+

रियल मड्रिडमा किन फर्किए जिदान ?

२०७५ फागुन  २८ गते १५:३१ २०७५ फागुन २८ गते १५:३१
रियल मड्रिडमा किन फर्किए जिदान ?

२८ फागुन, काठमाडौं । ‘अध्यक्षले मलाई बोलाउनुभयो उहाँसँगै रियल मड्रिडको पनि असाध्यै माया लाग्ने भएकाले फर्किएँ’, प्रशिक्षकको जिम्मेवारी छाडेको २८३ दिनपछि फर्किएका जिनेदिने जिदानले यस्तो बताए पनि कारण त्यही प्रेम मात्रै होला त ?

एक सिजन ला लिगा र लगातार तीन च्याम्पियन्स लिग जिताएर मड्रिड छाडेका प्रशिक्षक जिदान क्लबको अस्तव्यस्त अवस्थामा फर्किएका छन् । जारी सिजन मड्रिड निराश बनिसकेको छ । ला लिगामा कमजोर मड्रिड, च्याम्पियन्स लिग र कोपा डेल रेबाट बाहिरिसकेको छ ।

छाडेको त्यो दिन, फर्किएको यो दिन

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका जिदान १० महिनाअघि एक्कासी पत्रकार सम्मेलन गरेर बाहिरिएका थिए ।

त्यसबेला अगाडि के गर्ने भन्ने बारे उनले केही खुलाएका थिएनन् । तर आफूहरु फेरि पनि भेटिन सक्ने उनले प्रष्ट बताएका थिए । ‘हामी फेरि पनि भेटिन सक्छौं । मैले लिएको निर्णयमा धेरैले कुनै महत्व देख्दैनन् । तर, मेरा लागि यो महत्वपूर्ण छ’ उनले भनेका थिए ।

जिदान सन् २०१६ को जनावरीमा सिजनको बीचबाट राफेल बेनिटेजको स्थानमा रियल मड्रिड प्रशिक्षक नियुक्त भएका थिए । त्यससँगै उनले लगातार तीन सिजन मड्रिडलाई च्याम्पियन्स लिग जिताएर कीर्तिमान बनाए । तर त्यसको एक हप्ता पनि क्लबमा रहेनन् ।

क्लबमा धेरै कुरा बिग्रँदै गएको थाहा पाएका साथै क्रिष्टियानो रोनाल्डोले क्लब छाड्ने बुझेका उनले चलाखीपूर्ण निर्णय लिएको त्यतिबेलै फुटबल विश्लेषकहरुले बताएका थिए ।

जिदानले छाड्ने बेला नै क्लबमा धेरै कुरा फेरिएको हुँदा आफूले त्यस्तो निर्णय लिएको बताएकै थिए । आफूले गर्ने काम गरिसकेकाले क्लबमा नयाँ शैली र उपाय आवश्यक रहेको बताउँदै बाहिरिएका उनले फेरि आफ्नै आवश्यकताको महसुस कसरी गरे त ?

‘क्लबमा फेरिएका धेरै कुरा’ अहिले मिलेका हुन् ? या त्यो फेरिएका कुरा जिदानले भनेजस्तै गरी मिलाउने सहमति गरेका हुन् ? या साच्चै अरु केही नसोचि क्लबको विजोग अवस्था देखेर मायाले फर्किएका हुन् ?

सिजनका तेस्रा प्रशिक्षकलाई सम्पूर्ण जिम्मा

जारी सिजन जिदान रियल मड्रिडमा तेस्रो प्रशिक्षक हुने छन् । उनले छाडेपछि विश्वकपको एक दिन अघि रियल मड्रिड प्रशिक्षक बनेका जुलियन लोपेटेगी लामो समय टिक्न सकेनन् र बर्खास्तमा परे । उनको स्थानमा आएका सान्टियागो सोलारीले पनि सोचेजस्तो गर्न सकेनन् ।

रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा आवश्यक पर्ने ठूलो निर्णय लिने छुट जिदानलाई दिएका छन् । जसले बिग्रिएको अवस्था सुधार गर्दै मड्रिड र आफ्नो पुरानै छवि बनाउन जिदानलाई सघाउने छ ।

सोलारीको सुरुवात केही राम्रो भए पनि महत्वपूर्ण हप्तामा भने इतिहासकै खराब समय रह्यो । २७ फेब्रुअरीदेखि ५ मार्चसम्ममा ला लिगा असम्भव देखिनुका साथै कोपा डेलरे र च्याम्पियन्स लिग गुमाउनुपरेको थियो । त्यसैले त आइतबार ला लिगाको खेलमा रियल भायाडोलिडलाई ४–१ ले हराए पनि उनको जागिर बच्न सकेन ।

यो सबै हेर्दा जिदान भविष्य बुझ्न र देख्न सक्ने प्रशिक्षकका रुपमा देखिएका छन् । हारको डरले छुट्टिएका उनी आफू अनुकुलको अवस्थामा फर्कन पाएका छन् । जारी सिजन बिग्रिएको मड्रिडमा नयाँ सिजनका लागि उनले भनेजस्तै तयारी गर्न पाउने छन् ।

‘म विजेता हुँ, मलाई हार्न मन पर्दैन । त्यसैले तपाईं जीतको अवस्था प्रस्ट रुपमा देख्न सक्नुहुन्न भने ओगटेर बसिरहनु उपयुक्त हुँदैन छाड्नु नै उपयुक्त हुन्छ’ त्यसबेला जिदानले भनेका थिए । ‘फर्किएर आउँदा मलाई खुशी लागेको छ । म मेहनत गर्ने छु र रियल मड्रिड जुन स्थानमा हुनुपर्ने हो त्यही स्थानमा पुर्‍याउने छु’ उनले अहिले भनेका छन् ।

रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा आवश्यक पर्ने ठूलो निर्णय लिने छुट जिदानलाई दिएका छन् । जसले बिग्रिएको अवस्था सुधार गर्दै मड्रिड र आफ्नो पुरानै छवि बनाउन जिदानलाई सघाउने छ ।

जिदानले मड्रिड टिममा को खेलाडी ल्याउने र को खेलाडीलाई बिदा गर्ने भन्ने निर्णय लिन पाउनु ठूलो अवसर हुने छ । त्यसका साथै उनले कति रकम पाउने छन् भन्ने प्रस्ट नखुलाइए पनि विश्व फुबटलमा सबैभन्दा बढी तलब लिने प्रशिक्षकका रुपमा जिदान फर्किएको दाबी फुटबल विश्लेषकहरुले गरिरहेका छन् ।

कसैलाई सुख कसैलाई दुःख

रियल मड्रिडमा जिदान फर्किएको सबैभन्दा ठूलो दुःख ग्यारथ बेललाई पर्नेछ । जिदान र बेलको नराम्रो सम्बन्ध बाहिर देखिने गरी नै प्रष्ट हुँदै आएकै हो । लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलमा बेञ्चमा रहेपछि बेल निकै असन्तुष्ट बनेका थिए ।

कतिसम्म भने गएको सिजन मड्रिडमा ‘बेललाई केही हौसला मात्रै चाहिएको र उनी विश्वकै राम्रामध्येका स्ट्राइकर रहेको’ कुरा उठ्दा जिदानले कुरै नसुनी तारिफ नगर्न भनेका थिए ।

सोमबार अबेर मड्रिडमा भइरहेको कुराकानीमा क्रिष्टियानो रोनाल्डोबारे बोल्न नचाहेका मड्रिड अध्यक्ष पेरेजले एम्बाप्पेको नाम आउँदा मजाक मजाकमा भनेका थिए, ‘जिदान पनि फ्रान्सकै हुन् त्यसैले उनले एम्बाप्पेलाई मनाउने छन् !’

स्पेनिस फुटबलका जानकार गिलियम बालागु जिदान बेलसँग काम गर्न नचाहे पनि उनलाई भनेजस्तो सहज भने नरहेको बताउँछन् । किनभने २०१३ मा विश्व कीर्तिमानि ८५ मिलियन पाउण्डमा मड्रिड आएका बेललाई ३० वर्षको उमेरमा भनेजस्तो रकममा बेच्न जिदानलाई पनि सहज भने छैन ।

टोटनह्याममा क्रिष्टियन इरिकसनसँग बेललाई साट्ने मड्रिडको चाहना रहेपनि बेलका लागि आवश्यक भनिएको तलब दिन टोटनह्याम तयार छैन । टोटनह्यामले कम तलबमा राख्ने गरी लोनमा लैजाने सोचेपनि त्यो सम्भव हुँदैन ।

यस्तोमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीमा रहेका एडन हजार्डलाई ल्याउने सम्भावना बलियो बनेको छ । हजार्ड पनि रियल मड्रिडमा जिदानको प्रशिक्षणमा खेल्ने इच्छा गएको सिजनपछि नै देखाएका हुन् ।

मड्रिडको आँखा फ्रेन्च क्लब पीएसजीका नेइमार र केलियन एम्बाप्पेमा रहेको वर्ष बितिसक्यो । जिदान फर्किएपछि त्यो सम्भावनाले पनि गति लिने छ । मड्रिडमै निराश बनिरहेका सिनियर खेलाडी पनि जिदानको पुनरागमनले हौसिने नै छन् ।

सोमबार अबेर मड्रिडमा भइरहेको कुराकानीमा क्रिष्टियानो रोनाल्डोबारे बोल्न नचाहेका मड्रिड अध्यक्ष पेरेजले एम्बाप्पेको नाम आउँदा मजाक मजाकमा भनेका थिए, ‘जिदान पनि फ्रान्सकै हुन् त्यसैले उनले एम्बाप्पेलाई मनाउने छन् !’

सम्भावना सकिएपछि नयाँ अवसर

जिदान मड्रिड फर्कने एउटै वातावरण जारी सिजनमा सकिएको सम्भावना नै रहेको स्पेनिस फुटबल विश्लेषक बालागु बताउँछन् । च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिँदा आयाक्ससँग ४–१ ले हारेपछि मड्रिडमा तनाब बढेको थियो ।

हारपछि ड्रेसिङ रुपमा पुगेका मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले खेलाडीको झाँको झारेका थिए । ‘प्रोफेसनालिजम’ नदेखाएको भन्दै खेलाडीमाथि दोष थोपरेका उनले क्बलको नाजुक अवस्था आउनुमा खेलाडीकै गल्ती देखाएका थिए ।

त्यसबेला आयाक्सविरुद्धको खेल जानिजानि गुमाएका सर्जियो रामोसले मात्रै जवाफ फर्काएका थिए । रामोसले यदि मड्रिडको नाजुक अवस्थामा कसैलाई दोष थोपर्ने हो र हारको जिम्मेवार खोज्ने हो भने ‘एकपटक ऐना हेर्न’ अध्यक्षलाई सिधा जवाफ फर्काएका थिए ।

रामोसको जवाफपछि अध्यक्ष पेरेजले क्लबमा आवश्यक पैसा देखाइदिन रामोसलाई भनेका थिए । विश्लेषक बालागु भन्छन्, ‘रामोसबाटै छुटकारा लिन चाहेको भन्दै पेरजले पैसा भए आफूले क्लबमा कसरी सुधार गर्नुपथ्र्यो भन्ने बुझेको बताएका थिए ।’
खेलाडी मात्रै होइन जिम्मेवार पदाधिकारी भेला भएका बेला पेरेज र रामोसको सवाल जवाफले छाएको मौनता नै अहिले जिदान आउने बाटो बनेको बालागुको धारणा छ ।

त्यसैले त सिजनको बाँकी समय र नयाँ सिजनका लागि मैदानमा भन्दा बढी सुधारको काम जिदानले मैदान बाहिर गर्नुपर्ने छ । यो सबै बुझेर नै जिदानले सबै निर्णयको अधिकार भएको खण्डमा मात्रै क्लबमा आउने बताएका थिए, जुन उनले पाएका छन् । आखिर २०२२ सम्म रहने गरी आएका उनले पुरानै छवि फर्काउनै छ ।

तब त उनले भनेका छन्, ‘म धेरै खुशी छु । मैले बाहिर रहँदा आफ्नो पूरा ‘ब्याट्री रिचार्ज’ गरिसकेँ, अब रियल मड्रिडमा फेरि जिम्मेवारी पूरा गर्न व्यग्र छु ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय