Comments Add Comment

प्रदेश १ मा विप्लव समूह : बजारमा निष्क्रिय, गाउँमा सक्रिय

Photo Credit : फाइल तस्वीर

१ चैत, विराटनगर । दुईसाता अघि प्रहरीले धरान उपमहानगरपालिका– ६ पानबारीबाट नेत्रविक्रम चन्द्र (विप्लव) समूहका देवकुमार लिम्बुलाई एक एक थान लाईट मेसिनगन (एलएमजी) र एम १६ राइफलसहित पक्राउ गर्‍यो ।

शान्ति सम्झौतापछि तत्कालीन माओवादीको क्यान्टोनमेन्टमा जम्मा भएको हतियार विप्लव समुहका कोशी व्यूरो सदस्यसँग भेटिएपछि प्रहरी झस्किनु स्वभाविक थियो ।

पानबारी घटनापछि निगरानी बढाएको प्रहरीले विप्लव समूह प्रदेश १ को बजार क्षेत्रमा निष्क्रिय भएपनि ग्रामिण क्षेत्रमा सक्रिय भएको निश्कर्ष निकालेको छ ।

प्रदेशका १४ जिल्लामध्ये तराईका जिल्लाहरुमा कमजोर रहेको यो समूह मध्यपहाडी क्षेत्रमा सक्रिय बनेको प्रहरीको निश्कर्ष छ । मध्यपहाडी क्षेत्रमा पनि धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, इलाम र सुनसरीका ग्रामीण इलाकामा चलखेल बढेको प्रहरीको निष्कर्ष छ ।

‘यो समूहले हालसालै मोरङको मिक्लाजुङ गाउँपालिकाको जंगलमा ३–४ जिल्लाका कार्यकर्ता भेला गरेर प्रशिक्षण दिएको पाइयो’, प्रहरी स्रोत भन्छ, ‘बजार क्षेत्रमा कमै गतिविधि देखिएको छ ।’

प्रहरी स्रोतका अनुसार, विप्लव समूहका प्रदेश तहसम्मका नेताहरु अहिले गाउँमा संगठन विस्तारमा लागेका छन् ।

संखुवासभामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पावरहाउसमा २४ माघमा भएको विस्फोटमा विप्लव समूहकै संलग्नता रहेको प्रहरीको आशंका छ ।

यो समूहले ३ बैसाख २०७४ मा भारतीय दूतावासको विराटनगर सम्पर्क कार्यालयको पश्चिमपट्टिको पर्खालमा कुकर बम बिस्फोट गराएको थियो । त्यसमा संलग्न भएको आरोपमा पक्राउ परेका जितेन्द्र महरा छुटिसकेका छन् ।

गत पुसमा विप्लव समूहका नेता खड्गप्रसाद विश्वकर्माका छोरा नरेन्द्र तीन राउण्ड गोलीसहित विराटनगरबाट पक्राउ परेका थिए । उनी पनि छुटिसकेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक केदार रिजालले अपराधिक गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने बताए । ‘प्रदेश १ मा आपराधिक गतिविधि गर्नेहरुमाथि निगरानी बढाएका छौं’, डीआईजी रिजालले भने, ‘उनीहरु कुन वा कसको संगठनको हो भनेर हेर्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment