Comments Add Comment

आमाको त्यो प्रशव पीडा

मेरो प्रत्येक जन्म दिनमा आमा पधेरामा गएर बत्ति बाल्ने गर्थें । अहिलेका जन्म दिनमा तिनै स्मरण मलाई सबैभन्दा प्रिय लाग्छ । किनकी मसँग मेरी आमा हुनुहुन्न ।

गाउँमा एसएलसी सकेपछि आमाको गुन्युको टालोमा केही माना कोदोको पीठोको पोको पारेर हिँडेको थिएँ । हिँडेको र आमाले जीवनको अन्तिम सास फेर्नुअघि भन्नुभएको थियो, ‘छोरा ! तिमीलाई जीवनमा ठूलो धोका हुने हो कि भन्ने चिन्ता लागेको छ ।’ यो बाहेक अर्का दुई कुराले मलाई जन्मदिनमा हिर्काइरहन्छ । आमाको प्रशव वेदना र आमाकै गुन्युको टालोमा केही माना कोदोको पीठो बाकेर पढाईको यात्रामा निस्किएको ।

यो जन्मदिनमा पनि उसै गरी आमाको प्रशव वेदनालाई नजिकबाट महसुश गरिरहेको छु । म जन्मनुमा मेरो छनोटको विषय त थिएन तर पनि म नजन्मिएको भए मेरी आमाले यती प्रशव पीडा भोग्नु पर्दैन्थ्यो की !

त्यो किनभने, म १५ वर्षको हुँदा आमाको प्रशव पीडा मैले देखेको छु, महसुश गरेको छु ।

त्यतिबेला वुवा कान्छी आमासँग भारतमा हुनुहुन्थ्यो । घर थियौँ, गर्भवती आमा, ६ वर्षको भाइ र म । मेरो एसएलसी पनि आउनै आटेको थियो । सबै साथीहरु यसयलसी तयारीका लागि तानसेन झरिसकेका थिए । तर, म सुत्केरी हुन आटेकी आमा र सानो भाइ छाडेर कसरी जान सक्थें । गईनँ ।

केही दिनमा आमालाई प्रसव पीडाले छट्पटिन थाल्नुभयो । तर, लामो समयसम्म सुत्केरी हुन सक्नुभएन । त्यसपछि रातारात गाउँभरी स्टेचरको खोजीमा भौतारिएँ । पाउँदै पाइएन ।

स्टेचरको खोजी गर्दागर्दै विहान भैसकेछ । त्यही बेला खबर आयो, ‘आमाको सुत्केरी भयो ।’ स्ट्रेचरको तनाव छाडेर खुशी हुँदै घरतर्फ दौडिएँ ।

यतिबेला म कितावमा घोत्लिनुपर्ने थियो । परीक्षाको दिन झन् झन् नजिकिदै थियो । तर, सुत्केरी आमा र नवजात शिशुको स्याहार मेरो जिम्मामा थियो । घरमा मट्टीतेल थिएन, दियालोको मन्ध उज्यालामो ममी र शिशुको स्याहार गरिरहेँ ।

यति गरेर मात्र मेरो जिम्मेवारी पूरा हुन्थेन । घर र खोरिया दुवैतर्फ खेतवारी, भैसीहरु थिए । त्यो पनि मैले नै सम्हाल्नुपर्थ्यो । यति काम पूरा गरिसक्दा पढ्नको लागि निचोरेर थोरै समय निकाल्न पनि गाह्रो पर्थ्यो । तर, एसएलसी त दिनै पर्‍यो ।

घरको व्यवस्थापन मिलाएँ । अनि परीक्षाको अघिल्लो दिन तानसेन झरेर, सन्तजीसँग बसेँ । परीक्षा त दिएँ । तर, परीक्षा अवधिभर सुत्केरी आमा र नवजात भाइको चित्र मस्तिष्कमा नाचिरह्यो, मन उकुसमुकुस भइरह्यो ।

जति, कस्टकर रुपमा एसएलसी दिएको थिएँ, परीक्षाफलको खवर भने उत्तिकै उत्साहजनक आयो । म नै पश्चिम पाल्पामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी भएछु । यसको श्रेय म मातृस्नेहको शक्तिलाई दिन्छु ।

तर, परीक्षाफलले खान–लाउन दिनेवाला थिएन । त्यसैले, पैसा कमाउन पेले उर्फ टोपबहादुर थापा र प्रेम दाइसँग भारतको आग्रा लागेँ । त्यसपछिको एक वर्ष आग्रामै वित्यो ।

रिजल्ट आएको एक वर्षपछि आमाको गुन्युको टालोमा अलिकत कोदोको पीठो पोको पारेर पढाइको लागि पाइला सारेको थिएँ । त्यसपछि लाखौँ पानाहरु पढियो, कति ठाउँमा लडियो फेरि उठेर हिँडियो, धेरै भोगियो र महत्वपूर्ण जिम्मेवारीमा बसेर पनि काम गरियो । तर पनि खै किन हो असल छोरो बन्न सकियो न त असल बु्बा न असल लोग्ने बन्न सकियो जस्तो लाग्छ । फगत बा–आमाका लागि छैठीको पात्र, छोराको लागि एटीएम, श्रीमतीका लागि केही थान लालपूर्जा, भाइहरुका लागि मुद्दा, आफन्तका लागि कहिलेकाहीको पाहुना र साथिभाइका लागि कुरा गर्ने विषय मात्र ।

लाग्छ, मलाई आमाले भनेजस्तै समय र परिस्थितिले धोका दियो । कस्तो अचम्म: जन्म दिने आमालाई आफ्नो सन्तानको जीवनचक्र नै थाहा हुँदो रहेछ ।

यद्यपी, आत्मसम्मानको खोजीमा चलिरहेको यो लामो अप्राकृतिक जस्तो लाग्ने जीवनयात्राको अनुभव आउने पींढीका लागि एउटा श्रोत त पक्कै बन्ने छ । केही घृणाको, केही संघर्षको, केही करुणाको, केही सद्भावको, केही प्रेमको ।

(डा. बिके कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment