Comments Add Comment

पोखरामा प्रमोद खरेलको हाइहाई

पोखरा । पोखरा सभागृह प्रेक्षालयमा बसेका दर्शक तथा स्रोता सबैको मञ्चमा केन्द्रित थियो । हल यसरी मौन बसको थियो कि चाँडै केही हुँदैछ । स्टेजको डिजिटल स्त्रिmनमा क्रमशः काउनडाउन सुरु भयो – ‘१०, ९, ८, …….२, १, ० ।’

काउनडाउन ‘जिरो’ पुगे लगतै गुन्जियो, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा……..’

बाहिरबाटै कोही गीत गाउँदै स्टेजमा देखा पर्‍यो । केही समयअघि शान्त बसेका दर्शकस्रोताले आफूलाई रोक्न सकेनन् । सिट्ठी र तालीको गड्गडाहटसँगै सभाहल थर्किने गरी चिच्याइहाले, ‘प्रमोद, प्रमोद प्रमोद…..।’

शुक्रबार पोखरा सभागृह हल प्रमोद खरेललाई सुन्न आएका दर्शक स्रोताले खचाखच भरिएको थियो ।

पोखरेली सर्जक शीतल गिरीले रचना गरेको ‘म बिना कसैकसैलाई…’ गाउँदै स्टेजमा उक्लिएका उनी पटकपटक दर्शकलाई संगीतको मजामा सम्मोहित पारिरहे । म बिना…का गीतकार शीतलसँग अंगालो मारे र भने, ‘गीतकार पनि चिनुनुपर्छ । म उहाँकै शब्दमा जीवन्त हुन पाएँ ।’ प्रमोदको गीतकार प्रतिको श्रद्धा र आदर देखेर पोखरेलीले सिठी र ताली ठोकेर साथ दिइरहे ।

प्रमोदले आफ्ना बाआमा स्टेजमा डाके । ‘मेरा बुवाआमा यतैकतै हलमा हुनुहुन्छ । म यतै तल बसेर गीत सुन्नेछु भन्नुभएको थियो । आज म उहाँहरुकै कारण यहाँ उभिएको छु । कृपया उहाँहरुलाई स्टेजमा ल्याइदिनुहोला,’ प्रमोदले यतिभन्दा माहोल भावुक बन्यो । बाआमाको आर्शिवाद लिएर संगीतको उत्सव जमाउन थालेका प्रमोदले अन्तिमसम्मै वाहवाही पाइरहे ।

पोखरेली संगीतपारखीको मान जितिरहे ।

प्रमोदले दोस्रो गीत ‘आमा म त सहिद भएछु..’ गीत गाउँदा दर्शक भावुकमात्रै बनेनन्, देशका निम्ति ज्यान गुमाउने सहिदको सम्झना गराइरहृयो । लगातार ४/५ वटा गीत गाइसकेपछि पर्दामा स्व. रवीन्द्र अधिकारीको तस्वीर देखापर्‍यो ।

रवीन्द्रलाई पर्दामा राखेर खरेलले गाउन सुरु गरे, ‘याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ ।’

रवीन्द्रका सहपाठी नेकपाका प्रतिनिधि सभा सांसद योगेश भट्टराई भावुक बनेर साथीको सम्झनामा डुबिरहे । केही समयअघि ताप्लेजुङमा हवाई दुर्घटनामा परी दिवंगत भएका नेतालाई देख्दा धेरैले आँशु थाम्न सकेनन् ।

१५ जना वाद्यवादकसहित प्रत्यक्ष प्रस्तुति राखेका प्रमोद खरेलले ‘उसले जति माया तिम्लाई…, ओइ झुमा…., मलाई जसले पनि किन रुवाउँछ ?’ सहित करिब २ दर्जन आˆना प्रस्तुति राखे ।

नेपाली क्रिकेटसम्बन्धी गीत सुनाउँदै देशको माया गर्न आहृवान गरेर प्रमोदले कार्यक्रमको बिट मारे ।

स्टेजमा उनलाई गायिका मिना निरौलाले साथ दिएकी थिइन् । शान्ति ठटालद्वारा संगीतबद्ध गीतसहित २ गीत गाउँदै कार्यक्रमको सुरुआत गरेकी थिइन् ।

कार्यक्रमको दोस्रो चरणमा मीना र प्रमोदले नेपालका अग्रज र ख्यातिप्राप्त गीतमा आवाज दिएर धेरैलाई नचाए । कार्यक्रमको बीचमा आएका हास्य कलाकार मनोज गजुरेलको हास्य प्रस्तुतस्मा दर्शक खित्का छोडेर हास्ने मौका पाए ।

लोकप्रिय गायक खरेल र दर्शकलाई प्रत्यक्ष सुन्ने र सुनाउने व्यवस्था एभिन्यू ग्रुप अफ कमर्शले मिलाएको हो । कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको थियो, बार्दली मिडिया प्रालिले । पोखरामा मात्र नभएर नेपालमै प्रमोदको यो खालको कार्यक्रम पहिलो पटक भएको बार्दलीका प्रवन्ध निर्देशक मन क्षेत्रीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment