
८ वैशाख, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने उनले बताए ।
नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताए ।
‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ प्रचण्डले भने ।
कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए ।
स्रोतका अनुसार एकता प्रक्रियाको प्रस्ताव तयार पार्ने जिम्मा नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई दिइएको छ । सो प्रस्तावलाई आइतबार साँझ ६ बजे ओली र प्रचण्डसहित सचिवालय बैठक बसेर टुंगो लगाउने नेकपाको तयारी छ ।
पार्टी सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार हुने प्रचण्डले बताए । ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’
प्रचण्डका अनुसार नेकपा स्थापना दिवसको अवसरमा पार्टीकै आयोजनामा सोमबार काठमाडौंमा कार्यक्रम गरिँदैछ र सोही कार्यक्रममा एकता प्रक्रिया टुंगिएको घोषणा हुनेछ ।
प्रतिक्रिया 4