
११ चैत, न्युयोर्क । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका यूएनएको चौथौ सम्मेलनमा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल हुने भएको छ । अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता अभिवृद्दिका लागि यस्तो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
यूएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बढाले विज्ञप्ति जारी गरी नेपालीहरुको बाक्लो बस्ती रहेका राज्यमा नेपाली समाजका प्रतिष्ठित व्यक्तिमध्येबाट निर्णायकहरु छनौट गरिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका, लुकेका युवा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको हो ।’
मे १५ देखि हुने सो प्रतियोगितमा ७ वर्षदेखि १६ वर्ष उमेर समूहका मात्र समावेश गरिनेछ । पहिलो चरणको छनोट भने सम्बन्धित राज्यहरुका निर्णायकमण्डलले पठाएको भिडियो क्लिपहरुबाट गरिने आयोजकले जनाएको छ ।
प्रत्येक राज्यबाट छनौट भएर आउने तीन–तीन जना प्रतिभाबीच आयोजक समितिको रोहबरमा निर्णायकमण्डलको सल्लाह अनुसार फेसबुक पेजमा राखेर भोटिङमार्फत एकजनालाई विजेता घोषित गरिने बुढाले बताए ।
यी हुन् निर्णायक
प्रत्येक राज्यमा तोकिएका निर्णायक मण्डलमा क्यालिफोर्नियाबाट टेक लामा र शीला आले छन् । त्यस्तै, नर्थ क्यारोलाइनमा डा.चिरञ्जीवी भट्टराई, कोलोराडोमा नवराज श्रेष्ठ, ओहायोमा सुशील विश्वकर्मा, बाल्टिमोरमा मोहन थापा, न्युयोर्कमा विमल डाँगी, न्यु ह्यमसरमा पविता परियार, बोस्टमा सुरेश वाग्ले, कनेक्टिकटमा घनश्याम खड्का, सिकागोमा मिन दर्लामी र भुवन राई, न्युजर्सीमा समिर बुढाथोकी र भर्जिनियामा अनुपमा प्रसाई तोएिका छन् ।
त्यस्तै, नेब्रास्कामा देवराज कँडेल, पेन्सिलभेनियामा लोक छन्त्याल, सनफ्रान्सिसकोमा रविसिंह बस्नेत, टेक्ससमा रमेश पौडेल, नर्थ डकोटामा गीता शाही, केन्टकीमा विक्रम घिमिरे निर्णायक तोकिएका छन् ।
राज्य सेमिफाइनल जजहरुमा विजय नकर्मी, धर्मवीर लामा र जगदीश समाल छन् भने न्युयोर्क अडिसन फाइनलका जजहरुमा निशा सुनार, विमल डाँगी, रमेश सुनुवार, तिलक बम मल्ल र सपना श्री तोकिएका छन् ।
प्रतिक्रिया 4