२७ चैत, काठमाडौं । कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटको दोस्रो संस्करण यही वैशाख १२ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
लिगका संयोजक रेशम शाहीले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ब्यस्त कार्यतालिका भएको कारण वैशाख १२ देखि २१ गतेसम्म आयोजना गर्नु परेको बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ११ गते सकिदैछ । आठौं लगतै कर्णाली प्रिमियर लिग हुन लागेको हो ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगिता वीरेन्द्रनगरको कालुङचोक क्रिकेट मैदानमा हुनेछ ।
पहिलो संस्करणको विजेतालाई तीन लाख पुरस्कार राशी राखिएको थियो । यो पटक वृद्धि हुने संयोजक शाहीले बताए । उनले भने, ‘यो पटकको संस्करणमा विजेताले ५ लाखभन्दा माथि नगद पुरस्कार पाउने छ । अहिले हामी कामको अन्तिम चरणमा छौ । केही दिनपछि पुरस्कार राशी घोषणा गर्छौ ।’
प्रतियोगितामा तीन विभागीय टोलीसहित ८ टिम रहेका छन् । आर्मी, पुलिस र एपीएफसँगै मेहन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालिगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट एकेडेमी बाँके, कर्णाली एघार र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन् ।

प्रतिक्रिया 4