Comments Add Comment

भरतपुर आँखा अस्पतालमा ५५ जनाको आँखाको नानी प्रत्यारोपण

आँखा बैंक स्थापना गर्ने लक्ष्य

१३, चैत, चितवन । चितवनको भरतपुर आँखा अस्पतालमा हालसम्म ५५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

विगत दुई वर्षको अवधिमा तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार आँखाको प्रकृतिअनुसार १० हजारदेखि रु ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । अस्पतालमा आँखाको नानी राख्ने बैंक नभएका कारण काठमाडाैंबाट नानी ल्याउनुपर्ने बाध्यता छ ।

अस्पतालले आँखाको नानी संकलन मात्रैं गर्दै आएको छ । अप्टिसोल मिडिया र कर्निसोल मिलिया नामक रसायनमा आँखाको कोर्नियालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ।

अहिले नानी संकलन गरेको १ दिनभित्रै तिलगंगामा रहेको आँखा बैंकमा पठाइन्छ । संकलन कार्यका लागि २ जना प्राविधिक खट्ने गरेका छन् ।

आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।

कुनै व्यक्तिको मृत्यु भएको ६/७ घण्टा भित्र आँखाको नानी निकाल्न सके उत्तम हुने चिकित्सकहरु बताउँछन् । तर, १२ घण्टासम्म पनि नानी निकाल्न सकिन्छ । नानी निकालेको एक हप्ताभित्र प्रत्यारोपण गरिसक्नु चिकित्सक डा. पुष्पा गिरीले जानकारी दिइन् ।

तिलगंगाले प्रशोधनको शुल्क छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले अहिलेसम्म चितवन र यस वरपर २५६ जनाको आँखाको नानी दान गर्ने व्यक्तिहरुसँग र्फम भरेको छ । त्यसमध्ये चार जनाको आँखाबाट ८ वटा नानी निकालिएको छ ।

अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा. पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । डा. गिरी अध्ययन सकाएर फर्किएपछि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो ।

अस्पतालका अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा प्रचारप्रसारको कमि र आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने बताउँछन् ।

वाषिर्क डेढ लाखको आँखा परीक्षण, ७ हजारको अप्रेशन

भरतपुर आँखा अस्पतालबाट वाषिर्क सवा लाख बिरामीहरूले आँखा उपचार सेवा लिइरहेका छन् । अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ लाख ७६ हजार ४ सय ३१ बिरामीले अस्पताल र अस्पतालका उपचार केन्द्रहरु मार्फत सेवा लिएका छन् ।

आँखाको उपचार गराउने बिरामीको संख्या हरेक वर्ष बढ्दै गएको छ । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष १ लाख ६० हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । गतवर्ष ६ हजार ७६६ जनाको आँखाको अप्रेशन गरिएको अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीले जानकारी दिए ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म अस्पतालबाट ६६ हजार ७७६ जनाले आँखाको उपचार सेवा लिएका छन् । ती मध्ये २ हजार ९२६ जनाको अप्रेशन गरिसकिएको छ ।

अस्पतालले गत आर्थिक वर्षमा दुई हजार २११ जनाको बिरामीलाई निःशुल्क उपचार गरेको जनाएको छ । अस्पतालले विभिन्न सेवाबाट वाषिर्क १ करोड आम्दानी गर्ने गरेको छ भने खर्च ८० लाखको हाराहारीमा छ ।

अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरङ्ग विभाग र नौ वटा आँखा उपचार केन्ऽमार्फत सेवा दिइरहेको छ । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ ।

नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्ऽमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ ।

नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्ऽ भएका ठाउँमा आएर उपचार लिने गरेका छन् ।

दशवटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ । अस्पतालमा हाल दैनिक दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी रमेश घिमिरे बताउँछन् ।

अस्पतालमा बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, विशेषज्ञ सेवा, दृष्टि पर्दा सेवा, कर्निया सेवा, आँखाको प्लास्टिक सर्जरी सेवा, बाल आँखारोग सेवा, कन्ट्याक्ट लेन्स सेवा, न्युन दृष्टि सेवा, अर्थाेप्टिक्स सेवालगायतका सुविधा अस्पतालले दिदैं आएको छ ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित १८ वटा आँखा अस्पतालमध्ये भरतपुर आँखा अस्पताल पनि एक हो । भरतपुर आँखा चितवनमा २०४४ साल चैत १८ मा स्थापना गरिएको हो ।

नानी संकलन केन्द्र स्थापना, आँखा बैंक स्थापना गर्ने लक्ष्य 

भरतपुर आँखा अस्पतालमा २०७४ सालदेखि आँखाको नानी संकलन केन्द्र खोलिएको छ । तर, आवश्यक प्रोसेसिङ उपकरण नहुँदा निकालेका आँखाको नानीलाई सुरक्षित राख्न काठमाडौं पठाउनुपर्ने बाध्यता छ ।

आर्थिक अभावमा उपकरण खरिद गर्न सकिएको छैन । उपकरणका लागि एक करोडभन्दा बढी खर्च लाग्छ । त्यसको लागि टेण्डर प्रकृया अघि बढेको अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीले जानकारी दिए ।

अहिले आँखा संकलन केन्द्र सञ्चालनमा ल्याएर पछि आँखा बैंक नै स्थापना गर्ने लक्ष्य छ, व्यवस्थापक चौधरीले भने, ‘पाँच वर्षभित्र आँखा बैंक स्थापना गर्ने गरी काम अघि बढाएका छौं, स्वीकृतीको प्रकृया जारी नै छ,’ अन्र्तराष्ट्रिय आँखा बैंक महासंघमा आवद्ध नेपाल आँखा बैंकले सबै मापदण्ड पुगेपछि आँखा बैंकको स्वीकृती दिने गरेको छ ।

भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका गर्न भीमराज पाठकले १ करोड ५० लाख रकम अक्षय कोषका लागि दान गरेका छन् । उनले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । पाठक दम्पतीका नाममा भीमराज-उषामाया पाठक आँखा बैंक नामाकरण गरिनेछ ।

अक्षय कोषको ब्याजको रकमले आँखा नानी संकलन सञ्चालन खर्च जुटिरहेको छ । मान्छेको मृत्यु भएपछि पनि आँखाको नानी तत्कालै मर्दैन । मरेको मान्छेबाट नमरेको आँखाको नानी झिकेर आँखाको समस्या भएका अन्य व्यक्तिमा राख्न मिल्छ । न

नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिन्छ । छिटै देवघाटमा पनि आँखा नानी उपसंकलन सञ्चालन गर्ने योजना रहेको व्यवस्थापक दयाशंकर चौधरीले जानकारी दिए । देवघाटमा दाहसंस्कारका लागि धेरै व्यक्तिहरु ल्याउने हुँदा त्यहाँ पनि नानी संकलन उपकेन्द्र खोल्ने योजना छ ।

चितवनको चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालसँग आँखाको नानी संकलन गर्ने गरी सम्झौता भैसकेको छ ।

कोर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठले आँखाको नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपश्चात कोर्निया संकलन गरिने बताइन् ।

व्यक्तिको मृत्युपश्चात बढीमा १२ घण्टाभित्र कोर्निया निकालिसक्नुपर्छ । खेर जाने कोर्नियाले अर्को व्यक्तिले दृष्टि देख्छ किन दान नगर्ने डा. गिरीले भनिन्, ‘इच्छापत्र नभरेका व्यक्तिको मृत्युपश्चात पनि आफन्तीले बेलैमा खबर गरेमा त्यस्ता नानी संकलन गर्न मिल्ने गरी कार्यविधि तयार छ ।’

आँखा संकलन केन्ऽका लागि भारतको तमिलनाडुस्थित अरबिन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आएका चिकित्सक छन् ।

यस्तै तिलगंगा आँखा अस्पताल काठमाडौबाट आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आएका प्राविधिक छन् । सेवा फाउण्डेसन नेपालले आँखा बैंकका लागि आवश्यक पर्ने सबै उपकरण क्रमशः सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

आँखा शैक्षिक कार्यक्रम

अस्पतालले आँखा शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ । एमबीबीएसपछि अध्ययन हुने आँखाको तीन वर्षको पढाइ अस्पतालमा हुँदै आएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत २० जनाले पढ्ने गरेका छन् । त्यसैगरी दुईवटा मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी आँखाका विषयमा अध्ययन गर्न अस्पतालमा आउने गर्दछन् ।

एसईईपछिको तीन वर्षे अपथाल्मोलोजिस्ट अस्सिटेन्टको अध्यापन पनि अस्पतालमा हुँदै आएको छ । न्याम्सअन्तर्गतकै अप्टोमेटिस्ट भन्ने पढाइ पनि अस्पतालमा हुन्छ । यो प्लस टु गरेपछिको ४ वर्षे कोर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment