनै सोच्थिन्, ‘सबै जवाफ समयले दिनेछ ।’

उता फिल्म हेरेपछि दुईचार हजार मानिस हलबाट सिधै उनलाई भेट्न पुग्थे । श्वेतालाई यी सवको मतलव थिएन । न कसैसँग बोल्थिन्, न कसैलाई सुन्थिन्, मात्र रुन्थिन् श्वेता । दुःखमा मानिसको सबैभन्दा नजिकको साथी मात्र आँशु हुँदो रहेछ ।

४५ दिनसम्म एउटा कोठामा कैद भएकी श्वेता त्यसपछि आमा-बासँग बस्न आइपुगिन् । यतिबेलासम्म श्वेताको दिमागले डिप्रेशनको बाटो तय गरिसकेको थियो । एक वर्षसम्म चरम डिप्रेशनमा थिइन् श्वेता ।

ठीक एक वर्षपछि भूकम्प गयो । श्वेताले हजारौँ मृत्यूलाई पढिन् । उनलाई लाग्यो, ‘लगेर जाने त केही रहेनछ ।’

अमेरिकामा डिप्रेशनको उपचारमा थिइन् उनी । फिल्म हेर्न थालिन् । किताव पढ्न थालिन् । श्वेता भन्छिन्, ‘त्यसपछि लाग्यो दुःखी म मात्र होइन रहेछ । हिलारी क्लीन्टनलाई पढ्दा क्वा क्वा रोएको छु म । अनुराधा दिदीहरुको कथा त्यस्तै छ ।’ त्यसपछि उनलाई लाग्यो बाँच्नुपर्छ, आफ्ना लागि पनि र अरुको लागि पनि, प्रेरणादायी भएर ।

त्यसैले त उनले अमेरिकामा फिल्मको च्यारिटी गरिन्, भूकम्पपीडितको सहयोगार्थ । त्यहाँ उनले हाँसेको नाटक गर्नुपथ्र्यौ । त्यति नै बेला फिल्म हेर्न हिम्मत कसेकी थिईन् । तर, शुरुको स्क्रिनमा जव श्रीकृष्णप्रति श्रद्धाञ्जली देखिन् । उनी कम्न थालिन् । आँशुका खोला बगे । हेर्नै सकिनिन्, ‘मैले अहिलेसम्म कोहीनूर हेरेकै छैन । केही समयअघि दुवैजनाले दिएको अन्तरवार्ता हरेको थिएँ ।’

श्वेता विस्तारै लयमा र्फकन थालिने । निर्माण र होटेल व्यवसाय सम्हाल्न थालिन् । माझी बस्तीको निर्माणमा जुटिन् । क्यान्सर पीडितलाई सहयोग गर्न थालिन् । र, जिवनको उषाकिरण देख्न थालिन् ।

माझी बस्ती अझै सकिएको छैन । भूकम्पको घाउँ भुल्दै गएपछि मानिसबाट पनि सहयोग आउन छोड्यो । उनले ऋण खोजेरै भए पनि बस्तीको ८० प्रतिश काम सक्कीएको छ । श्वेताले भनिन्, ‘निकै दुर्गममा गएर शुरु गरेको थिएँ । त्यहाँ उनीहरुको घर नै थिएन । २० किलोमिटर अफ रोड जानुपथ्र्यो । उनीहरुलाई खान पुग्थेन, पढाई त परको कुरा भयो । मैले अस्पताल, स्कुल, ट्रेनिङ सेन्टर, होमस्टेसहितको बस्ती बनाउने सपना हो । सहयोग गर्नुहोस् ।’

दह्रिली श्वेता

आँशुको समुन्द्रबाट उभिएर श्वेता दरिलो हुँदैछिन् । उनकै भाषामा भन्ने हो भने उनी बोल्ड भएकी छिन् । त्यसैले त थुप्रै एकल महिलाहरु आइकन सम्झेर श्वेतालाई भेट्न आइपुग्छन् । त्यस्ता मानिसलाई श्वेता सम्झाउँछिन्, ‘लाइफलाई त्यसै किल गर्नु हुँदैन । कर्नुपर्छ समयले सबै कुरा सिकाउँछ ।’

श्वेतालाई थुप्रै एकल महिलाका कुरा सुनेकी छिन् । ‘म पनि यही समाजको मानिस हुँ । त्यसैले अनेक अपाच्य प्रश्नको सामना गर्नुपर्छ’ श्वेता भन्छिन्, ‘म गृहणी होइन, इन्टरपेनर हुँ । मलाई त यस्तो गाह्रो छ भने वस्तविक गृहणी एकल महिलाहरुलाई कति गाह्रो छ होला ?’ तर, श्वेतालाई नारी भएकोमा गर्व छ । नारीले अवसरको पाए जेसुकै गर्न सक्ने तर्क गर्छिन् । ‘एउटा नारी नभएको घर र नारी भएको घर हेर्नुस्, थाहा भइहाल्छ की नारी कति सिन्सीयर हुन्छन् भन्ने’, श्वेता बोल्ड बोल्छिन् ।

केही समय पहिले श्वेताले कान्छी फिल्म निर्माण गरिन् । त्यहाँ देखाइएको छ कि मानिसलाई किस्मतले कहाँ पुर्‍याउँछ कुनै टुंगो हुँदैन । आफ्नो जीवनमा आइपरेको अवरोहलाई पनि किस्मतकै भागमा छोडिदिन्छिन् श्वेता ।

श्वेता स्वर्गीय श्रीकृष्णबारे भन्छिन्, ‘हामीलाई किस्मतले छुटायो । उहाँको साथ मसँग छ । उहाँले धोका दिनुभएको होइन । यस्तो लाग्छ, जिउँदै पाउने धोका मरेर पाउनेभन्दा ठूलो हुन्छ ।’

उनले पहिरिएको चेक कोटको बाहुला सार्दा दाहिने हातमा ट्याटु देखिन्छ । ट्याटुमा खोपिएको छ, ‘विवाहको मिति ।’

मिल्ने भए मुटुुमै खोप्थिन् होला त्यो ट्याटु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment