+
+
Shares

जब साँझ पर्छ, अनि थिमी नाच्छ

रासस रासस
२०७५ चैत २६ गते १४:२५

२६ चैत, भक्तपुर । हरेक दिन साँझ परेपछि थिमी नुगु पुखु : अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।

मध्यपुर थिमी नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको देखिन्छ ।

त्यसपछि  त्यही धिमेको तालमा पूरै थिमी नाच्न थाल्छ । दुईदिनदेखि दैनिक यसैगरी थिमी नाचिरहेको छ । स्थानीय बासिन्दा एवं साहित्यकार नवीनप्रकाश श्रेष्ठको परिकल्पना तथा मध्यपुर थिमी नगरपालिकाको सहयोगमा पहिलो पटक शुरु भएको ‘खुला धिमे नृत्य प्रशिक्षण’ सिक्नेका लागि मात्रै नभई हेर्नेका लागि पनि निकै आनन्द छ । धिमेका सयौँ तालमध्ये आइतबारदेखि यही चैत २९ गतेसम्म १५ तालबारे प्रशिक्षण चलिरहेको छ ।

बिस्का अर्थात् बिस्केट जात्रा जति नजिकिँदै छ, चहलपहल पनि त्यत्तिकै बढ्दैछ । बिस्केट जात्रामा अनिवार्य रुपमा टोल टोलमा धिमे बाजा बज्छ । “धिमेको तालमा नाच्न भने कमैलाई आउँछ । धिमे बाजा बजाउनेहरु थपिए पनि धिमेको सयौँ तालमा नाच्नेहरु भने घट्दैछन् । त्यसैले धिमेको तालमा नाच्न सिकाउनकै लागि पहिलो पटक भिडियोमार्फत धिमे प्याखँ खुला रुपमा प्रशिक्षण दिन शुरु गरेका हौँ”, परिकल्पनाकार श्रेष्ठ भन्छन् ।

हरेक वर्ष थिमीमा पनि बिस्केट जात्रा चल्छ तर भक्तपुरमा जस्तो लिङ्गो उठाउने र रथ तान्ने नभई जिब्रो छेड्ने,  सिन्दूर जात्रा र ३२ खटयात्रा चल्छ । थिमीको मूल विशेषता नै यिनै तीन जात्रा हुन्, यसैमा रातदिन गरी अन्य जात्रा पर्छन् । बिस्केट जात्रा बुधबारदेखि शुरु भई आगामी वैशाख ५ गतेसम्म चल्नेछ ।

बिस्केटमा मात्र नभई हरेक जात्रा, पर्व, शुभ कार्यदेखि सभा सम्मेलन र अतिथिको स्वागतमा समेत बजाइने धिमे बाजाको तालमा नाच्न नजान्दा जात्रा पर्वमा जथाभावी नाच्ने, चिच्याउने तथा हुलहुज्जत गर्ने क्रम बढेकाले नाचलाई व्यव्स्थित गर्दै यसलाई जोगाउन खुला प्रशिक्षण आयोजना गरिएको उनले बताए ।

श्रेष्ठ भन्छन् ‘धिमेका सयौं ताल छन्, त्यसमध्ये अहिलेलाई १५ वटा तालमा नाच प्रशिक्षण दिएका छौं,  बिस्केट जात्रा अगाडि चैत २९ गतेसम्म दुई हजार जनालाई सिकाउने उद्देश्यले खुला प्रशिक्षण दिएका हौँ, यसले पछिल्लो पुस्तालाई नाच हस्तान्तरणसमेत गर्छ र परम्परा जोगाउँछ ।’

हरेक दिन साँझ ६ : ३० बजेदेखि ८ : ३० बजेसम्म सञ्चालन हुने धिमे प्याखँ (नाच)मा नागरिकलाई नाचमा साथ दिन नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत पूर्व र वर्तमान जनप्रतिनिधि आइपुग्छन् । नागरिकसँगै जनप्रतिनिधिले पनि धिमे प्याँख सिक्ने गरेका छन् ।

नगरप्रमुख श्रेष्ठ ठूलो सङ्ख्यामा एकै पटक धिमेको तालमा नाच सिक्न सकिने भएकाले यो आकर्षक भएको बताउँछन् । उनले भने ‘यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै नभई नयाँ पुस्तालाई यो नाच हस्तान्तरण पनि गर्नेछ ।’ नाच प्रशिक्षणमा युवकयुवतीदेखि पाको उमेरका नगरवासीको समेत दैनिक रुपमा उल्लेख्य सहभागिता रहने गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?