९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलन जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने प्रयोजनका लागि तिहार अघिदेखि नै निकै रस्साकस्सी चलिरहेको थियो । ६ महिनाका लागि बनेको सरकारलाई पूर्णता दिन करिब डेढ महिना लागि सकेकोले छिटो नाम टुंगो लगाउने हतारो थियो ।
मन्त्रीहरूका लागि प्रधानमन्त्री कार्कीसमक्ष जेनजी अगुवाका विभिन्न समूहहरूले नाम सिफारिस गरिरहेका थिए । तीनै सिफारिस भएकाहरू मध्येबाट आइतबार बिहान मन्त्री बनाउने सूचीमा रहेका चार जना व्यक्तिको नाम बाहिरियो– सुधा शर्मा, बल्लु गुप्ता, गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनार ।
तीमध्ये शर्मा र गुप्ताको मात्र दिउँसो शपथ भयो । मन्त्री बन्ने सूचीबाट गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम काटियो । चार जना मन्त्रीमा दुई जनाको नाम शपथ अघि नै हटाउने अवस्था आएपछि अहिले प्रधानमन्त्री र उनको टिमको परिपक्वतामाथि प्रश्न उठ्न थालेको छ ।
कसरी विवादित व्यक्ति खगेन्द्र सुनारको नाम बालुवाटारमा मन्त्री बन्ने सूचीमा चढ्यो ? र किन गणपतिलाल श्रेष्ठको नाम पर्यटन मन्त्रालयबाट भूमिसुधारमा सारियो ?
यसका पछाडि केही साता र दिनयताका घटनाहरू जोडिएका छन् ।
खगेन्द्र सुनारको नाम कसरी प्रवेश भयो ?
मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा सबै जाति, समुदाय र भेगको प्रतिनिधित्व गराउने बहस चल्दै गर्दा सुनारको नाम जेनजीकै एउटा समूहले प्रस्ताव गरेको थियो । सरकारमा दलितको प्रतिनिधित्वका हिसाबले यसअघि नै मदन परियारको मन्त्रिपरिषद्मा प्रवेश भइसकेको थियो । तर, पछिल्लोचोटी मन्त्रिपरिषद्मा उनलाई कर्णालीको प्रतिनिधित्व गराउने सन्दर्भमा नाम बालुवाटारमा पुगेको थियो ।
सुनारले दलित अधिकारका लागि लडेको, स्पष्ट बोल्ने र अधिकारका लागि संघर्षरत व्यक्ति भन्दै उनको चर्चा गरिएको थियो । त्यही क्रममा उनले पनि मन्त्री बन्नका लागि जेनजीका विभिन्न समूहसँग धाइरहेका थिए । जसको बलमा उनको नाम बालुवाटारमा पुग्यो । सुनार आफैं पनि प्रधानमन्त्रीका लागि अपरिचित पात्र थिएनन् । त्यसैले शनिबार साँझसम्म उनलाई मन्त्री बनाउने कुरा भयो ।
तर जब मन्त्री बन्ने निश्चित जस्तो भयो त्यसपछि जेनजीकै केही महिलाहरूले सुनारले विगतमा महिलाहरूप्रति अपमान गरेको, ट्रयाक रेकर्ड राम्रो नरहेको भन्दै बालुवाटारमा खबर पुर्याए । त्यसपछि उनलाई श्रम तथा रोजगारमन्त्री बनाउने कि नबनाउने भन्ने अन्योल थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार बिहान चार जना मन्त्रीको नाम सार्वजनिक भएपछि सुनारका बारेमा विगतका विवादसहितका सबै प्रमाणहरू बाहिर आए । जुन प्रमाणहरूको आधारमा उनलाई मन्त्री बनाउन सिफारिस गर्ने जेनजी समूहले पनि ‘गलत सिफरिस गरेछौं’ भन्दै आफैं सन्देश पठाएका थिए । त्यसपछि सुनारको नाम सूचीबाट हट्यो । सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी जारी भएको थियो । उनले एक महिला अधिवक्ता विरुद्ध लेखेको लेखेका थिए । २०७८/७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फर्स्योट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा छ ।
अदालतको अपहेलना, अपशब्द र विद्युतीय कारोबारको आरोप लागेका सुनार काभ्रेपलाञ्चोक जिल्ला अदालतको फरार सूचीमा रहेका थिए ।
अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् ।
प्रहरीले २०८२ साल साउन २ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारको पक्राउ पुर्जी जारी भएको थियो ।
साउन ५ गते पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा सुनार पक्राउको लागि पत्र पठाइएको थियो ।
गणपतिलालको मन्त्रालय किन फेरियो ?
सम्पदा अभियानकर्मी गणपतिलाल श्रेष्ठको नाम सुरुदेखि नै मन्त्री बन्ने सूचीमा थियो । सुशीला कार्कीले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नै उनको नाम जेनजीको एउटा समूहले प्रस्ताव गरेको थियो । तर अर्को समूहले उनको नाम रुचाएको थिएन । त्यसैले पहिलो विस्तारमा उनको नाम समेटिएन । तर, त्यसपछि पनि पटक–पटक उनको नाम निरन्तर आएपछि यसपालि गणपतिलाललाई मन्त्री बनाउने करिब निधो भयो ।
उनले सुरुमा मागेका थिए, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी । संस्कृतिकर्मी भएकाले यो मन्त्रालय आफ्ना लागि सहज हुने उनको दाबी थियो । त्यही दाबी अनुसार उनको नाम टुंगिए पनि आइतबार बिहान उनलाई भूमिसुधारमन्त्री भनेर तोकियो । त्यसमा असन्तुष्टि जनाउँदै उनले मन्त्री बन्न अस्वीकार गरे । मन्त्री बनाउने सन्दर्भमा शनिबार के कुरा भएको थियो ? गणपति आफैंले सार्वजनिक गरेको विवरणअनुसार, उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा बालुवाटारमा आफ्नो अनुभव तथा योजना पेश गरे ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन सक्षम व्यक्ति रहेको भन्दै प्रधानमन्त्रीले आइतबारको लागि शपथको तयारी गर्न भनिन् । शपथमा नेवारी परम्परागत पोशाक लगाएर आउन उनले भनेकी थिइन् । त्यही अनुसार गणपतिले तयारी गरेका थिए ।
तर बिहान उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीकोरूपमा नियुक्त हुन लागेको जानकारी सञ्चार माध्यमबाट पाएको बताए । केही समयपछि गृहमन्त्रीले आफूलाई फोन गरेको र ‘तपाईं विरूद्ध ठूलै शक्ति लागेको छ’ भन्दै प्रधानमन्त्रीनै भेट्न सुझाव दिएको उनको दाबी छ । त्यसपछि उनी प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार गएका थिए । त्यहाँ प्रधानमन्त्री कार्कीले ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुठी, मठ मन्दिर यसै मन्त्रालयमा छ तपाईंको क्षेत्राधिकारमा पर्छ’ भनेको उनको दाबी छ ।
‘हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नु पर्ने सर्वसाधारणको माग रहेको मेरो धारणा पनि त्यहि भएकोले म मन्त्री बन्नको लागि मन्त्रि बन्न अनिच्छुक रहेको पुन: प्रस्ट पारेको थिएँ’ उनले प्रेस विज्ञप्ति नै जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

यो त भयो किन मन्त्री नबनेको भन्ने गणपतिलालको आफ्नो स्पष्टीकरण । प्रधानमन्त्री निकट स्रोतका अनुसार, भने कुरा अलि भिन्न छ । उनलाई सुरुदेखि नै पर्यटनमन्त्री बनाउनका लागि विभिन्न समूहबाट नाम आइरहेको थियो । तर एउटा समूहले उनको नामलाई स्वीकारिरहेको थिएन । किनकी अहिले एमालेबाट निर्वाचित काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग निकट भएर काम गरेको आरोप लगाउँदै रुचाइरहेको थिएन ।
तर उनी आफैं चाहिँ संस्कृति सम्पदाहरूमा काम चाहिँ गरिरहेका थिए । त्यसैले उनले गुठीको विषयमा पनि काम गरेकाले भूमिसुधार मन्त्रालयमा गएर काम गर्न प्रधानमन्त्रीले पटकपटक आग्रह गरेकी थिइन् । तर, उनले पर्यटनको ढिपी गरिरहे ।
गुठीहरूलाई पर्यटन मन्त्रालयमा ल्याउने उनको योजना पनि थियो । चुनावी सरकारमा मन्त्री बन्न खोज्ने व्यक्ति किन एउटै मन्त्रालयमै लगातार ढिपी गरिरहेका छन् भन्ने शंका त बालुवाटारमा भइरहेको थियो । यही आशंकाका बीचमा मन्त्री बनाउन हिँड्ने लबिङ ग्रुपमा को–को छन् भन्ने ट्रयाक रेकर्ड पनि प्रधानमन्त्री निकट व्यक्तिहरूले खोजेका थिए ।
स्रोतका अनुसार, त्यसक्रममा गणपतिलाल मन्त्री बनेको अवस्थामा विगतमा पर्यटन मन्त्रालयमा नेक्सस चलाइरहेका एक शक्तिशाली व्यक्तिकै प्रभाव नघट्ने तथ्य भेटियो । त्यसपछि उनलाई पर्यटनमन्त्री बनाउनै नहुने निष्कर्षमा प्रधानमन्त्री पुगिन् र राष्ट्रपति कहाँ भूमिसुधारमन्त्री रुपमा सिफारिस गरिन् । तर उक्त मन्त्रालयमा उनले नजाने निर्णय लिए ।
मन्त्री बनाउने क्रममा भइरहेको अनेकथरी गञ्जागोलपछि प्रधानमन्त्री अब मन्त्रिपरिषद्लाई यतिमै सिमित राखेर जाने कि भन्नेमा पुगेकी छन् । वरिष्ठ मन्त्रीहरूले पनि उनलाई धेरै मन्त्री बनाउने भन्दा पनि अब मन्त्रिपरिषद्ले पूर्णता पाएको सन्देश दिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया 4