१० चैत, काठमाडौं । विवादास्पद किष्ट मेडिकल कलेजको परीक्षामा चरम लापरवाही भएको पाइएको छ । शिक्षा मन्त्रालयका अनुसार कुनै उत्तरपुस्तिकाको पाना हराएको जस्तो र कुनैमा थप पाना टाँसेको जस्तो पाइएको छ । त्यतिमात्र होइन विद्यार्थीको उत्तरपुस्तिकामा परीक्षकको हस्ताक्षरसमेत छैन ।
शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले यो जानकारी दिएका हुन् । उनले भने, ‘उत्तर पुस्तिकामा एकरुपता देखिएन । पाना हराएको जस्तो पनि देखिए । कुनैमा उत्तरपुस्तिकामा परीक्षकको हस्ताक्षर छ, कुनैमा छैन । कुनैमा कपि टाँसेको जस्तो पनि देखिन्छ ।’
उनले यसबारे मेडिकल विज्ञहरुले पनि औपचारिक रुपमा बोल्न नमानेको बताए । ‘विज्ञलाई भन्दा औपचारिक रुपमा बोल्न कोही मान्दैनन्, यो आईओएमले हेर्नुपर्ने देखियो,’ सहसचिव डा. लम्सालले भने ।
‘शुल्क विवरण पाउन कठिन’
कलेजले विद्यार्थीहरुबाट लिने शुल्कको विवरणसमेत उपलब्ध नगराएको उनले बताए । ‘किष्ट मेडिकल कलेजमा विद्यार्थीहरुले पैसा तिरेको रसिद रहेनछ । किन छैन भन्दा कलेज सन्चालकले हाम्रो प्रावधान नै छैन भन्छन्,’ उनले भने, ‘शुल्क विवरण पाउन गाह्रो रहेछ ।’
उनका अनुसार कलेजको आन्तरिक स्रोतले एक लाखभन्दा बढी लिएको बताए पनि बाहिर बाहिर त्यो भन्दा बढी लिएको सुनिएको छ । उनले किष्ट मेडिकल कलेजमा भएको भनिएको अनियमितताको विषयमा अन्तिम निष्कर्षमा पुग्न विस्तृत अनुसन्धान आवश्यक रहेको बताए । ‘जाँचबुझ नगरीकन निष्कर्षमा पुग्न कठिन छ,’ उनले भने ।
सरकारले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएसका लागि शैक्षिक वर्ष २०७५/७६ मा काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । यसैगरी बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय रुपैयाँ १२ रुपैयाँ कायम गर्ने र शैषिक वर्ष २०७६/७७ का लागि मात्र नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मुद्रा स्फीति दरका आधारमा शुल्क समायोजन गर्ने निर्णय भएको थियो ।
कलेजले योभन्दा बढी शुल्क लिएमा विद्यार्थी र अभिभावकहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन् ।
हालै शिक्षा मन्त्रालयले सहसचिव डा. लम्सालको संयोजकत्वमा मेडिकल कलेजहरुको विषयमा अध्ययन गर्न समिति बनाएको थियो । अध्ययन प्रतिवेदन तयार पारिसकेको सो समितिले प्रधानमन्त्रीलाई बि्रफिङ गर्न भने बाँकी छ ।
किष्ट मेडिकल कलेजको पि्रन्सिपल पदमा प्रा.डा. बालमानसिंह कार्की छन् । उनी अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका भाइ हुन् । लोकमानलाई महाअभियोग लगाएर हटाइएको थियो ।
लोकमान अख्तियारको प्रमुख आयुक्त रहँदा आफ्ना नातेदारको शेयर रहेको किष्ट मेडिकल कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन मेडिकल काउन्सिललाई दबाव दिने गरेको महाअभियोगमा उल्लेख छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4