Comments Add Comment

दिपक–दीपाको टिमलाई ६० प्रतिशत दिन किन तयार छन् निर्माता ?

लगातार ५ वटा चलचित्र सुपरहिट दिएपछि आमा सरस्वती मुभिजको टिमलाई निर्माता र दर्शकले विश्वास गर्न थालेका छन् । ‘छक्का पन्जा’ सिरिजको ब्ल्कबस्टर व्यापारपछि अहिले कलाकार दिपकराज गिरी र उनको टिमलाई आफैले लगानी नै गर्नुनपर्ने अवस्था सिर्जना हुन थालेको छ ।

यसको सुरुवात निर्माता रोहित अधिकारीले गरिसकेका छन् । रोहितको एकल लगानीमा बन्न लागेको नयाँ चलचित्र ‘छ माया छपक्कै’का लागि कलाकारद्धय दिपकराज गिरी र केदार घिमिरे फाइनल भैसकेका छन् । चलचित्रको कथा, पटकथा तथा संवाद दिपक आफैले लेखिरहेका छन् । यो चलचित्रमा रोहितले दिपकराजको टिमलाई नाफाको ५० प्रतिशत दिनेछन् । विना लगानी चलचित्रको नाफाको ५० प्रतिशत दिन रोहित तयार हुनुले पनि दिपक र उनको टिममाथिको भरोसा देखिन्छ ।

यता, निर्देशक सिमोस सुनवारले पनि दिपकराजको टिममाथि विश्वास देखाएका छन् । सिमोसको एकल लगानी र निर्देशनमा बन्ने चलचित्रका लागि कलाकार दिपकराज गिरी फाइनल भैसकेका छन् । यो चलचित्रमा पनि दिपकराज र उनको टिमले नाफाको ६० प्रतिशत मुनाफा प्राप्त गर्नेछ । सिमोसको चलचित्रको कथा अहिले प्रदिप भारद्धाजले लेखिरहेका छन् । चलचित्रको छायांकन दशैंपछि सुरु हुनेछ ।

चलचित्रको नाम तय भएको छैन । तर, सिमोसले चलचित्रमा एकल लगानी गरेर ६० प्रतिशत दिन तयार हुनुले पनि दिपकराज गिरी र उनको टिमप्रतिको विश्वास प्रष्ट हुन्छ । हिजो काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा चलचित्र निर्माता तथा हल संचालक प्रदिपकुमार उदयले पनि दिपक–दीपाको टिमले काम गर्न तयार भएको खण्डमा आफूले नाफाको ७० प्रतिशत दिने उद्घोष गरेका थिए । कुनै पनि कलाकारले यसरी काम गरेको खण्डमा निर्माता पनि घाटामा नजाने उनको तर्क थियो ।

अहिले दिपकराज र उनको टिमलाई लिएर मुनाफाको महंगो प्रतिशत दिएर लगानी गर्न निर्माता तयार भएका छन् । लगातार ५ वटा चलचित्र दिएपछि दर्शकको विश्वास पनि यो टिममाथि पूर्ण परेको छ । यसैले निर्माता व्यापारमा सफल हुनेमा ढुक्क भएर नै यो खालको जोखिम मोल्न तयार भएका छन् । निर्माता मात्र होइन, दिपकराज र उनको टिमले पनि यो खालको जोखिम मोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment