Comments Add Comment

बारा–पर्सा हावाहुरी अपडेट : सेनाको स्काई ट्रक बारामा, दुई एमआई १७ स्ट्याण्ड बाई

रोड ब्लक क्लीयरेन्स र सर्च एन्ड रेस्क्यूमा सेना सक्रिय

१८ चैत, काठमाडौं । बारा र पर्सामा गएराति आएको भिषण हावाहुरीमा परेका गम्भीर घाइतेको उद्दारका लागि नेपाली सेनाले स्काई ट्रक र दुई वटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । यद्यपि, हालसम्म उद्दार गरेर उपचारका लागि काठमाडौं ल्याउनु पर्ने अवस्था नदेखिएको सेनाले जनाएको छ ।

बारा र पर्सामा आइतबार आएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ७ सय बढी घाइते भएका छन् ।

सेनाको एउटा स्काई ट्रक बाराको सिमरा विमानस्थलमा तैनाथ छ । एमआई १७ भने काठमाडौंमै उडानका लागि तयारी अवस्थामा राखिएको छ । ‘एउटा हेलिकोप्टरचाहिँ अहिले बारातर्फ जान लागेको छ’, एक सैनिक अधिकारी भने ।

राति नै दुवै हेलिकोप्टर तैनाथ राखिए पनि जिल्लाका स्थानीय अस्पतालमा घाइतेलाई भर्ना गरिएका कारण उडान नभएको सैनिक स्रोतले जनाएको छ ।

बारा पुगिसकेको स्काई ट्रक यातायात र पैदलबाट पुग्न असम्भव स्थानमा अत्यावश्यक वस्तु ढुवानी गर्न प्रयोग हुने जहाज हो । कार्गो विमान पनि भनिने यसलाई ढुवानीका अलवा विशिष्ट पाहुन बोक्नका लागि पनि प्रयोग गरिन्छ ।

डबल इञ्जिन भएको यो जहाजको सिट क्षमता १८ जनाको हो । तर, बसेर आउन नसक्ने बिरामी भएको हकमा भने एक पटकबाट ७ देखि ८ जना मात्र बोक्न सकिने सैनिक अधिकारीहरुले बताएका छन् ।

सेनाको स्वास्थ्य टोली र रक्तदान

नेपाली सेनाको बारामा रहेको बाहिनीबाट घटनालगत्तै ‘सर्च एन्ड रेस्क्यू’ मा टोली खटिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार सेनाको टोलीले अहिले ‘रोड ब्लक’ हटाउने कार्यमा पनि खटिएको छ ।

‘सडकमा भएको वाधा अवरोध हटाउने कार्यमा दुई वटा टोली खटिएको छ’, सहायक रथी ढकालले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य उपचारका लागि बाहिनीकै चिकित्सकहरुको टोली खटिएको छ ।’ हाल बाहिनीका ८ जना चिकित्सक घाइतेको उपचारका लागि खटिएका छन् ।

हाल सैनिक अधिकारीहरुले त्यहाँ विरामीको उपचारका लागि आवश्यक पर्न सक्ने भएकाले रक्तदान शिविरको पनि आयोजना गरिरहेका छन् । आवश्यकता भए अनुसार थप चिकित्सकको टोली पनि बारा पठाउने तयारी जङ्गी अड्डाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment