+
+
Shares

एक बहिनीको आत्मालाप : ‘दादा तेरो न्यानो अँगालो, आवाज सबै याद गर्छु’

अब केही बाँकी रहेन । बाँकी रहेन दाइको न्यानो अँगालो, न्यानो स्पर्श । मनभरिको माया । भाइटीकाको मुखैमा माइतीलाई बिदा गर्नुपर्‍यो, सधैंका लागि ।

शिव मुखिया शिव मुखिया
२०८२ कात्तिक ४ गते २०:१४

दाइ आउँछन् होला ।

यही एउटा आशामा बहिनी पुष्पा जोशीले सयपत्री फूल रोपेकी थिइन् । बारीमा ढकमक्क सयपत्री फुलेको हुँदो हो ।

त्यो दिन कस्तो होला ?

जब घरको आँगनमा दाइ विपिनले पाइला टेक्ने छन् । दुवै हात फैलाएर उनलाई अँगाल्ने छन् । त्यो न्यानो स्पर्शले दुवैको आँखा टिलपिल रसाउनेछ । अनि भन्नेछिन्, ‘तँ नहुँदा हाम्रो घर रित्तो भयो । तँलाई मैले सपनामा कति देखें ।

हामीलाई सम्झिएर तँलाई कस्तो भयो ? आमाको हातले पकाएको खानाको कति तलतल लाग्यो ? बाबालाई कति याद गरिस् ? तँ खेलेको आँगनको कति झझल्को अयो ? त्यो अनाकन्टर र अत्यासलाग्दो ठाउँमा तँ कसरी बसेको थिइस् ? तँलाई के-के भयो ? कति भोकै बसिस् ? कति रोइस् ?’

मनभरि उकुसमुकुस प्रश्नहरू उनले धित मरुन्जेल सोध्ने थिइन् । अनि फेरि अँगालोमा वर्षौंको नियास्रो मेट्ने थिइन् ।

तर, आज त्यस्तो भएन ।

भाइटीका पर्खिबसेकी यी चेलीको आँगनमा दाइको निष्प्राण शरीर आइपुग्यो, कफिनमा बन्द भएर । अब दाइ कहिल्यै बोल्ने छैनन् । उनले झेलेका दुःखहरू कहिल्यै सुनाउने छैनन् । त्यो बंकर भित्रको रात कस्तो थियो ? कसरी उनी बन्धक भए ? कहाँ लगे ? कसरी राखे ? कति पीडा दिए ?

विपिन जोशी र उनकी बहिनी पुष्पाको पुरानो तस्वीर।

यी तमाम जवाफहरू आफैंसँग बोकेर दाइ आज बिदा भए । दुनियाँबाट ।

आखिर उनको के दोष थियो ?

पढ्छु, सिक्छु, कमाउँछु र परिवारलाई सुख दिन्छु भनी घर छाडेको थियो । घर छाड्दै गर्दा ऊ पक्कै दुःखी थियो । तर भविष्यको सुखमा कल्पिएर उसले त्यो दुःख भुलेको थियो ।

दुई वर्षअघिको त्यो दिन ।

इजरायल जान हिँडेको दाइलाई छाड्न उनी महेन्द्रनगरको बसपार्कसम्म पुगेकी थिइन् । बुबाआमा पनि साथमै थिए । उसैगरी अंकमाल गरेर भाइ बस चढेका थिए र बिदाइको हात हल्लाएका थिए । थाहा थिएन, अब दाइ कहिल्यै फर्कने छैनन् ।

दाइको आँखामा वैंशालु सपना थियो । टाउकोमा परिवारको बोझ थियो । जिम्मेवारी र बाध्यताले थिचिएको भारी मन बोकेर उसले घर छाडेको थियो । केही गरिएला, सुख पाइएला भनी ।

त्यसदिन घर फर्किएर बहिनीले दाइको सरसामान सम्हालिन होला । दाइले छाडेको ओछ्यान, दाइले छाडेको पुराना लुगाफाटा, दाइले छाडेको किताब-कापी । ती सबैलाई उनले स्नेहपूर्वक छोएकी थिइन् सायद । त्यसक्षण एक किसिमको शून्यताले मन भारी भएको हुँदो हो । त्यो पलङ, त्यो कोठा, त्यो घर रित्तो लागेको हुँदो हो । सुनसान ।

यद्यपि, एकदिन त घरमा रौनक फर्कनेछ । दाइ आउनेछ । सुखका कोसेलीहरू लिएर ।

यो सुखद आशाहरूमा अचानक चट्याङ पर्‍यो । दिनहुँजसो फोनमा कुरा हुने दाइ एकाएक गायब भए । घर–परिवारमा हुण्डरी ल्याउने खबर सर्वत्र फैलियो, ‘हमास लडाकुले विपिन जोशीलाई बन्दक बनाए अन्तै लगे ।’

यसपछिको उकुसमुकुस कस्तो हुँदो हो ? एउटी बहिनीको मनमा कहिल्यै नमेटिने घाउ लाग्यो । सधैं हाँसीखुसी बोल्ने दाइले यतिबेला कस्तो प्रलय भोगिरहेका होलान् ? डर, त्रास र पीडामा कति तड्पिएका होलान् ? घर–परिवारको वियोगले कति ऐंठन पारेको होलान् ? दाइको मायाले उनको खुसीहरू उजाडियो । न मिठो-मसिनो खाने, न आरमले सुत्ने, न ढुक्कले बस्ने । कस्तो पीडादायी स्थिति थियो यो । तैपनि, एउटा आशा थियो, ‘कुनै दिन दाइ छुट्नेछन् । फेरि हाम्रो भेट हुनेछ ।’

तस्वीर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

त्यसपछिका हरेक दिन, हरेक क्षण उनी र उनका परिवार दाइको खोजीमै भौंतारिए । कहाँबाट हुन्छ, कसरी हुन्छ, के भनेर हुन्छ, कसलाई भनेर हुन्छ दाइ छुटाउन उपक्रममा दिनहरू बिते । अनिँदा रातहरू गुज्रिए । आमालाई लिएर उनी अमेरिका पुगिन् ।

सबैको सद्भाव, साहनुभूति र सुभेच्छा बटुल्न रुँदै यसो भनिन्, ‘मेरो दाइ युद्धमा कसैका पक्ष वा विपक्षमा थिएनन् । तर उसलाई बन्दक बनाइयो । सधैं रमाइलो गर्ने, हाँस्ने जिस्किने, खेती गर्छु भन्ने । उसलाई घर फर्काइदेऊ । मेरो दादा, मेरो आत्मा । मलाई तेरो कति याद आउँछ । दादा, तेरो न्यानो अँगालो, तेरो आवाज सबैलाई धेरै याद गर्छु ।’

एउटी विवश चेली, जोसँग आशाबाहेक अरू के हुन्छ ? दाइ सकुशल होस्, चाँडै छुटोस्, घर फर्कियोस् भन्ने सदीक्षाबाहेक के हुन्छ ? अँगालोमा बाँध्न पाइयोस्, भाइटीका लगाउन पाइयोस्, बाल्यकालका नोकझोकहरू साटफेर गर्न पाइयोस् भन्ने तिर्सनाबाहेक के हुन्छ ?

तर, अब त त्यो पनि बाँकी रहेन । बाँकी रहेन दाइको न्यानो अँगालो, न्यानो स्पर्श । मनभरिको माया ।

भाइटीकाको मुखैमा माइतीलाई बिदा गर्नुपर्‍यो, सधैंका लागि ।

तस्वीर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?