+
+
Shares

हेमराज पहारी पुरस्कार लोक कवि मियाँलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १७:३४

काठमाडौं । हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोक कवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो ।

वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीले लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र एवं लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँलाई पुरस्कार प्रदान गरे ।

पुरस्कारको राशी १ लाख रुपैयाँको साथमा ताम्रपत्र रहेको छ । मियाँलाई प्रदान गरिएको पुरस्कार चौथो हो । प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद र धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिएको थियो ।

साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अली मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

कार्यक्रममा प्रज्ञासभा सदस्य कोइरालाले प्रगतिशील विचारधाराका माध्यमबाट देशलाई चिनाउन सफल व्यक्तित्व हेमराज पहारीलाई भएको दावी गरिन् । साहित्यकार एवं प्रतिभा छनोट समिति संयोजक अनिल पौडेलले लोककवि अली मियाँको योगदानको कदर गर्न पुरस्कार प्रदान गरिएको बताए । उनले व्यक्तित्व र कृतित्वका कारण हेमराज र अली मियाँ दुवै अझै जीवित रहेको भन्दै उनले उनीहरू दुवैको योगदानलाई थप उजागर गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार लक्ष्मी निरौलाले हेमराज र अली मियाँमा तुलना गर्दा पेशागत बाहेक अन्य केही फरक नभएको बताए । हेमराज पहारीका सहपाठी मदनराज थापाले हेमराज र आफू अन्तरङ्ग मित्र भएको बताए ।

लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँले पोखरा तथा साहित्य जगतले हेमराज र अली मियाँको जति गुनगान गाए पनि कमि हुने बताए । उनले अली मियाँलाई पुरस्कार प्रदान गरेर हेमराज पहारी स्मृति प्रतिष्ठानले आफूलाई चीर ऋणि बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?