
१४ चैत, पोखरा । पोखरामा बिहीबार फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा परी चिनियाँ नागरिक टेन्जी फन्जायो घाइते भएका छन् ।
पोखरा महानगरपालिका- १८ सराङकोट गोठादीको एउटा रुखमा ठोक्किदाँ प्याराग्लाइडिङ दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हिमालयन फ्रन्टिएर कम्पनी टेन्डम पाइलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाइडिङ दुर्घटना भएको हो ।
कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले घाइते फन्जायोको मेट्रोसिटी अस्पताल उपचार भइरहेको जानकारी दिए ।
कास्कीमा पछिल्लो समय प्याराग्लाइडिङ दुर्घटना बढिरहेका छन् । फागुन अन्तिम सातामात्रै लगातार ३ दिन दुर्घटना भएको थियो । दुर्घटनाबाट २ को ज्यान गएको थियो भने २ घाइते भएका थिए ।
सोलो प्याराग्लाइडिङबाट दुर्घटना बढेको भन्दै नेपाल हवाई खेलकुद संस्था (ना) एकल उडानमा रोक लगाएको थियो । जुन चैत १० गते फुकुवा भएको छ । सोलो उडानकै क्रममा नियम विपरीत उडान भरेको भन्दै पोखराका ब्लु स्काई र बुधबार दुर्घटना भएको कम्पनी फ्रन्टियर्स प्याराग्लाइडिङको सोलो उडान अनुमतिसमेत रद्द गरिएको छ ।
प्याराग्लाइडिङ अब ‘ना’ को नियमनमा
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ नियमनको जिम्मा बुधबारदेखि नेपाल हवाई खेलकुद संस्था (ना) लाई दिएको छ ।
अत्याधिक दुर्घटना बढ्न थालेपछि क्यानले नेपाल हवाई खेलकुद संस्थालाई व्यवस्थापन, पाइलटको लाइसेन्स, नियमन तथा प्रवर्धन गर्न नालाई बुधबार प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई नियमनको जिम्मा तोकेको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
क्यानका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले नेपाल हवाई संस्थाले प्यराग्लाइडिङ, हृयान्डग्लाइडिङ लाइसेन्स जारी गर्ने, नियम विपरीत सञ्चालन हुने कम्पनी र पाइलटलाई कारबाही गर्ने, सोलो प्याराग्लाइडिङ गर्ने पाइलटलाई उडान अनुमतिको सिफारिस दिने, सुरक्षित उडान व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी दिएको बताए ।
प्रतिक्रिया 4