
१ वैशाख, गोरखा । गोरखाका २६२ जनालाई भूकम्पपीडितको लाभग्राही सूचीबाट हटाउन भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पत्राचार गरिएको छ ।
दोहोरो नाम परेका र मृत्यु भइसकेका लाभग्राहीको नाम सूचीबाट हटाउन प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको जिल्ला आयोजना कार्यान्यवन इकाइका प्रमुख रामशरण आचार्यले बताए ।
‘कतिपय लाभग्राहीको नाम डुब्लिकेशन भएको पनि पायौ,’ आचार्यले भने, ‘स्थानीय तहबाटै प्रमाणित भएर सिफारिस भएपछि नामहरु हटाउन हामीले केन्द्रमा भनेका हौ ।’
मृत्यु भइसकेका र दोहोरो परेकाहरुको स्थानीय तहको सहयोगमा पहिचान गर्ने काम भइरहेको पनि उनले बताए ।
कुल ७० हजार ९८८ लाभग्राही पहिचान भएका मध्य हाल सम्म ६५ हजार ६७८ जनासँग सम्झौता भएको प्राधिकरणले जनाएको छ । जसमध्ये ४९ हजार ३६ जनाले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगिसकेका छन् । यो संख्या हेर्दा जिल्लाको हाल सम्म करिव ७४ प्रतिशत निजी आवास पुननिर्माणको काम सम्पन्न भएको प्राधिकरणको भनाइ छ ।
त्यस्तै ५७ हजार ८८७ लाभग्राहीले दोस्रो किस्ता लगेका छन् भने ६४ हजार ५७८ जनाले पहिलो किस्ता लिएका छन् ।
रेट्रोफिटिङका लागि ५ हजार ३१० जनाको नाम सूचीकृत भएको प्राधिकरणले जनाएको छ । तर पूर्ण लाभग्राहीमा नाम समावेश हुनुपर्ने भन्दै अधिकांशले पुनरावेदन गरेका छन् ।
पुनरावेदन गरेका पीडितहरुले क्षति पुगेका ढुङ्गा माटोका घरहरु सामान्य मर्मत गरेर बस्न नमिल्ने बताउदै आएका छन् ।
प्रतिक्रिया 4