+
+
Shares

कवि भूपिन अब आख्यानकार पनि

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १८:५९

२ चैत, काठमाडौं । कविता र निबन्धमा कलम चलाइरहेका भूपिनले आख्यानको पहिलो कृति ल्याएका छन् । तीन वर्ष लगाएर लेखिएको भनिएको पुस्तक ‘मैदारो’ भूपिनले शनिबार सार्वजनिक गरेका हुन् । कथामा मध्यपश्चिम पहाडको दलित समस्यालाई केन्द्रमा राखिएको छ ।

मैदारोलाई साहित्यकार तथा राजनीतिज्ञ आहुति, राष्ट्रिय मानवअधिकार आयागकी आयुक्त मोहना अन्सारी तथा आख्यानकार नयनराज पाण्डेले सार्वजनिक गरे ।

साहित्यकारका रुपमा आहुतिले मैदारोको भाषिक क्षमताको खुलेर चर्चा गरे भने राजनीतिज्ञका रुपमा सामाजिक मनोविज्ञानमाथि टिप्पणी गरे । ‘उपन्यासको भाषा, शैली र प्रस्तुति बेजोड छ । अनेक बिम्ब र प्रतीकले यो उपन्यास पाठकले छाड्नै सक्तैन । म आफैले पनि १४ घन्टा लगाएर यो उपन्यास पढिसकेँ,’ आहुतिले भने, ‘उपन्यासको यो पक्ष आकर्षक छ ।’

आहुतिले उपन्यासको कमजोर पक्षको टिप्पणी पनि गरे । ‘जुन क्षेत्रको बारेमा यो कथा लेखिएको छ, भूमिगत रुपमा त्यहाँका हलीहरुसँग मैले लामो समयसम्म काम गरेको छु ।’ आहुतिले भने, ‘उपन्यासकारले सत्य देखे पनि पूर्ण सत्य आउन सकेको छैन ।’

आख्यानकार नयनराज पाण्डेले लेखकको अध्ययन र अनुसन्धान गर्ने क्षमताको प्रसंसा गरे । ‘भूपिन चित्रकार होइनन् र चित्रकलाको विद्यार्थी पनि होइनन् । तर उपन्यासमा जसरी चित्रकलाको जसरी साङ्गोपाङ्गो वर्णन छ र विश्वकलाको ज्ञान पुस्तकमा पोखिएको छ । त्यसले मलाई लेखकको अनुसान्धानको पाटो उच्च लाग्यो ।’ पाण्डेले पुस्तक लेख्न लामो धैर्य गरिएकोमा भूपिनको प्रसंसा गरे ।

‘उपन्यासमा लोककथा र मिथकको राम्रो प्रयोग भएको छ,’ पाण्डेले दावी गरे ।  राष्ट्रिय मानवअधिकार आयोगकी अध्यक्ष मोहना अन्सारीले नेपाली पुस्तकको स्तर बढिरहेकोमा सन्तोष व्यक्त गरिन ।

‘केही वर्ष यता नेपाली साहित्यको स्तर यसरी बढिरहेको छ कि स्तरीय पुस्तकका लाग अंग्रेजी पुस्तक खोज्ने बाध्यताको अन्त्य गरेको छ । ती पुस्तक मध्ये ‘मैदारो’ पनि एक हो भन्ने मलाई लागेको छ ।’ अन्सारीले भनिन्, ‘ससर्ती पढ्दा मैले कमजोरी धेरै भेटिन र यस्ता पुस्तकको कमजोरी खोज्न पनि चाहन्न ।’

उपन्यासकार भूपिनले पुस्तक प्रकाशनपछि आफ्नो पुस्तकको बारेमा बोल्नु पाठकलाई कम आँक्नु जस्तो लाग्ने गरेको भन्दै पुस्तकका विषय बोल्न चाहेनन् । ‘हिजोसम्म मैदारोका विषयमा सञ्चारमाध्यममा धेरै बोले, अब बोल्दिन । प्रकाशनपछि यो मेरो रहेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?