Comments Add Comment

मकवानपुरमा बर्डफ्लु भेटिएपछि पर्सामा सतर्कता

Photo Credit : फाइल तस्वीर

१ चैत, वीरगञ्ज । छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्डफ्लु भेटिएको पुष्टि भएपछि सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए ।

‘छिमेकी जिल्लामा बर्डफ्लू भेटिएको छ, कम्तीमा पर्सा पनि जोखिममा देखिन्छ । उत्पादन गर्ने, बिक्री गर्ने र खाने सबैले सतर्कता अपनाउनुपर्छ’, भट्टराईले भने, ‘प्रशासनले पनि बैठक बसेर आवश्यक तयारी गर्दैछ ।’

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीस्थित कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएको कुखुराको नमूना परीक्षणका क्रममा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु मानेर वडा नं. ६ र ७, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रमा कुखुरा, अण्डा र सुलीको निकासी रोकेको छ ।

खुला सीमा जोखिमको कारण

खुल्ला सीमाका कारण पर्सा जिल्ला बर्डफ्लूको जोखिममा छ । भारतबाट पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि सस्तोमा पाइने हुँदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेको छ । विशेष गरी पर्साको जानकीटोला, भिश्वा, इनर्वालगायत नाकाबाट अवैध रुपमा कुखुरा, चल्ला र अण्डा तस्करी हुने गरेको कुखुरा व्यवसायीहरु बताउँछन् । पर्सा जिल्लामा ४ सयको हाराहारीमा कुखुरा व्यवसायी छन् । मकवानपुर, चितवनबाट लेयर्स कुखुरा, अण्डा र चल्ला आउने गरेको छ ।

कुखुरा व्यवसायी संघ, पर्साका अध्यक्ष मुन्ना चौरसियाले मकवानपुरमा बर्डफ्लूको संक्रमण देखिएपछि काठमाडौं जाने कुखुरा बर्दिबास हुँदै पठाउन थालिएको जानकारी दिए । ‘१० गाडी कुखुरा हाम्रो वीरगञ्ज, जीतपुर, सिमरा क्षेत्रमा नै खपत हुन्छ, त्यस्तै १० गाडी काठमाडौं जाने गरेको छ । मकवानपुरमा समस्या देखिएपछि बर्दिबास हुँदै काठमाडौं पठाउँदैछौं’, उनले भने, ‘उताबाट आउने लेयर्स कुखुरा, चल्ला पनि पथलैयास्थित क्वारेन्टाइनले रोकिरहेको छ । ’

पटक पटक आग्रह गर्दा पनि भारतबाट अवैध रुपमा भित्रिने कुखुरा, चल्ला नियन्त्रणका लागि प्रहरी प्रशासन गम्भीर नभएको गुनासो उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment