+
+
Shares

खगेन्द्र सुनार : जारी भएको थियो पक्राउ पुर्जी, महिला अधिवक्ताविरुद्ध लेखेका थिए अपशब्द

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १२:३९

९ कात्तिक, काठमाडौं । विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ ।

उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् ।

खगेन्द्र दैलेखको नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् । उनी २०७८/७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।

काभ्रेबाट पनि पक्राउ पुर्जी

उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फर्स्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।

अदालतको अपहेलना र अपशब्द र विद्युतीय विद्युतीय कारोबारको आरोप लागेका सुनार काभ्रेपलाञ्चोक जिल्ला अदालतको फरार सूचीमा रहेका थिए ।

अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

‘अपहेलना र अपशब्द बोलेको आरोपमा अधिवक्ता मनिषा गौतमले साइबर ब्यूरोमा हालेको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दायर भएको थियो।अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर अदालतमा मुद्दा पेश गरेको हो,’ काभ्रेका एसपी कोमल शाहले भने ।

प्रहरीले २०८२ साल साउन २ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारको पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

उनका अनुसार साउन ५ गते पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा सुनार पक्राउको लागि पत्र पठाइएको थियो ।

अदालतले अदालतले सात दिनको म्याद राखेर जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र पठाए पनि हालसम्म जिल्ला प्रहरी कार्यालय दैलेखबाट जानकारी प्राप्त नभएको जिल्ला अदालत काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर०) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका अन्तर्गत अनुसार पाँच वर्ष कैद र १ लाख सम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने श्रेष्ठदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउ बिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अहिले पनि सुनार फरारकै सूचीमा छन्।

खगेन्द्र दलित अधिकारको पक्षमा पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका थिए । उनले काठमाडौंमा नेल लगाएर गरेको प्रदर्शनले मिडियामा राम्रै स्थान पाएको थियो ।

०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन पनि गरेका थिए ।

सो घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएको थियो भने जातीय छुवाछुत नभएको फैसला गरेको थियो । यो फैसलापछि खगेन्द्रले अदालतको ढोका अगाडि न्यायाधीशविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

त्यही विषयलाई लिएर अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेकी थिइन् ।

त्यसपछि खगेन्द्रले अपशब्द प्रयोग गर्दै गौतमविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । उनले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै लेखेको फेसबुक स्टाटसको स्क्रिनसट पनि अहिले भाइरल भइरहेको छ ।

गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०….फोन गरेर सोधौं– त नेपाल बारको होस् कि ठमेल बार को ?’

उनले फेरि अर्को एउटा पोष्टमा लेखेका थिए, ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ ? दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?