Comments Add Comment

के हो आडम्बर ? को हुन् धर्मका ठेकेदार ?

मन्दिर धाउनु, पूजापाठ गर्नु, तप-जप गर्नु यी सबै कर्म धर्म होइन । यद्यपी शरीर र मनलाई शुद्धिकरण गर्ने बिधी हुन् । हाम्रो जीवन पद्धतीसँगै धार्मिक संस्कार पनि जोडिएर आएका छन् । हामीले धर्मका नामका गर्ने ति सबै कर्म वास्तवमा धार्मिक संस्कार हुन् । आफैमा धर्म होइन ।

धर्मबारे धेरै भ्रम र द्विविधा पालिरहनु आवश्यक छैन । धर्मबारे तर्क-विर्तक गर्नुको तुक पनि छैन । धर्म केवल अरुको भलाई गर्नु हो । असाहयलाई सहयोग गर्नु । भोकालाई खान दिनु । नाङ्गालाई न्यानो दिलाउनु धर्म हो ।

आफ्नो आचारण, बानी-व्यवहार, सोंच-चिन्तन शुद्ध र सन्तुलित राख्नु हो । अर्थात मानविय स्वभाव र व्यवहार नै धर्म हो । धर्मलाई अरु लम्बाई-चौडाई व्याख्या गर्नु आवश्यक छैन ।

हामी बिहान उठेर भगवानको स्मरण गर्छौ । यसरी स्मरण गर्दा हामीलाई पूण्य प्राप्त हुने होइन । त्यसो भए किन बिहान उठेर भगवानको स्मरण गर्ने त ?

किनभने भगवान भनेका हाम्रा आस्था हुन् । भरोसा हुन् । जब भगवानको नाम स्मरण गर्छौं, तब हामीले बेग्लै उर्जा अनुभूत गर्छौं । मनमा एक किसिमको सुरक्षा भाव पैदा हुन्छ । वेचैनी, भय र चिन्ता क्षणभरलाई भएपनि हट्छ । किनभने हामी ठान्छौं, ‘मेरो साथमा भगवान छन् ।’

हामी मन्त्र जप गर्छौं । मन्त्र जप गर्दैमा हामीमा भगवानको कृपा हुने होइन । अर्थात आर्शिवाद मिल्ने होइन । भगवान प्रकट भएर कुनै वरदान दिने होइन ।

यद्यपी मन्त्रोच्चरण गर्दा शरीरका तन्त्रहरुमा बेग्लै झंकार पैदा हुन्छ । यसले तन र मनलाई एकाकार गराउँछ । मन एकाग्र हुन्छ ।

घर-आँगनमा स्थापना गरिएको तुलसीको मठमा जल अर्पण गछौं । पिपलको रुख परिक्रममा गर्छौ । यसो गर्दा हाम्रो पाप पखालिने होइन । तर, तुलसी, पिपल आदि यस्ता वनस्पति हुन्, जो पर्यावरण र प्राणी जगतका लागि अति गुणी हुन्छ । हाम्रा पितापूर्खाले यसको संरक्षण र महत्वलाई दर्शाउन पनि धर्मसँग जोडेर हामीलाई बाँधिराखे । तुलसीको मठमा जल अर्पण गरिरहँदा, पिपलको रुखमा फन्को लगाइरहँदा पनि हामीमा स्वास्थ्य लाभ मिल्छ ।

मन्दिर जानु वा तीर्थयात्रा गर्दैमा हाम्रा पाप नष्ट हुने होइन । न धर्म हुने नै हो । यद्यपी तीर्थयात्रालाई समर्पणको यात्रा भनिन्छ । मन्दिर धाइरहँदा, तीर्थयात्रा गरिरहँदा हामीमा सकारात्मक भाव पैदा हुन्छ । अहंकार, दम्भ एवं खराब प्रवृत्तिलाई हामी त्यागिरहेका हुन्छौं वा दबाइरहेका हुन्छौं ।

मनमा समर्पण भाव पैदा गर्नका लागि, विनयी, विनम्रता भाव पैदा गर्नका लागि तीर्थयात्रा गरिन्छ । मन्दिर धाइन्छ । खासमा हामीले धर्मका नाममा जे जस्ता विधी-बिधान गर्दै आएका छौं, ति आफैमा धर्म होइन । यद्यपी अनुशासित जीवन पद्धतीमा आफुलाई समाहित गर्ने माध्याम हुन् । मानविय प्रवृत्ति र व्यवहारमा आफुलाई अभ्यास गराउने माध्याम हुन् ।

आध्यात्मिक ज्ञान लिने माध्याम हुन् । शरीरको शक्ति, महत्व, चराचर जगतसँग यसको सम्बन्ध बुझ्ने विधी हुन् । पर्यावरण र सम्पूर्ण ब्रम्हान्डसँग शरीर एवं मनको साइनो बुझ्ने विधी हुन् ।

धर्मका भय र व्यापार

हामीले जीवनमा जानेर वा नजानेर धेरै भुल, त्रुटी, कमजोरी, पाप गरेका हुन्छौं । कतिको चित्त दुखाएको हुन्छौ । कतिको जीवनलाई समस्यमा पारिदिएका हुन्छौ ।

हाम्रा यी पाप कसरी पखाल्ने ?

पूजापाठ गर्ने, मन्दिर धाउने, पुराण-महायज्ञ लगाउने ? पक्कैपनि यी विधीहरुले हाम्रो पाप पखालिने होइन । यद्यपी हामीले आफ्नो गल्ती-कमजोरी महसुष गर्नु नै ठूलो कुरा हो । अतः त्यसरी गरेका गल्ती पुनः नदोहोर्‍याउनु नै मानविय प्रवृत्ति हो ।

तर, अहिले मान्छेहरु अनेकन जालझेल, छलकपट, कु-व्यवहार गरिरहेका हुन्छन् । स्वार्थ र अहंकारले जकडिएर अमानविय व्यवहार गरिरहेका हुन्छन् । अतः उनीहरु मनमनै आफ्नो अपराधबाट भयाभित हुनछन् । ‘मलाई पाप पो लाग्ने हो कि ?’ यस्तै भयले सताइरहेका हुन्छन् ।

अतः यिनै भयबाट मुक्त हुनका लागि र क्षमायचना गर्नका लागि मन्दिर धाउँछन् । धुमधामसँग पूजापाठ गर्छन् । धुपबत्ती बाल्छन् । आरती गर्छन् ।

वास्तवमा मान्छेहरु अहिले मन्दिर जाने, पूजापाठ गर्ने, मन्त्र जप गर्ने, तीर्थयात्रा गर्ने भनेकै आफुले गरेको पाप एवं कु-कर्मबाट छुटकारा पाउने दुषित मनासय राखेर हो । उनीहरुमा एक किसिमको भय पालेर भगवानको शरणमा पुग्ने लालसा प्रकट हुन्छ ।

तर, धुप बाल्दैमा, भगवानको नाम पुकार्दैमा, मन्दिर धाउँदैमा न पाप पखालिन्छ, न पूण्य नै आर्जन हुन्छ ।

बरु, यसरी कुकर्म गर्नेहरु वा कमजोर मनस्थिती पाल्नेहरुलाई डर देखाएर यहाँ धर्मको धन्दा हुन्छ । उनीहरुलाई भव्य रुपमा पूजाआजा गर्न लगाइन्छ । लाखौं खर्च गर्न लगाइन्छ । तामझाम गरिन्छ । यी सबै धर्मको व्यापार हो । धर्म होइन ।

धर्मका ठेकदार र धार्मिक ग्रन्थको अपव्याख्या

हुन त अहिले कैयैं धर्मगुरु प्रकट भएका छन् । उनीहरु धर्मको प्रचार गर्छन् । ठूलो जमातलाई आफ्नो प्रभावमा राख्छन् । त्यही जमातमाथि आफ्नो कारोबार गर्छन् । उनीहरुले धर्मिक ग्रन्थको अपव्याख्या गरेर मान्छेमा भ्रम, डर र लोभ पैदा गरिदिएको छ ।

वास्तवमा हामीले भन्दै आएका तमाम धर्मग्रन्थ, चाहे त्यो गीता होस् वा कुरान, वा बाइबल । यी सबै मानविय मूल्य र मर्मलाई जोगाइराख्न प्रेरित गर्ने ग्रन्थ हुन् । यी सबै ग्रन्थले हामीलाई सदाचार र सत्विचारमा डोहोर्‍याउन प्रेरित गर्छ ।

तपाईंले यी कुनैपनि ग्रन्थलाई ध्यानपूर्वक र बुझेर पढ्नुभयो भने जीवनका मूल्य र महत्व बुझ्नुहुन्छ । जीवनलाई कसरी अनुशासित ढंगले डोहोर्‍याउने भन्ने कुरा सिक्नुहुन्छ ।

आडम्बर र ढोंग

‘पूण्य प्राप्त हुन्छ’, ‘पाप पखालिन्छ’, ‘स्वर्गमा बास पाइन्छ’ भनेर अहिले जे-जति धार्मिक विधी गरिन्छ, ति सबै आडम्बर हुन् । ढोंग हुन् । यसबाट केही हदसम्म आत्मिक शान्ति मिल्न सक्छ । मनलाई राहत मिल्नसक्छ । तर, धर्म आर्जन हुँदैन । न धार्मिक विधी एवं विधानबाट मिल्ने शारीरिक र आत्मिक लाभ नै प्राप्त हुन्छ । फगत यो देखावटी र भ्रम हुन् ।

कुनै लाभ-हानीको मनासयले धार्मिक ग्रन्थ कष्ठ गर्नु, भगवानको जप गर्नु, मठ-मन्दिरको चक्कर लगाउँनु धर्म होइन । धार्मिक विधान पनि होइन ।

अहिले कतिपय मान्छेहरु बिहान उठ्नसाथ धुमधामसँग प्रार्थना गर्छन् । घण्ट र शंख बजाउँछन् । घण्ट र शंख बजाउनुको आफ्नै फाइदा छन् । तर, अन्धधुन्द बजाउनुको खास अर्थ रहन्न । पूजापाठ गर्छन् । यी यावत् कर्म ढोंग हुन् ।

कतिपय व्यक्तिले मन्दिरको नाममा, धर्मको नाममा लाखौं रुपैयाँ चन्दा दिइरहेका हुन्छन् । बहुमूल्य धातु दिइरहेका हुन्छन् । यता धार्मिक गुरुको आवरणमा कतिपयले धर्मलाई मागी खाने भाँडो बनाएका छन् ।  धर्म कमाई गर्ने मेलोमेसो भएको छ । उनीहरुले समाजमा पाप र धर्मको डर पैदा गरेर सधै ‘इमोशनल ब्ल्याकमेलिङ’ गरिरहेका हुन्छन् ।

त्यसैले ढोंगका लागि, आडम्बरका लागि, अन्धविश्वासी भएर ‘धर्म’ गर्नु भनेको नराम्रो कर्मलाई प्रोत्साहित गर्नु हो । धर्मको अर्थ निश्वार्थ भावले, समर्पित भावले, हार्दिकतापूर्वक उपकार गर्नु, रक्षा गर्नु हो ।

मन्दिर धाउनु, पूजापाठ गर्नु भनेको आफुमा धार्मिक प्रवृत्तिको विकास गर्नु हो । यसर्थ धर्मको वास्तविक मर्म एवं मूल्यलाई बुझ्नुपर्छ । डर र लोभको गोलचक्करमा फसेर आडम्बरी हुनुको कुनै तुक छैन ।

धर्म भन्नाले यहाँ हिन्दु मात्र भन्ने होइन, चाहे त्यो बौद्ध होस्, चाहे ईसाई होस्, चाहे मुस्लिम होस् । ति सबैको आ-आफ्नै विधी-विधान छन् । यसको मर्म र महत्वलाई बुझ्नुपर्छ । यद्यपी ति कुनैपनि धर्मको नाममा डर देखाएर, लोभ देखाएर कुनै कुरा गर्न उक्साइन्छ भने त्यो धर्म होइन । आडम्बर र ढोंग मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment