Comments Add Comment

खुला आकाशमुनिको कहालीलाग्दो रातः केवल छानो र मानोको आश

दलित र गैरदलितका अलग मेस

१९ चैत, फेटा (बारा) । जब रात पर्न थाल्यो भलबडीयाकी २१ वर्षीया शोभनी सदा आत्तिन थालिन् । डेढ वर्षीया छोरीलाई आफ्नो घुम्टोले छोपेर उनी अघिल्लो साँझ उडेको घरको भग्नावशेष अगाडि भुँइमा सुताइन् । पातलो च्यादरमाथि नाबालिका छोरी निदाइसकेकी थिइन् । तर उनको आँखामा २४ घण्टादेखि निद्रा फर्किएको थिएन ।

शोभनी जस्तै धेरै आमाहरुले आफ्ना सन्तानलाई यसैगरी दुई रात खुला आकाशमुनी सुताए । आइतवार साँझ करीव ३ मिनेट चलेको आँधीहुरीले घरमात्र उडाएको छैन,रातको निद्रा पनि उडाइदिएको छ । खानका लागि त सामुहिक मेस चलाइएको छ तर सुत्ने व्यवस्था नहुँदा यहाँ सुत्केरी महिला,नवजात शिशु र वृद्धवृद्धाको बेहाल भएको छ ।

अनलाइनखबरकर्मीको टोली सोमवार विहानदेखि राति अबेरसम्म आँधिहुरीले तबाही मच्चाएका बस्तिमा स्थलगत रिपोर्टिङमा खटिएका थियो । प्रधानमन्त्रीको हवाई निरीक्षणदेखि प्रदेश २ का मुख्यमन्त्री सहित सिंगो प्रदेश सरकार आँधी प्रभावित क्षेत्रमा थियो । तर जसै साँझ ढल्किँदै गयो आँधीले उजाड बस्तिमा मान्छेको चहलपहल पनि घट्न थाल्यो ।

साँझ अबेर केही ठाउँमा त्रिपाल झारियो । तर, व्यस्थित वितरण नहुँदा अधिकांश गाउँलेले खुला आकाशमुनी रात बिताए । राति अबेर त्रिपाल पुगेकाले अँधेरोमा बाँड्न पनि समस्या देखिएको थियो । राति अनलाइनखबरकर्मीको टिम आँधी प्रभावित बस्तिमा पुग्दा बालबच्चालाई चिसो भुइँमा सुताएर अभिभावकहरु जागै बसेका थिए ।

कोही धुनी बालेर लामखुट्टे भगाउने प्रयास गरिरहेका थिए । दुई दिनदेखि सुत्न नपाएका आँधी पीडितको अवस्था साँच्चिकै दर्दनाक देखिन्थ्यो । दिउँसो केही व्यक्ति र संस्थाले पानी र चाउचाउ बाँडेका थिए । बेलुका सामुहिक मेसमा खाना खाएपछि उनीहरु खुला आकाशमुनी रातभर जागै बसे ।

साना साना नानीहरु भल्ट्याङ भुल्टुङ चिसो भुइँमा कम्मल ओडेर सुतिरहेका थिए । उनीहरुको जिउ ढाक्ने कम्मल पनि पर्याप्त थिएन । लामखुट्टेको टोकाइबाट नवजात शिशुलाई जोगाउन नसक्दा निरीह आमाहरु अत्तालिन्थे ।

‘खान त मेस पनि चलेको छ । हामी दुई दिन नखाए पनि बाँचौला तर यसरी खुला आकाशमुनि कति दिन बस्ने ? आँधिहुरीमा बाँच्न सफल भएका वृद्धवृद्धा र बालवालिकालाई जोगाउन गाह्रो हुँदैछ’ स्थानीय वीरेन्द्र साहले भने ‘हामी त जसो तसो एक दुई दिन काटौंला तर साना बालबालिकाको बिजोग भयो’ ।

हामी केही बस्तिमा छिर्दा त्यहाँका घरमुलीहरु सुतेका थिएनन् । भुइँमा बालबच्चा सुताएर जागै बसेका उनीहरुले त्रिपाल नपाएको गुनासो गरे । पक्की घर हुनेहरुले त्रिपाल पाएको तर आँधीले झुपडी उडाएकाहरुले नपाएको गुनासो गर्नेहरु धेरै भेटिए । व्यवस्थित वितरण नहुँदा यस्तो गुनासो आएको मध्यरातसम्म राहतमा खटिएका सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

आँधी प्रभावित क्षेत्रमा अब भिआइपीहरुको भिडभाड भन्दा पनि तत्काल पुनस्थापनाको लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । दुई दिनदेखि खुला आकाशमुनी रात गुजारेका स्थानीयलाई छानो र मानोको भरपर्दो व्यवस्था गर्न तीनै तहका सरकार र सहयोगीहरुले ध्यान दिनुपर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस राति नै कता हरायो त्रिपाल ? पीडित भन्छन्- पक्कीघरतिर गयो !

त्रिपालको व्यवस्थित वितरण गरेर अशक्त तथा असहायहरुलाई बास हालिदिनुपर्ने अवस्था छ । पहुँच हुनेले राहत थुपार्ने र पहुँच नहुनेहरु खुला आकाशमुनी सुत्नुपर्ने अबस्था हामीले रातभरि रिपोर्टिङका क्रममा देख्यौं । कम्तिमा पनि उनीहरुलाई खुला आकाशमुनी चिसो भुइँमा रात काट्ने अभिशप्त अवस्थाबाट मुक्त गरिनुपर्छ ।

आँधीले सबै सखाप पारे पनि पछिल्लो २४ घण्टा पानी नपरेका कारण खुला आकाशमुनी सुत्न पाएका छन् । तत्कालै आँधी प्रभावित वस्तिमा अस्थायी टहरा र सामुहिक टेण्ट राखेर भने पनि पीडितलाई खुला आकाशबाट अस्थायी छानोमुनी ल्याउन जरुरी छ । सँगसँगै सरकारले घर पुनर्निर्माणका लागि पुननिर्माण प्राधिकरणमार्फत नै भूकम्प प्रभावित बस्तिकै मोडलमा निजी आवासको योजना ल्याउनुपर्ने देखिन्छ ।

अधिकांश घरमा भण्डारण गरिएको अन्न आँधीले लगिसकेको छ । केहीको घरका बेरा (भकारी) जोगिए पनि फेटा र कलैया नगरपालिकाकेा वडा नम्बर १८ का धेरै बासिन्दा अब भोकमरीको चपेटा पर्ने सम्भावना छ । भण्डारको अन्नमात्र होइन खेतको बालीनाली समेत आँधीले तबाह पारेको छ ।

आँधीको चक्र करीव २६ किलोमिटर क्षेत्रभित्र फैलिएको छ । त्यस क्षेत्रभित्र पनि नदीको आकार बनाएर आँधीले क्षति गरेको छ । आँधीको बाटोमा पर्ने पक्की घर उडाएको छ भने बाटो बाहिर पर्ने फुसको घर पनि सग्लो छ । आँधीले जति क्षति गर्‍यो त्यो मात्र २ देखि ३ मिनेटभित्रको खेल थियो ।

आँधी प्रभावित बस्तिका ट्युबेलहरु समेत उखेलिएका छन् । ट्युबेलको हेड र टेल जडान गर्ने हो भने तत्काल पिउने पानीको व्यवस्था हुन सक्छ । अहिले त्यस क्षेत्रमा पिउने पानीको हाहाकार छ । राहतस्वरुप वितरण भएका पानीका बोतल सबैले पाउन सकेका छैनन् ।

अब तत्कालको समस्या यहाँको फोहोर व्यवस्थापन नहुने हो भने महामारी फैलिन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

दलित र गैरदलितका अलग मेस

देहातको अर्को समस्या भनेको जातीय छुवाछुतको पनि हो । राति अनलाइनखबर टिम बिभिन्न बस्तिमा सन्चालित सामुहिक मेसहरुमा पुग्दा दलित र गैर दलितका अलग अलग मेस सन्चालित थिए ।

कलैया १८ का भलुही भरवलियाका विनटोल र रामटोल मुस्किलले २ मिनेटको दूरीमा छन् । विनटोलमा मेस चलिरहेका बेला रामटोलमा अर्को मेस चलिरहेको थियो । हामीले विनटोलको सामुहिक मेस सन्चालन समितिका अध्यक्ष ललिता देवीलाई सोध्यौं-यति नजिकै पनि किन दुईटा मेस ?

उनले रामटोलमा दलितहरु बस्ने भएकाले दलितको अलग्गै मेस सन्चालन भएको र आफूहरु गैर दलित भएकाले उनीहरुको मेसको खाना नचल्ने बताइन् । तर दलितहरुनै सामुहिक मेसमा नआएको दावी उनको थियो ।

तर रामटोलकी प्रमिला पासवानले भने विनटोलीयाहरु दलितसँग एउटै मेसमा खान नमानेका कारण आफूहरुले अलग मेस चलाएको बताइन् ।

आँधीले तबाही मच्चाएको तेस्रो दिनसम्म भिआइपीहरुको ओहोर दोहोर आँधी प्रभावित क्षेत्रमा बढिरहेको छ । तर अब तत्कालै गर्नुपर्ने भनेको चाहिँ पीडितलाई अस्थायी छानो र मानोको व्यवस्था गर्ने । सधैं सामुहिक मेसमा खाएर खुला आकाशमुनी रात बिताउन सम्भव छैन ।

फोटो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment