Comments Add Comment

कस्तो रह्यो जेट एयरको अन्तिम उडान ?

क्याप्टेन भन्छन्– सूर्य फेरि उदाउने छ

५ वैशाख, काठमाडौं । भारतको चर्चित जेट एयरवेजले बुधबार राति अमृतसरबाट मुम्बईका लागि अन्तिम उडान गरेको छ । ऋणमा डुबेको जेट एयरवेजका प्रवन्धकहरुले सेवालाई अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेका थिए ।

अन्तिम फ्लाइट गर्ने जेट एयर ९ डब्लु ३५०२ थियो । यसले राति १०ः२० बाट दुई घण्टाको अन्तिम यात्राका लागि अमृतसरबाट मुम्बईका लागि प्रस्थान गर्‍यो ।

जहाजका यात्रा गरिरहेका धेरै यात्रुलाई थाहा पनि थिएन कि जेट एयरवेजको यो अन्तिम उडान थियो भन्ने कुरा । केही यात्रुहरुले भने बीबीसीसँग कुरा गर्दै जेट एयरको अन्तिम फ्लाइटबाट दुःख लागेको बताए । केही यात्रुहरुको त हवाई सफरको सुरुवात नै जेट एयरवेजबाट भएको थियो ।

यसैगरी केही यात्रुहरुले भने प्रायजसो इन्डियन एयरलाइन्सबाट यात्रा गर्दछन् तर राम्रो सुविधा भएकाले जेट एयरवेजबाट यात्रा गर्न मन लाग्ने बताए ।

एक महिला यात्रीले जेटका कर्मचारीहरुको भविष्यको चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘देशका लागि यो राम्रो समाचार होइन । यसबाट बेरोजगारी बढ्छ । अन्य कुनै एयरलाइन्सलाई यति धेरै संख्यामा जेटका कर्मचारी नियुक्त गर्न सहज छैन ।’

यसैगरी एकजना व्यापारीले भने, ‘एउटा कम्पनी राम्रोसँग चलिरहने र अर्को कम्पनी खराब अवस्थाबाट गुज्रिँदै बन्द नै हुने स्थितिलाई म राम्रोसँग बुझ्न सक्छु ।’

तर जेट एयरवेजको फ्लाइटका क्याप्टेनले बीबीसीसँग भनेका छन्, ‘सूर्य फेरि उदाउने छ ।’

यही हवाई जहाजकी एयरहोस्टेसलाई त केही समय पहिलेसम्म पनि थाहा थिएन कि यो जेटको अन्तिम उडान हो । उनले बीबीसीसँग भनिन्, ‘यो धेरै दुःखको समय हो ।’

यद्यपि २५ वर्ष पुरानो एयरलाइन्स कम्पनीमा ८ हजार करोड रुपैयाँभन्दा बढी ऋण छ । बैंकहरुले ४०० करोडको आकस्मिक कोष दिन अस्वीकार गरेका छन् । त्यसपछि कम्पनीसामु सेवा बन्द गर्नुको कुनै विकल्प रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment