Comments Add Comment

निर्मला पन्त प्रकरणमा नयाँ टि्वस्ट ! दूर्गादेवीको वयान फेरियो

मानवअधिकारकर्मीको प्रश्न - डीएनए नमिलेको व्यक्तिलाई कसरी दोषी भन्ने ?

३० फागुन, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका अपराधी अझै फेला परेका छैनन् । यसअघि पक्राउ परेका व्यक्ति प्रमाण अभावमा छुटिसकेका छन् । यसैवीच, निर्मलाकी आमा दूर्गादेवीले बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंकाको सुई विष्टतिरै घुमाएकी छिन् ।

न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।

दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क छ ।

‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले अनलाइनखबरसँग भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरिन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा रहेको उनी बताउँछिन् ।

यो पनि पढ्नुस्– निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

‘दिलिपसिंह विष्टविरुद्ध नबोल्न र उजुरी नगर्न मलाई मानवअधिकारवादीले दबाव दिएका छन्, उनीहरुले पहिलेदेखि नै मलाई दबावमा पार्दै आएका थिए,’ दूर्गादेवीले अनलाइनखनबरसँग भनिन् ।

निर्मला प्रकरणलाई नयाँ ट्वीस्ट दिने क्रममा दुर्गादेवीले ८ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिएकी छन् । ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएँ, अब यसलाई सच्याउन चाहन्छु । दोषीलाई खुल्ला छोडेर निर्दोषलाई जेलमा राख्दा मलाई पाप लाग्छ । छोरीको आत्माले सराप्छ । त्यसैले म आफ्नो ज्यानको जोखिम मोलेर पनि वास्तविक अपराधीलाई सजायँ दिलाउन चाहन्छु । झूट बोलेर बाँच्नभन्दा सत्य बोलेर मर्न तयार छु,’ दुर्गादेवीले भनिन् ।

यसअघि दुर्गादेवी र दिलिप विष्टका दाजुको जाहेरीका आधारमा ८ प्रहरीमाथि मुद्दा दायर गरिएको थियो । दुर्गादेवीले अहिले ८ प्रहरी निर्दोष रहेको भन्दै आफ्नो अडान फेरेकी हुन् ।

उनलाई डर-त्रास वा प्रलोभनमा पारेर अडान फेर्न र प्रहरीको पक्षमा निवेदन दिन लगाइएको मानवअधिकारकर्मीले आशंका व्यक्त गरे पनि दुर्गादेवीले स्वेच्छाले निवेदन दिएको बताइन् ।

दुर्गादेवीले अगाडि भनिन्, ‘मेरी छोरीको हत्यारा अहिले पनि मेरो घरअगाडि खुल्लमखुल्ला घुमिरहेको हुन्छ । उसको अनुहार देख्दा पनि डर लाग्न थालेको छ । अस्ति मेरी अर्की छोरीलाई भेटेर जिस्क्याएछ । मेरी छोरीहरु पनि मानवअधिकारवादीको डरले गर्दा उसको विरुद्ध बोल्न सक्दैनन् । उसबाट निर्मलाजस्ता धेरै छोरीहरु असुरक्षित छन्, त्यसैले प्रहरीले पक्राउ गरिहालोस् ।’

यो पनि पढ्नुस्, निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एक मात्र अभियुक्त रहेको भन्दै भदौ ४ गते पत्रकार सम्मेलन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीसँग वयानमा विष्टले अपराध कबुल पनि गरेका थिए । तर, कञ्चनपुरका स्थानीयवासी र मानवअधिकारकर्मीहरुले तीव्र विरोध गरे । सोझो व्यक्तिलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजिएको आरोप प्रहरीमाथि लाग्यो ।

साथै विष्टको मानसिक स्वास्थ्यको विषयमा पनि प्रश्न उठेपछि सरकारी वकिलको कार्यालयले स्वास्थ्य जाँच र डीएनए परीक्षणका लागि काठमाडौं पठायो । परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएको थियो । तर, बिष्टको डीएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डीएनएसँग मिलेन । त्यसपछि अदालतको आदेशमा विष्टलाई प्रहरीले रिहा गर्न बाध्य भयो ।

विष्टको डीएनए नमिलेको अवस्थामा उनलाई कसरी दोषी भन्न मिल्छ भन्ने प्रश्न गर्दा निर्मला पन्तकी आमा दुर्गादेवी भन्छिन्, ‘किन मिलेन, मलाई थाहा हुने कुरा भएन । तर, डीएनए मिलेन भन्दैमा साविति वयान नै दिइसकेको व्यक्तिलाई निर्दोष ठहर गर्नु हुन्थेन । डीएनए परीक्षणमा केही गडबडी भएको पनि त हुन सक्छ ।’

शारदा चन्द भन्छिन् : हामीले दबाव दिएका छैनौं

निर्मला पन्तको आन्दोलनमा संलग्नमध्येकी प्रमुख मानवअधिकारकर्मी शारदा चन्दले आफूहरुले दुर्गादेवीलाई कुनै किसिमको दबाव नदिएको बताइन् ।

‘हामी ७ महिनादेखि निर्मलालाई न्याय दिलाउन घोक्रो सुक्ने गरी चिच्याइरहेका छौं, सडकमा लडिरहेका छौं । हामीमाथि नै उहाँले यस्तो आरोप लगाउनुभयो भन्ने विश्वास छैन,’ चन्दले अनलाइनखबरसँग भनिन् ।

प्रहरीविरुद्ध जाहेरी दिन आफूहरुले नउक्साएको बताउँदै चन्दले भनिन्, ‘त्यतिबेला उहाँले आफैंले व्यहोरा पढेर प्रहरीहरु र सञ्चारकर्मीको अगाडि हस्ताक्षर गर्नुभएको हो । त्यो फुटेज तपाईंहरुको मिडियामा पनि होला, अहिले आएर मानवअधिकारकर्मीले मलाई उक्साए भन्न मिल्दैन ।’

यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

दिलिप विष्टमाथि दुर्गादेवीले शंका गरेकी छन्, तपाईंलाई के लाग्छ ? भन्ने प्रश्नमा चन्दले भनिन्- ‘डीएनए नमिलेर निर्दोष भनेर छाडिसकेपछि हामीले कसरी दोषी भन्न मिल्छ ? हाम्रा लागि अदालत नै अन्तिम सत्य हो ।’

आफूहरुले दिलिपसिंह विष्टका विरुद्ध नबोल्न दुर्गादेवीलाई कुनै दबाव नदिएको चन्दले अनलाइनखबरलाई बताइन् । उनले निर्मलाका हत्यारा पत्ता लगाउन आन्दोलन जारी रहेको बताइन् ।

निर्मला पन्तको परिवारलाई सुरुदेखि नै साथ दिँदै आएकी चन्दले भनिन्, ‘हाम्रो सडक संघर्ष मात्रै रोकिएको हो, विभिन्नरुपमा आन्दोलन जारी छ । हत्यारा पत्ता नलागुञ्जेल जारी रहने छ ।’

‘पीडामाथि पीडा भयो’

निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई पीडामाथि पीडा भइरहेको बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘छोरी गुमाएको पीडा आलै छ । त्यसमाथि उल्टै ममाथि विभिन्न आरोप लगाउन थालेका छन् । यसको दिमाग खल्बलियो भन्न थालेका छन् । कसैले यसलाई छोरीको पीडा नै छैन भन्छन् । कसैले आमाको नाममा कलंक भनेर लेख्छन् ।’

छोरीको हत्या भएको ७/८ महिना पुगिसक्दा पनि दूर्गादेवीको परिवारले न्याय पाउन सकेको छैन । यसक्रममा उनीहरुले काठमाडौंमै आएर पनि न्यायका लागि राज्यको ढोका ढक्ढकाए । तैपनि निसाफ नमिलेपछि दिक्दार बनेकी दूर्गादेवी अनलाइनखबरसँग भन्छिन्, ‘यो पीडा म कसलाई सुनाउँ ? राति अझै निद्रा लाग्दैन । छाती जलिरहन्छ । अपराधीलाई सजायँ दिलाउन पाए मनमा अलि शान्ति हुन्थ्यो ।’

दूर्गादेवीले यसअघि मानवअधिकारकर्मीको सल्लाहमा सरकारबाट क्षतिपूर्तिसमेत लिएकी थिइनन् । तर, अहिले क्षतिपूर्तिका लागि निवेदन दिएकी छन् । गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारबाट करिब १८ लाख क्षतिपूर्तिको उनलाई आश्वासन आएको छ । तर, रकम खातामा आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment