Comments Add Comment

वीर अस्पतालको ताला प्रहरीले खुलायो, आँगनमा बिरामी जाँच्दै डाक्टर

समस्याको समाधान बल प्रयोग होइन,वार्तामा बसौं : गोदान

Photo Credit : File Photo

२७ चैत, काठमाडौं । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रहरीले ताला खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।

उनले भने, ‘अस्पताल प्रशासनकै पहलमा ताला खुलाइएको हो । अहिले बाहिरै बिरामी जाँच्ने काम भइरहेको छ ।’

उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।

वीर अस्पतालका निर्देशक सेञ्चुरीले सरकारी डाक्टरहरुको आन्दोलनले समस्या परेकाले समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताए ।

सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ । डाक्टरहरुको आन्दोलनबाट बिरामीहरुको बिचल्ली भएको छ ।

सधैंजस्तै बुधबार पनि सरकारी डाक्टरहरु वीर अस्पताल परिसरमा धर्नामा बसेका बेला प्रहरीले ओपीडी कक्ष खुलाएको हो ।

समस्याको समाधान बल प्रयोग होइन,वार्तामा बसौं : गोदान

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले शान्तिपूर्ण धर्नामा बसिरहेको बेला प्रहरीले धरपकड गरेको बताए । उनले भने, ‘सधैंजस्तै शान्तिपूर्ण रुपमा धर्नामा बसिरहेको बेला प्रहरी आएर बल प्रयोग गर्दा हाम्रा केही साथीहरु घाइते पनि हुनुभएको छ ।’ उनका अनुसार प्रहरीको बल प्रयोगबाट डा. सन्तोष राई सामान्य घाइते भएका छन् ।

उनले भने, ‘समस्याको समाधान बल प्रयोग होइन, वार्ताबाट छिटो निष्कर्षमा पुगौं भनेर हामीले सरकारलाई भनिरहेका छौं । हाम्रो वार्ता टोली पनि तयार छ, तर सरकारले वार्ताको पहल गरेको छैन ।’

प्रहरीले केही डाक्टरहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राख्न खोजेको थियो । त्यसपछि अन्य डाक्टरहरुले विरोध जनाएका थिए । वीर अस्पतालका डा. प्रकाश बुढाथोकीले भने, ‘दुई-चार जना साथीहरुलाई प्रहरीले पक्राउ गरेर लैजान खोजेको थियो । तर साथीहरुले लैजाने भए हामी सबैलाई लैजाऊ भनेपछि कसैलाई पनि नियन्त्रणमा लिएन ।’

बिहीबार निजी डाक्टरहरुसँग छलफल गरेर आगामी कार्यक्रम सार्वजनिक गर्ने आन्दोलनरत डाक्टरहरुको योजना छ । सरकारी डाक्टरहरुको आन्दोलनलाई डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघले नैतिक समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment