Comments Add Comment

उत्कृष्ट बलिङसँगै सन्दीपले जिते दिल्लीको मन

Photo Credit : DelhiCapitals/Twitter

१७ चैत, काठमाडौं । आईपीएलको दोस्रो संकरणमा पहिलोपटक मैदान पठाइँदा नेपाली स्पिनर सन्दीप लामिछाने दबावमा थिए ।

उनका लागि प्रमुख चुनौती भनेको अघिल्ला दुई म्याचमा आफूलाई नखेलाउने निर्णय गलत सावित गर्नु थियो । नेपाली फ्यानको अपेक्षा पनि उनीमाथि थियो ।

एक वर्षभित्र संसारभरका टी-२० लिगमा आफ्नो क्षमता प्रमाणित गरिसक्दा पनि दिल्ली क्यापिटलले सुरुवाती दुई खेलमा उनीमाथि भरोसा गर्न सकेको थिएन । पहिलो म्याचमा सन्दीपको अनुपस्थितिमा दिल्लीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्‍यो । तर, दोस्रो म्याचमा हार्न पुग्यो । यही हारले गर्दा टिममा परिवर्तन गर्न दबाव पर्‍यो र सन्दीपको ढोका उघि्रयो ।

दोस्रो म्याचमा एउटा विदेशी खेलाडीको कोटा खाली नै राखेको दिल्लीले तेस्रोमा यो गल्ती गरेन । सन्दीप पनि टिममा अटाउने गरी उसले तेस्रो म्याचमा चार परिवर्तन गर्‍यो ।

पहिले बलिङ गर्ने निर्णय गरेका कप्तान श्रीयस एयरले सन्दीपलाई दोस्रो ओभरमै बलिङमा उतारे । यता नेपाली फ्यानहरुको ढुकढुकी बढिरहँदा सन्दीपले भने निकै आत्मविश्वासपूर्ण बलिङ गरे । सधैं झैं उनले दबावलाई आफूमाथि हावी हुन दिएनन् ।

इनिङको पहिलो ओभरमा दक्षिण अफि्रकाका तीव्र गतिका बलर कंगिसो रवाडाले १२ रन खर्चेका थिए । तर, दोस्रो ओभर बलिङ गरेका सन्दीपले जम्मा एक रन दिए । यही ओभरमा उनले एउटा एलबीडब्लूको लागि कडा अपिल पनि गरेका थिए, तर अम्पायरले आउट नदिए पनि दिल्ली रिभ्यूमा गएको थियो । तर, रिभ्यूले नट आउट देखायो । प्राय आक्रामक अन्दाजमा खेल्ने कलकत्ता नाइट राइडर्सका ओपनर निखिल शंकर नाइकलाई सन्दीपले लगातार पाँच डट बल फालेका थिए । अन्तिम बलमा एक रन लिएर उनले मेडन जोगाए ।

चौथो ओभरमा पनि सन्दीप आफ्नो दोस्रो ओभर लिएर आए । यही ओभरमा उनले दिल्लीलाई ब्रेक थ्रु दिलाउन सफल भए । उनको गुगली बुझ्न नसक्दा नाइक एलबीडब्लूको धरापमा परे । कलकत्ताले रिभ्यू गर्‍यो तर थर्ड अम्पायरले अन फिल्ड अम्पायरको निर्णय सदर गरिदिए । रिप्लेमा हेर्दा बलले लेग स्टम्प उडाइदिने देखिएको थियो । त्यस लगत्तैको बलमा रोविन उथप्पाले चौका हाने । यो ओभरमा सन्दीपले ६ रन दिए र एक विकेट लिन सफल भए ।

दिल्लीका अन्य बलरले भने रन रोक्न सकिरहेका थिएनन् । तर, सन्दीपको कसिलो बलिङका कारण कलकत्ताले पावर प्लेमा ३० रन मात्रै जोड्न सफल भयो ।

त्यसपछि कप्तानले सन्दीपलाई साँचे ।

सन्दीप १० औं ओभरमा बलिङ गर्न आए । त्यतिबेलासम्म कलकत्ताले ५९ रन बनाएर ४ विकेट गुमाइसकेको थियो । क्रिजमा कलकत्ताका कप्तान दिनेश कार्तिक र शुभमान गिल थए । उनीहरुले सन्दीपविरुद्ध कुनै जोखिम मोल्न चाहेनन् । यो ओभरमा पनि उनले पाँच रन मात्र खर्चिए र एउटा रन आउट पनि गराए ।

तर, त्यसपछिको ओभरले भने सन्दीपको तथ्यांक बिगारिदियो । वेस्ट इन्डिजका खतरनाक ब्याट्सम्यान एन्ड्रे रसेलले सन्दीपमाथि दुई छक्का र एक चौकासहित १७ रन बटुले । यसरी ४ ओभरमा सन्दीपको बलिङ तथ्यांक भयो, ४-०-२९-१ । आफ्नो अन्तिम ओभरमा महंगो सावित भए पनि सन्दीप अन्ततः दुवै टिमका बलरहरुमध्ये सबैभन्दा किफायती बलर बने ।

रसेलको विष्फोटक पारीका मद्दतले कलकत्ताले एक सय ८५ रनको विशाल स्कोर खडा गर्न सफल भयो, जुन पहिले सम्भव देखिएको थिएन । यो स्कोर हेर्दा सन्दीपको कसिलो बलिङ व्यर्थ हुन सक्ने अनुमान गरिएको थियो । तर, दिल्लीका पृथ्वी शले ९९ रनको महत्वपूर्ण पारी खेल्दै दिल्लीलाई जित नजिक पुर्‍याए ।

अन्तिम ओभरमा ६ रन बटुल्न नसक्दा खेल सुपरओभरमा पुग्यो । अन्तत सुपरओभरमा रवाडाको उत्कृष्ट बलिङ मद्दतले दिल्लीले खेल जित्यो ।

अघिल्लो संस्करणमा दिल्लीले आफ्नो प्लेअफमा पुग्ने सम्भावना समाप्त भएपछि मात्र सन्दीपलाई मौका दिएको थियो । उनले अन्तिम तीन वटा म्याच खेल्दै आफ्नो छाप छोड्न सफल भएका थिए । यसपालि तेस्रो म्याचमै मौका पाएकाले सन्दीपले फेरि एकपटक आफूलाई प्रमाणित गरेका छन् ।

यसले दिल्लीका आगामी खेलहरुमा पनि सन्दीपले मौका पाउने सहजै अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment